फोहोरबाट अब घर–घरमा ग्यास

0
580

बिर्तामोड

फोहोरमैला व्यवस्थापन अहिले शहरी क्षेत्रको प्रमुख समस्या भएको छ । बढ्दो श्हरीकरणका कारण झापासहित अहिले देशभर नै फोहोरमैला व्यवस्थापन गर्न चुनौति छ ।

तर, झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि विश्व बैंकको सहयोगमा कनकाई नगरपालिका–२मा नमूना परियोजना शुरु भएको छ ।

विश्व वैंकको पाँच करोड ४६ लाख दुई सय ४६ रुपैयाँको अनुदानसहित १७ करोड ५० लाख रुपैयाँको लागतमा कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडले फोहोरमैला व्यवस्थापनका लागि परियोजना शुरु गरेको हो । परियोजनाको काम २०७७ साउन ७ गतेभित्र सम्पन्न गर्ने गरी काम थालिएको र अहिले ‘डाइजेस्टर’ निर्माणको काम भइरहेको परियोजनाका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ वैकल्पिक ऊर्जा परियोजना केन्द्रको सहयोगमा ऊर्जा मन्त्रालयमार्फत फोहोरमैला व्यवस्थापनसहित नौ सय घर परिवारलाई पाइपलाइनबाट ग्यास समेत बितरण गर्ने गरी काम अघि बढाइएको कम्पनीका सदस्य राजकुमार कट्टेलले जानकारी दिए । उनका अनुसार परियोजना सञ्चालनपछि फोहोरबाट बायोग्यास उत्पादन गर्ने र नगरलाई पाइपलाइनमार्फत ग्यास वितरण गर्दै सहज रुपमा ग्यास उपलब्ध गराउने छ ।

कम्पनीका सञ्चालक मदनगोपाल सुब्बाका अनुसार परियोजना सञ्चालनपछि दैनिक ३५देखि ४० टनसम्म फोहोर खपत हुने र नगरलाई सफा राख्न यसले मद्दत पु¥याउने भएको छ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको सहकार्यमा परियोजनाको काम अघि बढेको भन्दै सुब्बाले भने– ‘परियोजना सञ्चालनपछि फोहोरलाई मोहरमा बदल्न सकिन्छ ।’

कम्पनीले ५७ कठ्ठा जमिन खरिद गरी सन्काहा खोलाको तटीय क्षेत्रमा अहिले परियोजनाको काम अघि बढाएको छ । फोहोर व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता हो– सुब्बा भन्छन्– बिर्तामोडसहित तीनवटा नगरको फोहोर यसअघि पनि व्यवस्थापनका लागि पहल भएको थियो तर, जमिन अभावमा काम अगाडि बढ्न सकेको थिएन ।’

भुटानी शरणाार्थी तेस्रो देश पुनस्र्थापना भएपछि अर्जुनधारा नगरपालिकाको भुटानी शरणार्थी शिविरको खाली जमिनमा फोहोर व्यवस्थापनको तयारी गरिए पनि स्थानीयको बिरोधपछि लामो समयदेखि अर्जुनधारा, बिर्तामोड र कनकाईको फोहोरमैला व्यवस्थापनमा समस्या थियो– सुब्बाले भने– परियोजना सञ्चालनको काम सकिएलगत्तै नगरबाट निस्कने फोहोरले मात्रै नपुग्ने भएपछि खर, मकैका ढोडको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाबाट १५देखि १७ टनसम्म फोहोर निस्कने गरेको सुब्बाको भनाइ छ ।

ऊर्जा मन्त्रालयमार्फत वल्र्ड वैंकले अहिले परियोजनाको काम सुचारु गर्न दुई करोड १८ लाख २ सय ६४ रुपैयाँ सहयोग गरेको सुब्बाको भनाइ छ । वल्र्ड वैंकले रकम प्रदान गरेसँगै उपकरण खरिदका लागि भारतीय कम्पनीसंग सम्झौता गरिएको र सामान खरिदका लागि पाँच करोडभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

कम्पनीका अध्यक्ष तिम्सिनाले फोहोरमुक्त नगर राख्न थालिएको कामलाई सबैले साथ दिएको बताउँदै ६ सय जनाले शेयर लिइसकेको जानकारी दिए । उनले शेयर बापत कम्पनीमा एक करोड १३ लाख ४ सय ११ रुपैयाँ समेत जम्मा भएको र मंसीर महिनाभरि संस्थापक शेयर सदस्यका लागि आवेदन खुल्ला गरिएको बताए । उनले मंसीर महिनापछि आएको शेयरलाई साधारण शेयरको रुपमा मात्रै समावेश गराइने प्रष्ट पारे । फोहोरलाई स्रोत मै छुट्याएर वायो ग्यास उत्पादन गर्न तीन नगरपालिका, केवी ऊर्जा (कनकाई–बिर्ता–अर्जुन नबीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड) र वैकल्पिक ऊर्जासँग त्रिपक्षीय सम्झौता भएको बताइएको छ ।

नेपालकै नमूना परियोजनाका रुपमा यसलाई लैजाने सोचका साथ काम अघि बढाइएको सञ्चालक कट्टेलले बताए । फोहोरको समस्या अहिलेको साझा समस्या भएको भन्दै यो कम्पनीले फोहोरलाई प्रशोधन गर्न शुरु गरेपछि सिङ्गो झापालाई फोहोररहीत बनाउन सकिने बताए ।

परियोजनाले दैनिक फोहोर मैला व्यवस्थापन गर्दै दैनिक १६ सय मेट्रिकटन प्राङ्गारिक मल र १६ सय किलो वायो ग्यास उत्पादन गर्ने अध्यक्ष तिम्सिनाको भनाइ छ । उनका अनुसार दैनिक ४ सय ५० केजी वायो ग्यास पाइपलाइनमार्फत वितरण हुन्छ ।

को–को छन् कम्पनीमा ?

