झापाका ज्येष्ठ नागरिकले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
1215

भद्रपुर,

भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै ज्येष्ठ नागरिक संघ भद्रपुर नगर समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

संघका नगर अध्यक्ष हेमप्रसाद खनाल र सचिव शंकरकुमार गौतमको नेतृत्वमा गएको ज्येष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो। संघले उक्त ध्यानाकर्षणसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उदय राणा मगरलाई बुझाएका हुन्।

प्रजिअ मगरले सो ज्ञापनपत्र प्रधानमन्त्री सचिवालयको कार्यालयमा पठाइसकेका छन्। नेपालको राष्ट्रवादी तत्कालीन राजा महेन्द्रको पालामा भारतलाई नेपालको भूभाग कालापानीमा सैन्य दस्ता राख्न दिएपछि नेपाली भूभागमा भारतीय पक्षले आफ्नो मनोमानी गर्दै आएको भए तापनि भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभाग राखेको मानचित्र सार्वजनिक गरिएकोले ज्येष्ठ नागरिक संघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ।

भारतले कालापानी र लिम्पियाधुरालाई मात्र होइन नेपालको विभिन्न २३ जिल्लाका ७१ स्थानमा भारतले करिब ६० हजार ६२७ हेक्टर जमिन अतिक्रमण गरेको घटनाले सीमा विवाद हाल तनाव ग्रस्त बनेको संघका सचिव शंकरकुमार गौतमले बताए।

उनले नेपाल-भारतको असमान सन्धि १९५० लाई पनि जोडदार रूपमा आधिकारिक स्तरबाट प्रस्तुत गरी समाधान निकाल्ने सुअवसर रहेको हुँदा देशवासीको चाहना बमोजिम सरकारले कूटनीतिक तवरले आफ्नो क्षमता देखाउनुपर्छ भनी ज्ञापनपत्रमा लेखिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here