सीमा मिच्न नेपालीलाई भारतीय कार्ड

0
1314

पार्थ मण्डल / भद्रपुर।

श्रीप्रसाद महतो (६९) भन्छन्– ‘गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए, हामी बर्षौअघि भारतीय नागरिक भइसक्थ्यौं ।

‘हराएको र खोलाले बगाएको भन्दै भारतले नयाँ स्तम्भ गाड्ने क्रममा हरेकपटक नेपाली भूमि मिच्दै आइरहेको छ’– महतोले भने– ‘भारतले नेपाली भूमि मिच्दै आए पनि देशका प्रहरी प्रशासन, नेता र मन्त्री नबोल्दा मन दुख्छ ।’ गाउँका अग्रजले सुनाउँथे– महतोले भने– ‘भारतमा ब्रिटिस शासन हुँदा नेपालको भूमि अहिले गाडिएको पिलरभन्दा तीन किलोमिटर पर थियो, भारतले सीमा मिच्दामिच्दै अहिले बग्दै आएको मेची नदी नै लगिसक्यो ।’ महतोले सुनाएको यस्तो पीडा झापाको भद्रपुर नगरपालिका–३स्थित मेचीपारि गाउँको हो ।

मेची नदीले टापु आकार बनाइदिएको मेचीपारि गाउँमा १५५ घरधुरी संख्या रहेको छ । गाउँमा महतो, राजवंशी र सन्थाल समुदायका बासिन्दा बर्षौंदेखि बसोबास गर्दै आइरहेका छन् । त्यहाँका बासिन्दा जोतभोग गर्दै परिवार पाल्छन् । ‘गाउँमा मेचीपारि प्रहरी चौकी र मेचीपारि आधारभूत विद्यालय नभएको भए भारतले बर्षौंअघि यो गाउँ आफ्नो कब्जामा लिइसकेको हुन्थ्यो, प्रहरी र शिक्षककै कारण हामी अहिलेसम्म नेपाली भूमिमा छौ’– उनले भने ।

१०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । ०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भूभागबाट मेची नदी बगेको बिगत सुनाउँदै महतोले भने– ‘अहिले मेची नदी बग्ने ठाउँ नजिकै बस्ती थियो, त्यहाँबाट पानी बग्न थालेपछि बस्ती सरेर अहिलेको ठाउँमा आएको हो । उनका अनुसार त्यस बेला कुनै सीमा पिलर थिएन । एउटा जङ्गे पिलर थियो । त्यो ठाउँ भारतको बिहार, किसनगञ्ज जिल्लाको निमुगुरी (मियाबस्ती)मा पर्छ ।

भारतले कश्मीर जस्तै यहाँका जनता र नेपाली भूमिलाई थिचोमिचो गरेर राखेको छ । ‘जङ्गे पिलर हुँदाहुँदै करिब तीन किलोमिटर छाडेर भारत नेपालमा प्रवेश गरिसकेको छ’– उनले भने– पिलरको विषयमा केही बोल्यो भने भारतीय सुरक्षाकर्मीले दिल्ली पु¥याइदिने धम्की दिन्छ, हामीलाई धम्की आउँदा पनि यहाँका प्रशासन र नेता केही बोल्न सक्दैनन्, अनि बाध्य भएर सीमा मिचेको चुपचाप हेर्दैछौं । पटक–पटक गरी मेचीपारि गाउँको भूमि भारतले मिच्दै आइरहेको दुःखेसो पोख्दै उनले भने– भारतले साना रिफ्रेन्स पिलर खेतमा ल्याएर गाडे पनि हामीले जोतभोग गर्न छाडेका छैनौं, भारतीय जनता नेपाली भूमिमा आएर जोतभोग गर्दैछन्, यहाँका हामी पनि भारतीय भूमिमा जोतभोग गर्दै आइरहेका छौं, अहिले दुवै पक्षले जोतभोग गर्दै आइरहेको भूमि नेपालकै हो ।

‘अहिलेसम्म भारतीय सुरक्षाकर्मीले केही बोलेका छैन, बोलेको दिन यहाँ विवाद पक्कै हुन्छ, तर नेपालले केही गर्न सक्दैन– उनले थपे । लेकेरु राजवंशी (६२) ले भने– ‘तीनदेखि चार वर्ष भयो भारतले पिलर सार्दा–सार्दा नेपाली भूमि मिची सक्यो ।’ नेपाली भूमि किन मिचेको भन्दै हामीले भारतीय पक्षलाई सोध्दा उनीहरूले एउटै जवाफ दिन्छन्– राजवंशीले भने– ‘सरकारका हुकुम है हम क्या करेङ्गे ।’ उनले भने– ‘हाम्रो बाउ–बाजेले भन्थे– ‘गाउँदेखि पूर्वपट्टि मियाबस्तीमा पिलर थियो रे ?’ अहिले हेर्छु त नेपाली भूमि नै भारतको भइसक्यो, किन देशका नेता बोल्दैनन् यस विषयमा ? ।

पहिला नेपाली, अहिले भारतीय

१०४ नम्बर पिलर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपाल थियो । सम मुर्मू (३२) भन्छन्– ‘पहिला हामी नेपाली नागरिक थियांै, नेपालको धनीपूर्जा पनि थियो, झन्डै २० वर्ष भयो हामी भारतीय नागरिक भएको ।’

‘म सानोदेखि यहीँ छु, पहिला यहाँ कुनै पिलर थिएन– मुर्मूले भने– ‘मियाबस्तीमा एउटा मात्र पिलर थियो, २० वर्षअघि १०४ नम्बर पिलर यहाँ राखियो, अहिले त भारतले सार्दासार्दै मेची नदीमै पु¥याइसकेको रहेछ ।’

पिलर सीमा छुट्याए पनि दुवै देशका बासिन्दा मिलेर बसेका छाँै, हामीमा त्यस्तो केही विवाद पनि छैन, दुवै देशको भूमिमा दुवै देशका नागरिक मिलेर जोतभोग गर्दै आइरहेका छौं ।

जमिन हड्प्न नेपालीलाई भारतीय राशन कार्ड

१०५ नम्बर पिलर नजिकै मेचीपारि गाउँमै सन्थालबस्ती छ । त्यहाँ १४ घरपरिवारमध्ये ७ घरपरिवारलाई झण्डै २० वर्षअघि भारतले राशन कार्ड दिएर भारतीय नागरिक बनाउन खोजेको बाबुला ल हस्दाले बताए ।

त्यसबेला सीमा पिलर कुनै पनि थिएन, भारतको ठाकुरगञ्जबाट आएको भारतीय अधिकारीको टोली गाउँमै आएर राशन कार्ड दिएको घटना सुनाउँदै उनले भने– ‘त्यस बेला हाम्रो जमिन लिन खोज्नलाई भारतीय बनाउन खोजेको रहेछ, त्यस बेला थाह पाइएन, अहिले थाहा भयो ।

‘अहिले हामीले भारतीय राशन कार्ड त्यागिसकेका छांै, २०६३ सालको टोलीमा नेपाली नागरिकता लिएर नेपाली भइसकेका छौँ’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here