उमाकान्त खनाल

झापाको विर्तामोडबाट प्रकाशन भइरहेको पूर्वाञ्चल दैनिक अखबारले अढाई दशकको कठिन पत्रकारिता यात्रा पार गरिसकेको छ।
सबभन्दा पहिला पूर्वाञ्चल राष्ट्रिय दैनिकमा आबद्ध मेरा अग्रज लक्ष्मण ढकाल, साथीहरु एकराज गिरी, सुरेन्द्र भण्डारी लगायत अन्य तथा बजार व्यवस्थापनमा अहोरात्र खटिनुहुने ‘सिके अंकल’ लगायत साथीहरुलाई बधाई दिन्छु।
मेरा लागि पनि गर्वको दिन हो। रेडियो पत्रकारिताको पृष्ठभूमि आएको मान्छे मेरा भिनाजु, छापा पत्रकारितामा लाग्न प्रेरित गर्ने पत्रकारिता पेशाका निष्ठा अग्रज पत्रकार मदन ढकाललाई सम्झन चाहन्छु।
जस्को प्रेरणाले आजका मितिसम्म नयाँ पुस्तालाई पनि पत्रकारिताको पेशागत विधा सिकाउन सकिरहेको छु।
म जहाँ जान्छु मेरो जिल्लाको कुना/कुना, त्यहाँ पूर्वाञ्चल दैनिकका पाना पल्टाउन पाउँछु। मैले यी कुरा भनिरहँदा साथीहरुलाई अनावश्यक हौस्याउन खोजेको होइन। तर यथार्थ यही हो।
बजारिकरण र वितरणमा पनि अब्बल पूर्वाञ्चल दैनिकका साथी यो मामिलामा अब्बल हुनुहुन्छ। पूर्वाञ्चल दैनिक झापाली पत्रकारितामा एउटा खम्बा हो।
फेरि एक पटक पाठक तथा पूर्वाञ्चल दैनिकसंग आबद्ध सबै साथी तथा अग्रजहरुलाई बधाई।
मदन भिनाजुको अभिभावकत्व
जुन बेला म कञ्चनजङ्घा एफएममा कार्यक्रम निर्देशकको रुपमा कार्यरत थिएँ। त्यो बेला साथीहरुको आग्रहमा ‘तेस्रो आँखा’ साप्ताहिक स्तम्भ लेखें।
पछि कार्य व्यस्ताले तीन बर्षपछि स्तम्भ लेखन रोक्नु पर्यो।
पुनः छापा पत्रकारितामा मेरो लगाव देखेर साथीहरुकै आग्रह फिल्ड रिपोर्टिङमा जान थालें।
एक दिन साँझमा झापा कारागारमा कैदीहरुले बिद्रोह गरे। तत्कालिन प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनाललाई सम्पर्क गर्दा फिल्डमै आउन आग्रह गरे।
कारागार घटनाको सामाग्री लिएर कार्यालय आइपुग्दा रातको करिब १२ बजेको थियो। त्यो बेलासम्म मदन भिनाजु कार्यालयमै बसेर ‘यी केटा कतिबेला आउँछन्’
भनेर बसिरहनु भएको रहेछ। समाचार लेखेर प्रिन्टमा पठाइयो। अनि मदन भिनाजुसंग मैले ‘किन यतिबेलासम्म बसिरहेको, रेस्ट गर्नुपर्थ्यो’ सोधें।
उहाँको एउटै जवाफले म स्तब्ध भएँ। जवाफमा उहाँले भन्नुभयो ‘बेला राम्रो छैन। तिमीहरु सुरक्षित नआइ म कसरी निदाउन सक्छु?’
यो त एउटा प्रतिनिधि घटना मात्र हो। मैले यति भन्न खोजेको हो ‘उहाँको जस्तो अभिभावकत्व पाउन अब गाह्रो छ।’
पूर्वाञ्चलले अब के गरोस्?
मिडिया अब परम्परागत छैन। सर्वसाधारणको रुची र सूचना पाउने माध्यम अब परिवर्तन भइसकेको छ।
एक समय अखबार प्रमुख स्रोतमा थियो। यदि अहिले पनि त्यही भइदिएको भए ‘अखबार पढिदिनुहोस्, हामी तपाईंलाई सुन पनि दिन्छौं’ भन्नु पर्दैनथ्यो।
केही दिन अघि सिके अंकलसंगको भलाकुसारीमा मैले उहाँलाई भने ‘मार्केटको माग बुझेर अब रणनीति परिवर्तन गर्नुहोस्।’
परिवर्तनको आभास पाइँदैछ। अनलाइन भर्सन आइसकेको छ। तर त्यसलाई चाहिने सामाग्रीको उत्पादन अझै कमी छ।
आफ्ना कर्मचारीलाई यही काममा टिकाइराख्ने हो भने अब समय र मागको परिवर्तनसंगै चाहिने सीप सिकाउनका लागि साथीहरुलाई प्रेरणा मिलोस्। त्यस्का लागि म पूर्व सहकर्मीको हैसियतले सहयोग गर्न तयार छु।
बेला बेला साथीहरुको पेशागत स्थिरतामाथि केही प्रश्नहरु पनि आउँछन्। सकेसम्म आउन नदिनुहोस्। मर्यादाको ख्याल गर्नुहोस्। हाम्रो सम्पत्ति त्यही हो।
अन्तमा, सम्पादक एकराजजी, तपाईंको कार्य व्यस्तताले अखबार ओझेलमा पर्ला कि भन्ने चिन्ता छ। तपाईंको लगनशीलताको म ‘फ्यान’ हुँ। तपाईंको नेतृत्व अझै प्रगाढ बनोस्, शुभकामना!!!
पूर्वाञ्चल दैनिकको अढाई दशकको यात्राः बिगत, वर्तमान र भविष्य


























