पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश

0
454

झापा ।

उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधि नजिक पुगेको चर्च ब्वाइजले १–० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्ता पारेको हो । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो ।

पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो । खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो ।

तर, पेनाल्टी सुटमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनायो ।

खेलको २६औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए । उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले गोलपोस्टको दिशा दिएका थिए ।

खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here