आजबाट अर्जुनधारामा अनुष्ठान शुरु हुदैं, बेहुली झैं सिंगारियो धामक्षेत्र

0
1545

अमित खम्बू /अर्जुनधारा ।

महाभारतकालिन समयसँग ऐतिहासिक तथा धार्मिक पृष्ठभूमी जोडिएको र गत वर्षदेखि नेपाल सरकारको १०० पर्यटकीय गनतव्यमा सूचिकृत अर्जुनधारा जलेश्वर धाममा सोमबार(आज)बाट शुरु हुने ३७औं वार्षिक अनुष्ठानका लागि धाम क्षेत्र बेहुलीझैं सिंगारिएको छ ।

अनुष्ठानलाई लक्षित गरि पूर्वको पशुपतिनाथले विभूषित धाममा नेपाली वास्तुकलायुक्त प्यागोडा शैलीको शिवको मूल मन्दिर, धाम परिसरमा रहेको मूल पोखरीकोरुपमा रहेको अर्जुन वाण गंगा पोखरीसँगै अन्य मन्दिरहरु र धाम परिसरदेखि पिपल चोक हुँदै शनिश्चरे बजारसम्मको मार्गमा विद्युतीय बत्तीले सजावट गरिएको छ ।

प्रमुख अतिथि प्रदेश १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले समुद्घाटन गर्ने अनुष्ठानमा किरात धर्मगुरु मुहिङगुम आङसिमाङ आत्मानन्द लिङदेन “सेइङ” र विश्वकी प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराजको आशिषवचन गर्ने कार्यक्रम रहेको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

यही मंसिर ९ गते बालाचर्तुदशीका दिन सत्बीज रोपण गर्दै समापन हुने अनुष्ठानमा सञ्चालन हुने दैनिक कार्यक्रमहरुमा रुद्राभिषेक महायज्ञ, ताण्डुलाचल, तुलादान, धन धान्याञ्चल, गंगा आरती, सन्ध्याकालिन भजन किर्तन, झाँकी र मंसिर ८ गते रात्री जागरण रहेको छ ।

अनुष्ठानमा प्रमुख कथावाचक पण्डित कुवेर शुवेदीले कथा वाचन र उपवाचक पण्डित चिरञ्जिवी ढुंगानाले पाठ पारायण गर्ने कार्यक्रम रहेको छ । अनुष्ठान अन्र्तगत धार्मिक मेला सञ्चालन गर्ने, आकर्षक र सुविधायुक्त पण्डाल निर्माण भएको, मूल पोखरी अर्जुन वाण गंगामा विद्युतीय फोहोरा जडान गरिएको छ ।

त्यस्तै मंसिर ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेत्र शिविरको परमपुजनीय अनन्त श्री विभूषित जगत गुरु मुमुक्षानन्द महाराजजीले समुद्घाटन गर्ने र सोही मितिदेखि सञ्चालन हुने कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविरको महावीर सेवा सदन कलकत्ताका प्रमुख विनोद बगाडिया र शंकराचार्य गिरीजीले संयुक्तरुपमा समुद्घाटन गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

यस्तो छ धाम स्थापनाको इतिहासः

महाभारतकालिन समयमा कौरव पक्षबाट षड्यन्त्र गरी पाण्डवहरुलाई १२ वर्ष वनवास र १ वर्ष गुप्तवास भएको थियो । सोही गुप्तवासको समयमा राजा विराटको हजारौं गाईहरुलाई कौरवहरुले हरण गरेर भारतको गुवाहटीमा पु¥याएको अवस्थामा वृहन्नला (हिजडा)को रुपमा धारण गरेका अर्जुनले दार्जिलिङ, इलाम जिल्लाको लुकानी सुखानी हुँदै ल्याउने क्रममा हाल धाम रहेको स्थलमा आइपुगेपछी गाईलाई तिर्खा लागेको र सोही समयमा अर्जुनले भगवान शिवको पूजा गरी पर्जन्याशस्त्र वाण प्रयोग गरी पानी निकालेको हुँदा अर्जुनधारा नाम रहन गएको किंवदन्ती छ ।

त्यसैगरी वि.सं.२०२३ सालमा देवदूत खडेश्वर तपस्वी मौनी बाबा (खडेबाबा)बाट धाम स्थलमा शिवको वास रहेको जानकारी गराएपछी तत्कालिन हरीविलास वनको अध्यक्षतामा गठित समितिले मन्दिरको स्थापना गरी पूजा अर्चना शुरु भएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देल बताउँछन् ।

वि.सं.२०२३ सालमा स्थापना भएको मन्दिरको तत्कालिन दुर्गाप्रसाद खरेलको अध्यक्षतामा गठित धाम व्यवस्थापन समितिले वि.सं.२०४८ साल पुस २४ गते जिल्ला प्रशासन कार्यालय झापामा विधिवत्रुपमा दर्ता भएको हो । मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको अनुष्ठान भने वि.सं.२०४० सालबाट शुरु भएको हो ।

धाम परिसरमा के–के रहेको छ ?

पाँच विघाहाको क्षेत्रफलमा रहेको धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडा शैलीको शिवको मूल मन्दिर, अर्जुन वाण गंगा पोखरी, पञ्च धारा, सूर्य कुण्ड, यज्ञशाला, गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर, कालीनाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, धाञ्याचल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, पूष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामलय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here