प्रदूषणरहीत नगर र नगरवासीलाई घर–घरमा पाइपलाइनमार्फत ग्यास वितरण गर्ने उद्देश्यका साथ तीनवटा नगरपालिकाको सहकार्यमा शुरु भएको परियोजनामा तीनवटै नगरका नगरवासीको लगानी छ ।

त्यसमा पनि कम्पनीमा तिम्सिना अध्यक्ष पदमा छन् भने सदस्यहरुमा ज्ञानुराम प्रसाई, सुवास भट्टराई, शंकर ढुङ्गेल, प्रेम सागर सापकोटा, कुमारमणि पोखरेल, दीपक चापागाँई, सोमनाथ उप्रेती, मदन गोपाल सुब्बा, सुष्मा परियार, राजकुमार कट्टेल रहेका छन् ।

तीन नगरको पचास–पचास लाख लगानी

लामो समयदेखि झापाका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकालाई फोहोर मैला व्यवस्थापनको विषय मुख्य समस्याका रुपमा थियो । नगरको फोहोर व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधिले चौतर्फी आलोचना व्यहोर्दै आएका थिए । डम्पिङ साइडको अभावले फाहोरलाई बाटैमा खाल्डो खनेर पुर्नूको विकल्प थिएन नगरलाई ।

अहिले पनि पूर्व–पश्चिम राजमार्गको गिरी बन्धु टी इस्टेट अगाडिको सडकमा बिर्तामोड नगरपालिकाले फोहोर पुर्दै आएको छ । फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा कनकाई र अर्जुनधारालाई पनि समस्या रहेको थियो । उनीहरुले पनि आफ्नो नगरमा उत्पादित फोहोर खोला किनार, सामुदायिक वन क्षेत्रमा फ्याँक्नुपर्ने बाध्यता थियो ।

तर, कनकाई–बिर्ता–अर्जुन नबीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडले फोहोरमैला व्यवस्थापनका लागि परियोजना शुरु गरेपछि ती नगरपालिकाले सहकार्य गर्दै ५०–५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । परियोजना निर्माण सम्पन्न भएपछि फाहोरको दीगो व्यवस्थापन हुने बताइएको छ । फोहोरको दीगो व्यवस्थापन हुन नसक्दा नगरपालिकाहरुले नागरिकको दवाव सहनु परेको थियो ।

आफू निर्वाचित भएमा फाहोरको दीगो व्यस्थापन गर्ने बताएका जनप्रतिनिधिले दुई वर्षको अवधिमा पनि फोहोर व्यवस्थापनको ठोस् काम नगर्दा नागरिकले जनप्रतिनिधिको चर्काे आलोचना गर्दै आएका थिए । तर, परियोजनाको काम शुरु भएसँगै फाहोरको दीगो व्यवस्थापन हुने र आफ्नो नगर सफा हुनेमा जनप्रतिनिधि विश्वस्त छन् ।

‘लक्ष्य चार हजारको तर अहिले दुई हजार’

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाइमा निर्माण भइरहेको वायो ग्यासको प्लान्ट चार हजार घनमिटरको भएको बताएका छन् । उनले तीनबटा नगरपालिकाभित्र रहेको फोहोरबाट अहिले २ हजार घनमिटर वायो ग्यास उत्पादन गर्न सकिने बताए ।

अन्य नगरको तुलनामा कनकाईले वायो ग्यास प्लान्टलाई अली बढी प्राथमिकतामा राखेका छौं– नगरप्रमुख पोखरेलले भने– ‘हामीले कम्पनी स्थापनादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका हौं । भोलिको दिनमा ग्यास उत्पादन गरेर सिलिण्डर भरेर लान पनि हाम्रो त्यत्तिनै सहयोग चाहिन्छ र पाइपलाइनबाट ग्यास वितरणमा पनि हाम्रो महत्वपूर्ण भूमिका रहन्छ ।’

ग्यास प्लान्ट सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले गत वर्ष १० लाख रुपैयाँ सहयोग गरेको र यो वर्ष २५ लाख र अर्काे वर्ष २५ लाख रुपैयाँ गरेर ५० लाख रुपैयाँ शेयरमा वदल्ने अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । बिर्तामोड नगरपालिकालाई जस्तो हामीलाई फोहोर मैला व्यवस्थापनको समस्या नदेखिए पनि भावी दिनमा यसले सिङ्गो झापालाई फाइदा पुग्ने हुँदा व्यवस्थापनको काम साझेदारीमा अघि बढाइएको हो– नगरप्रमुख रानाले भने ।

झापामा सबैभन्दा बढी शहरी क्षेत्रमा फाहोर उत्पादन हुँदै आएको छ । त्यसमा पनि बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्ने क्रम वढी रहेकाले अन्य नगरको तुलनामा बढी फोहोर उत्पादन हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here