मनिषा विमली,
युवा देशका शक्ति हुन् भन्ने देख्दै र सुन्दै आइरहेको बेला युवा खराब लतमा फसेकोका नि छन् । लागूऔषध, जाडरक्सीको लत त छदैछ । तर, अहिले आएर धेरै युवाहरु सामाजिक सञ्जालको लतमा छन् । मोबाइल र इन्टरनेट नभई बच्न नसक्ने भएका छन् । बारम्बार आफ्नो फोन चेक गर्नुपर्ने अनि आफ्नो अधिकांश समय इन्टरनेटको दुनियामा बिताउने गरेका छन् ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा निकै ब्यस्त देखिन्छन् युवा । हुन त अवसर र मौका पनि दिएको छन् । यस्ता सञ्जालले तर कुलतमा फसेको समाचार पनि निकै सुन्न पाइन्छ । वल्र्ड इन्टरनेश युजेज एण्ड पपुलेसन स्टाटिस्टिकका अनुसार एसियामा इन्टरनेटको सबैभन्दा उच्च प्रयोगकर्ता छन् । एक तथ्यांक अनुसार २०१८ मा, छ सय ३५ नेपालीले कुनै न कुनै रुपमा इन्टरनेटको प्रयोग गर्ने गरेका छन् भने यो २०१५ मा यो तथ्यांक १७.२५ थियो ।
एक अनुसन्धानका अनुसार डिप्रेसन, आत्मसम्मान कम, गलत प्रतिस्पर्धा, इष्र्या जस्ता अनेकौ कुराका कारण पनि अत्यधिक सामजिक सञ्जाल प्रयोगको नतिजा हुन् । सामाजिक सञ्जालकै बढी प्रयोग गर्नाले टाउको दुख्ने, खान नरुच्ने, आँखा दुख्ने, निद्रा नलाग्ने समस्या पनि बढिरहेका छन् । निद्रा नपुग्नुको कारण पनि सामाजिक सञ्जालको अत्यधिक प्रयोग भएको देखाउँछ । सामाजिक सञ्जालको लतले गर्दा फोन अफ गरेर सुत्न कठिन बनेको छ । जसका कारणले मानिसलाई क्यान्सर, मधुमेह वा डिप्रेसनको जोखिम हुने विज्ञहरूले औंल्याएका छन् । सामाजिक सञ्जालको प्रयोग नगर्दा पनि युवामा ‘फिलिङ अफ मिसिङ आउट’को डर पनि रहने गरेको छ ।
एक अध्ययनका अनुसार काठमाडौंका बिद्यार्थीमध्ये छ सय ६५ ले साइबर बुलिङ खेप्नु परेको छ भने तीन सय ४५ ले घृणित मेसेज पाउने गरेका छन् । यस्ता कुराले गर्दा युवामा झगडा, आत्महत्या र मानसिक रोगको पनि वृद्धि हुन्छ । महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट उत्पीडन पनि दिने गरेको छन् । साइबर अपराधको रेकोर्ड बढ्दो छ । नक्कली एकाउन्ट बनाएर युवतीलाई मानसिक यातना दिने, इज्जत–पैसा लुट्नेको पनि कमी छैन । यति मात्र नभएर आफ्नो सुमधुर चलिरहेको वैवाहिक जीवन उथल–पुथल हुनुमा पनि युवाले सामाजिक सञ्जाललाई नै दोष दिने गरेका छन् ।

विभिन्न फेक एकाउन्टको सिकार बनाएर चेलीबेटी बेचबिखनको एक कारण पनि बनेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालको कम प्रयोगका लागि डिजिटल वेलविङ नामक एप्लिकेशन गुगलले निकालेको छ । जसले निषेधित समयका लागि मात्र फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता एप चलाउन दिन्छ र धेरै चलाएमा सतर्क गराउने गर्छ । यस्ता एप्लिकेशनले हामीलाई सामाजिक सञ्जालमा सही र उपयोगी समय खर्चन मद्दत गर्छ ।
सामाजिक सञ्जालको सही प्रयोग गर्ने हो भने यसले सामाजिक जागरुकता र अवसर पनि दिइरहेको हुन्छ । युट्युब र गुगलले धेरै कुराको ज्ञान दिइरहेको हुन्छ । अझ नेपालमा त सामाजिक सञ्जालको प्रयोगले नै कुनै कुरामा सरकारको ध्यानाकर्षणदेखि लिएर बिरोध जनाउन मद्दत पनि गरेको छ । सामाजिक सञ्जाल कै प्रयोगबाट लुकेर बसेका क्षमता र प्रतिभा फेला परेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्नो विचार अभिव्यक्ति र मनका कुरा लेख्ने र सुनाउने स्वतन्त्र ठाउँ पनि बनेको छ ।
यसले परिवार, साथीभाइ र सरोकार समूहबीच सुमधुर सम्बन्ध कायम गर्न र साथै सञ्चारको एउटा उपयोगी रुप पनि बनेको छ । राजनीतिदेखि लिएर भूमि अतिक्रमणको बिरोधका आवाज पनि यही उठ्ने गरेका छन् । चुनाबदेखि लिएर कार्यक्रमको चर्चा गर्ने पनि प्लेटफर्म बनेको छ सामाजिक सञ्जाल । यसरी देशका शक्ति मानिएका युवाले सामाजिक सञ्जाललाई सामाजिक नै रहन दिएर यसका असामाजिक क्रियाकलाप गर्नेलाई सही कानूनको माध्यमबाट रोक लगाउन जरुरी छ ।


























