आजदेखि भद्रपुर विमानस्थल सञ्चालनमा

0
689

भद्रपुर,

आज (शुक्रवार) देखि भद्रपुर विमानस्थलमा हवाई सेवा सञ्चालन आएको छ ।

झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य तोकिएको समय अवधि १० दिनभित्रै सम्पन्न गरेपछि विमानस्थलबाट हवाई सेवा सञ्चालनमा आएको हो ।

धावनमार्ग मर्मत सुरु भएसँगै कार्तिक २६ देखि मङ्सिर ५ गते सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो । ‘निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेको मर्मत कार्य सकेको हो’, चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘आज देखि पुनः विमानस्थल सञ्चालनमा आएको हो, अबदेखि नियमित उडान हुन्छ ’ विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो । जीर्ण बनेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो ।

धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि सरकारले १० करोड २३ लाख खर्च गरेको हो । भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले भद्रपुर विमानस्थलको स्तरोन्नतिसँगै धावनमार्ग विस्तार कार्यलाई दीर्घकालिक योजना बनाएर अघि बढेसँगै भद्रपुर विमानस्थलले काँचुली फेर्न थालेका छन् ।

विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नति, लगायतका कामहरू गरिएको हो । काठमाडौँ–भद्रपुर–काठमाडौँ हवाई सेवाका लागि यस विमानस्थलमा अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमानले नियमित उडान भर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here