यो पूर्वाञ्चल हो हाम्रो झापाको उच्च गौरव,
यसले धर्म निर्वाह गरेको छ सधैंभर ।
अविच्छिन्न हुनैपर्ने भन्ने लक्ष लिईकन
पूर्वाञ्चल हिंडेको छ जिती पाठकको मन ।
कुकाठ हैन यो कच्चा, कुही चाँडै मकाउने,
यो त हो सखुवा पक्का कहिल्यै नमकाउने ।
खहरे बढ्छ वर्षामा, तर सुक्छ सधैंभरि,
सप्तकोशी सधैं बग्छ, सुक्तैन कहिल्यै पनि ।
यो पूर्वाञ्चलका मोती पत्रकार ढकाल हुन्,
चिन्दथे सबले प्रस्ट, भन्थे मदन योग्य छन् ।
गरे मदनले सेवा पत्रकार भईकन,
पन्द्र वर्ष यसैमा नै बिताए आफ्नु जीवन ।
इतिहास बनाएर आफ्नो धाम गए उनी,
तर छन् स्मृतिमा नित्य निराकार भए पनि ।
पत्रिकाको कसी नाप्ने लेख सम्पादकीय हो,
यसको स्तर राम्रो छ भन्ने ठहर गर्छ यो ।
सम्पादकीयमा व्यक्त धेरै विषयका कुरा
उठाई कविता कोर्न के सकिन्थ्यो सबै पुरा ।
सम्पादकीय शिक्षामा, स्वास्थ्यमा छन् त्यसैगरी,
महिलामाथिका हिंसा, बालहिंसा थरीथरी ।
हो बलात्कारको शत्रु तथा दुव्र्यसनादिको,
त्यसैले यसबारेमा सम्पादकीय लेख्छ यो ।
के के भयो ! कहाँ ! कैले ! कसको ! कसरी ! किन !
समाचार यिनै प्रश्नमाथि निर्भर गर्दछ ।
पूर्वाञ्चल–समाचार–पत्रिका उक्त प्रश्नको
आलोकभित्र छापिन्छ र हुन्छ सत्यतथ्य यो ।
तत्वका दृष्टिले हेर्दा स्पष्टता मुख्य तत्व हो,
समाचार भए स्पष्ट अति रोचक हुन्छ त्यो ।
वाक्य छोटा, अनुच्छेद पनि छोटै भए भने
र त्यहाँभित्रको भाषा सजिलरुो, शुद्ध भो भने
धेरै पाठकले त्यस्तो समाचार रुचाउँछन्,
खोजेर पत्रिका त्यस्ता सबै पाठक पढ्दछन् ।
जस्तो छ घटना त्यस्तै उद्देश्य हुनुपर्दछ ।
निजी उद्देश्य राखेमा अविश्वास पलाउँछ ।
घटना भावनाद्वारा नियन्त्रित भयो भने,
साहित्य र समाचार दुवैमा भिन्नता छ के !
हँुदैन एक पक्षीय समाचार बनाउनु,
त्यसैले यसको तत्त्व अर्को हुन्छ समानता ।
काखा, पाखा कुनैलाई नगरी सत्यतथ्यको
विवेचक भई छान्नु अखबारीय धर्म हो ।
आफ्नो नैतिकताभित्र रहेमा पत्रकारले
रुचाई पत्रिका पढ्छन् सारा पाठकवृन्दले ।
यथार्थता पत्रिकाको अर्को प्रमुख तत्त्व छ,
अयथार्थ भए निष्ठा तथा विश्वास गुम्दछ ।
यथातथ्य समाचार, लेख्नु–लेखिनु पर्दछ,
कल्पनाले पत्रिकाको विश्वास सब गुम्दछ ।
यो पूर्वाञ्चल हो मेरो, सबैको स्वच्छ पत्रिका,
फुलोस्, फलोस् सँधै भन्दै दिन्छौं यो शुभकामना ।

कोमलप्रसाद पोखरेल



























