दृष्टी दोष हटाउन विद्यार्थीको आँखा जाँच कार्यक्रम

0
803

अर्जुनधारा।

झापाको अर्जुनधारा–३स्थित न्यू होप अङग्रेजी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित एक दिवसीय निःशुल्क विद्यार्थीको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड–३स्थित मेची आँखा अस्पतालको आयोजनामा आयोजित उक्त कार्यक्रम विद्यालयमा अध्धयनरत् विद्यार्थीहरुको दृष्टी दोष हटाउने उद्धेश्यले सञ्चालन गरिएको अस्पतालकी परामर्शदाता जीवनज्योती शर्माले बताइन् ।

मेची आँखा अस्पताल संघ र नेपाल नेत्रज्योती संघ साझेदार रहेको उक्त कार्यक्रममा नेदरल्याण्डमा रहेको संस्था ओरविसको लगानी रहेको परामर्शदाता शर्माले जानकारी दिइन् । ओरविसले विश्वबाट आँखाको दृष्टि दोष उन्मूलन गर्न उद्धेश्यले परियोजना सञ्चालन गरेको हो ।

विगत डेढ वर्षदेखि सञ्चालन भइरहेको परियोजनामार्फत् हालसम्म अनुमानित तीन सय वटा सामुदायिक र संस्थागत विद्यालयका डेढ लाख जनालाई सेवा दिइएको उनले दावी गरिन् । कार्यक्रममार्फत् निःशुल्क आँखा जाँच, औषधी वितरण, आँखाको अवस्था अनुसार चस्मा वितरण, अस्पतालबाट थप सेवा लिनु परे रिफरल कार्ड, शल्यक्रिया गर्नुपर्ने भएमा सहयोग गर्ने बताइएको छ ।

दृष्टी विशेषज्ञ अजयकुमार राय, इन्टर्न दृष्टी विशेषज्ञ वर्षा कार्की, नेत्र सहायक अमृता चौधरी, आई हेल्थ वर्करद्धय प्रमिला धिमाल र संगीता राजवंशी, अप्टिसियन कपिल राजवंशीलगायतले सेवा दिएको कार्यक्रममा ५११ जनाले सेवा लिएको विद्यालयका संस्थापक बालगोपाल गौतमले जानकारी दिए ।

५११ जनामध्ये ४५९को आँखा सामान्य, २६ जनाको आँखामा दृष्टी दोष, १५ जनालाई थप उपचारको लागि अस्पताल जान रेफरल कार्ड र २६ जनालाई चस्मा वितरण गरिने बताइएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्याब्सन) नगरका उपाध्यक्ष समेत रहेका गौतमले उक्त कार्यक्रम नगरपालिका भित्र रहेका अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here