मेचीनगरमा मेवा खेती पढाउँदै फ्लिप

0
1223

झापा।

झापा मेचीनगरमा मेवा लगायतका बालीका बिभिन्न पक्षका बारेमा बिदेशी बिज्ञले जानकारी गराइरहेका छन् ।

नेदरल्याण्ड निवासी ६९ वर्षीय बागबानी बिषेशज्ञ फ्लिप डि भानले मेचीनगर–९स्थित डीएण्डडी बायोप्लान्टेकमा एक हप्ता मेवा, सयपत्री फूल खेती, बिभिन्न बिरुवा सम्बन्धी प्राविधिक बिषयको जानकारी गराउने छन् । बिहीवारबाट शुरु भएको भानको प्राविधिक बिषयको कक्षा समेत यो हप्ता भरि सञ्चालन हुनेछ ।

दैनिक बिहान १० बजेदेखि दुई घण्टा बिज्ञ भानले बोट बिरुवाको सुरक्षा र उत्पादनका बिषयमा जानकारी गराउने डीएण्डडी बायोप्लान्टेकका सञ्चालक डिल्ली उप्रेतीले जानकारी दिए ।

मेवा र सयपत्री फूलको व्यवसायिक खेती गरिरहेका उप्रेतीको कृषि फर्ममा बिराटनगरस्थित शैलजा आचार्य मेमोरियल पोलिटेक्निलका बिद्यार्थीहरु समेत बोट विरुवा सम्बन्धी अध्ययन गर्न आएकाले उनीहरुलाई समेत भानले पढाइरहेका छन् ।

भानसँग बिभिन्न बोट बिरुवाका बारेमा जानकारी लिन र भएका समस्या सम्बन्धी छलफल गर्नका लागि झापा, मोरङ र इलामबाट समेत किसानहरु आउने गरेको डीएण्डडी बायोप्लान्टेकका अर्का सञ्चालक दिक्षा उप्रेतीले बताइन् ।
पूर्वी नेपालको यो क्षेत्रमा आएर आफूले सिकेको ज्ञान नयाँ पुस्तामा जानकारी गराउन पाउँदा आफूलाई निक्कै खुसी लागेको कृषि बिज्ञ भानले बताए ।

भानका अनुसार किसानहरुले समूह बनाएर उत्पादनमा लाग्ने हो भने अहिलेको भन्दा धेरै फाइदा लिन सकिनेछ । पहिलोपटक नेपाल आएका भानले ४८ बर्षदेखि कृषि क्षेत्रमा काम गरिरहेको बताए । नेपालको माटोमा जुनसुकै खेती गर्दा पनि राम्रो उत्पादन हुने भएकाले किसानहरुले मौसम अनुसारको बाली लगाएर मेहनत गर्नुपर्ने उनले बताए ।

भानले मेवाको उत्पादन र त्यसमा लाग्न सक्ने रोग किराको बारेमा बताउँदै मेवाबाट हुने फाइदाका बारेमा समेत जानकारी गराएको उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here