बिर्तामोड।

नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा पाँच दिवसीय क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
महिला उद्यमीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराएर समाजमा निर्धक्कसँग बोल्न सक्ने बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले बताइन् ।
कञ्चनजंघा एफएमकी कार्यक्रम प्रस्तोता तथा संस्थाकी सदस्य भीमा शिवाकोटीले सहजीकरण गरेको तालिममा ३० जनाभन्दा बढी महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष निरमाया पुलामीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली,लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेल लगायतले तालिममा सिकेको ज्ञान व्यवहारमा उर्तान सहभागीलाई आग्रह गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल उद्यमशील महिला संघ झापाकी सचिव कौशिला कट्टेलले गरेकी थिइन् ।































