प्रहरीकै मिलेमतोमा परीक्षण बिनै तरकारी र फलफूल भित्रिँदै

0
639

पार्थ मण्डल / भद्रपुर।

भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा भारतबाट आयातित फलफूल तथा तरकारी विषादि परीक्षण बिनै नेपाल भित्र्याइँदैछ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले विषादि परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिले भद्रपुर नाकाबाट धमाधम भित्र्याउँदैछन् । विषादि परीक्षण पश्चात् राजश्व तिराएर भित्र्याउन दिनुपर्ने फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालयले त्यसै आयात गर्न दिइरहेको छ ।

त्यसबापत भारतीय कारोबारीले नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई रकम समेत बाँड्ने गरेको व्यापारी स्रोतको दाबी छ । पिकअप भ्यान तथा मिनी ट्रकमा फलफूल र तरकारी भित्र्याउँदा सबैको आँखा लाग्छ भनेर कारोबारीले साइकल र सिटी सफारीलाई माध्यम बनाएका छन् ।

कारोबारीले मेची पुल पारि फलफूल र तरकारी भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर प्लेटको सिटी सफारी, ठेला भ्यान र साइकलमा लोड गरी भन्सार अगाडिबाटै नेपाल प्रहरीको चेक पोष्टसम्म ल्याउँछन् । भन्सार अगाडिबाट लाइन लगाएर सफारी र साइकल प्रहरीको चेकपोष्टसम्म आइपुग्दा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी त्यसलाई रोक्नुको साटो उल्टै कति वटा गयो भनेर गन्दै बस्छन् ।

त्यसपछि कारोबारीले ड्युटीमा खटिएका कर्मचारी र प्रहरीलाई रकम बाँड्छन् । एउटा सिटी सफारीले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाँड्ने गरेको व्यापारी स्रोतको दावी छ ।

‘पहिला पिकअप र मिनी ट्रकमा फलफूल तथा तरकारी आउँथ्यो, भन्सारले विषादि परीक्षणका लागि पत्र लेखिदिए पछि कारोबारीले बिर्तामोड गएर परीक्षण गरेर ल्याउनुपथ्र्यो, अनि मात्र भन्सार काटिन्थ्यो’– व्यापारी स्रोतले भन्यो– ‘अहिले त्यसो गर्न छाडिएको छ, ठूला सवारीसाधनमा फलफूल र तरकारी आउँदैन, सफारी, ठेला भ्यान र साइकलमै ल्याइन्छ, विषादि पनि चेकजाँच गर्नु परेन, भन्सारलाई तिर्ने राजश्व कारोबारीले कर्मचारी र प्रहरीलाई बाँड्दा झञ्झट पनि भएन ।’

फलफूल र तरकारीसँगै भारतबाट आयातित माछा पनि क्वारेन्टाइन चेकजाँच बिना नै भित्रिरहेको छ । नेपाली तथा भारतीय कारोबारीले माछालाई कार्टुनमा हालेर ल्याउनुपर्ने र क्वारेन्टाइन चेकजाँच पश्चात् भन्सार काटेर लैजानुपर्ने हुन्छ । तर, व्यापारीले झोलामा राखेर साइकल र सफारीमा भित्र्याउने माछाको क्वारेन्टाइन र भन्सार दुबै नगरी भित्र्याइरहेका छन् ।

भन्सार अगाडि बजारै लाग्छ

गत असार २५ गते सर्वोच्च अदालतले भारतबाट आयातित फलफूल तथा तरकारीको विषादि परीक्षण नगर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न र सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि सीमा नाकाबाट नेपाल भित्रिने फलफूल तथा तरकारीको विषादि परीक्षणमा कडाई भएको थियो । तर, भद्रपुर भन्सार अगाडिबाट खुलेआम भित्रिने भारतीय फलफूल र तरकारी भन्सारदेखि सय मिटर टाढा कृषि थोक बजार जस्तै लाग्ने गरेको पाइएको छ ।

सिटी सफारीमा भित्रिने फलफूल र तरकारी प्रहरी चेक पोष्ट नजिकै रहेको सवारी पार्किङस्थलसम्म ल्याउने र त्यहाँ पिकअप वा जिपमा लोड गरी सोझै बिर्तामोड बजारसम्म पु¥याउने गरिएको छ । यात्रु बोक्ने भारतीय सिटी सफारीमा फलफूल र तरकारी बोक्दा पनि ट्राफिक प्रहरी रमिते बनेको छ । यसरी भित्र्याइएको फलफूल र तरकारी नेपाली उपभोक्ताले खरिद गरी खान बाध्य छन् । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुँदा पनि यसलाई नियन्त्रण गर्न कुनै निकायले चासो देखाएको छैन ।

भन्सारमा १० प्रतिशत कर लाग्छ

भारतबाट आयातित फलफूल तथा तरकारीको विषादि परीक्षणसँगै १० प्रतिशत कर लाग्ने भद्रपुर भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले जानकारी दिए । काँचो तथा हरियो सागसब्जीमा ५, कृषि सुधार र अग्रमी आयकरमा ५ प्रतिशत लाग्ने भन्सारले जनाएको छ ।

सुकेको लसुनमा १० प्रतिशत करसहित १३ प्रतिशत भ्याट पनि लाग्छ । यो लाग्ने कर फलफूल तथा तरकारीको प्रति केजीको आधारमा हुन्छ । ