बुधबारे ।

एउटा चिटिक्क परेको फुलबडी गाडी, त्यसभित्र एककुनामा कफी बनाउने आधुनिक मेसिन, अर्को कुनामा चिसो पेयपदार्थको रेफ्रिजिरेटर, एकापट्टिको भित्तामा खानेकुराका परिकार बनाउने टेबल, टेबलमा सफा भाँडाहरु, अर्को टेबलमा प्लेट, चम्चा, गिलासहरु ।
दुई नवयुवाहरु चाउमिन, फ्रेन्च फ्राई, मःमः, पकौडा, चप, फ्राइड राइस पकाइरहेका, कफी मेसिनमा कफी बनाइरहेका र गाडीबाहिर झुम्मिएका ग्राहकहरुलाई खानेकुरा पस्किरहेका देखिन्छन् । यो दृश्य हो बुद्धशान्तिका दुई नवयुवाहरुले थालेको नयाँ किसिमको व्यवसाय । जसलाई उनीहरुले ‘द फुड ट्रक हंक’ नाम दिएका छन् । यी नवयुवाहरु हुन् बुद्धशान्ति–३का लावाङ मोक्तान तामाङ र पुकार थिङ तामाङ ।
प्लस टु तहमा होटल म्यानेजमेन्ट पढिसकेपछि लावाङले मोरिससबाट र पुकारले चीनबाट होटल म्यानेजमेन्टमै थप उच्च शिक्षा लिएर आएको उनीहरुले बताए । आपूmले स्वदेश र विदेशमा हासिल गरेका शिक्षाका माध्यमबाट स्वदेशमै केही गर्ने प्रेरणाले फुड ट्रक होटल व्यवसाय थालनी गरेको उनीहरुले बताए ।
फुड ट्रक होटल व्यबसायको कात्तिक १३ गते बुधबारका दिन बुद्धशान्तिको बुधबारे मुख्यचोकमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बुद्धशान्तिका युवाहरुले नयाँ किसिमको कामको थालनी गरी नयाँ सन्देश दिएको बताए । कतिपय युवाहरु रोजगारीका उपायहरु पहिल्याउन नसक्दा बेरोजगार बनिरहेका अवस्थामा फुड ट्रक होटल व्यबसाय शुरु हुनुले युवाहरुमा नयाँ किसिमका रोजगार पहिल्याउन सन्देश दिने बताए । प्रमुख अतिथि भुजेलले बुद्धशान्ति धेरै आयामहरुमा देशकै ऐतिहासिक महत्वको रहेको सन्दर्भ जोड्दै फुड ट्रक होटल व्यवसाय पनि नौलो किसिमको काम भएको दावी गरे ।
कार्यक्रमका अतिथिहरु समाजसेवी मनोरथ तिवारी, आलोक कार्की, कमल नयन महाराज, लोकबहादुर माझी, भक्तबहादुर ग्लान, साहित्यकार टंक काप्mले विकल्पले मन्तव्य राखेका थिए । युवाहरुद्वारा नवीन किसिमको रचनात्मक तथा सिर्जनात्मक व्यवसायको परिकल्पना हुनु समाजकै लागि महत्वपूर्ण रहेको अतिथिहरुले बताएका थिए ।
व्यबसाय दर्ता गरी पान नं. लिएर शुरु गरेको फुड ट्रक होटल व्यबसायका लागि व्यबसायीद्वय लावाङका अभिभावक रुद्र मोक्तान तामाङ, देवीमाया तामाङ र पुकारका अभिभावक मेनबहादुर थिङ तामाङ, सरस्वती तामाङले आप्mना सन्तानले आप्mनै ठाउँमा केही गरुन् भन्ने उद्देश्यले १५ लाख रुपैयाँसम्मको संयुक्त लगानी गरेको बताए ।
बेरोजगारीको समस्या हल गर्न युवाहरुले परिकल्पना गरेका यस्ता नौला इलम, व्यवसायहरुलाई सरकारले आप्mनो नीति, नियम तथा कार्यक्रमहरुमा समेट्दै प्रोत्साहन दिनुपर्ने उनीहरुले बताए । अतिथि बुद्धशान्ति–३का अध्यक्ष कमल उप्रेती, अतिथिहरु दिनेश प्रसाई, बिनोद मोक्तान, गोपाल तामाङ, निरमाया योञ्जन लगायतको उपस्थति रहेको कार्यक्रम देवीध्वज योञ्जनले सञ्चालन गरेका थिए ।































