आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौं– आचार्य

0
910

मेचीनगर ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यले अब हरेक समुदायले आफ्नो कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने बेला आएको बताउनुभएको छ ।

आइतबार झापाको मेचीनगरमा भद्रकाली पाञ्चायन ग्रामथानले आयोजना गरेको २४ घण्टे धार्मिक अनुष्ठान समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख आचार्यले आफ्नो संस्कृति कला धर्म रीतिरीवाज जोगाउन तथा संरक्षण र सम्बद्र्घन गर्न हरेक नागरिकलाई एकठाउँमा उभिन समेत आग्रह गर्नुभयो ।

नगरभित्र रहेका मठ, मन्दिर मस्जिदलगायत धार्मिक स्थल नगरको गहना र सुन्दर भएकाले यस्ता धार्मिक स्थलको पहिचान गरी त्यसको विकास र सम्बद्र्घन गर्न स्थानीय सरकार सधै क्रियाशील रहेको नगरप्रमुख आचार्यले प्रष्ट पार्नुभयो । यस्ता स्थलको पूर्वाधारहरु तयार गरी अघि बढ्न आयोजकलाई सुझाव समेत दिनुभयो ।

यसरी आफ्ना क्षेत्रभित्र रहेका धार्मिक स्थलको पहिचान गरेर यसको विकास गर्न सके धार्मिक पर्यटकसमेत आउने उहाँले विश्वास गर्नुभयो । नेपाल विभिन्न जातजाति, वर्ग समुदाय, धर्म संस्कृति, भाषाभाषीको बसोवास रहेकाले एकले अर्काको धर्म संस्कृति, कला रीतिरीवाजको सम्म्मान गर्नुपर्ने नगरप्रमुख आचार्यले बताउनुभयो । यदि आफ्नो परम्परागत संस्कृति, धर्म, कला, रीतिरीवाज बचाउन सकेमात्र आफ्नो पहिचान हुने उहाको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले ग्रामथानको विकासका लागि कानुनीरुपमा पुर्याउनुपर्ने सवै प्रक्रिया पुरा गरेर भावी योजना नगरपालिकामा पेश गर्न आग्रह गर्नुभयो । कानुनीरुपमा मजवुत भएका नगरका धार्मिक स्थलको उन्नति प्रगतिमा नगरपालिका सधै सकरात्मक रहेको उपप्रमुख उप्रेतीको भनाई थियो ।

उहाँले यस धार्मिक स्थललाई कानुनीरुपमा मान्यता प्राप्त गर्नका लागि विधान तयार गरेर दर्ता प्रक्रियामा अघि बढ्न सुझाँव दिनुभयो । सवै भन्दा पहिला यो जग्गा धार्मिकस्थलको नाममा आए सहयोग गर्न कुनै समस्या नहुने उहाँले प्रष्ट पार्नुभयो । यस्ता कार्यक्रमले झापामा छरिएर रहेका राजवंशी समुदाय र अन्य समुदायलाई राजवंशीको धार्मिक, कला संस्कृतिबारे बुझ्ने अवसर मिल्नुका साथै राजवंशी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन टेवा पुग्ने उहाँको भनाई थियो ।

आयोजक संस्थाका अध्यक्ष हिर्दय राजवंशीको सभापतित्वमा भएको समापन समारोहमा सचिव वलराम चिमरियाले करीव २ लाख ५० हजार रुपैयाँको आर्थिक विवरण प्रस्तुत गर्नुभयो । करीव ८५ हजार रुपैयाँ संकलन भएको र २ लाख ५० हजार रुपैयाँ खर्च भएका कारण आयोजकले घाटा व्यहोर्नुपरेको सचिव चिमरियाले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपालसहित भारतका विभिन्न स्थानबाट आएका कलाकारहरुले लीलासहित नाटक तथा धार्मिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपािलका वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरु, गोविन्द राजवंशी बमभोला राजवंशीलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here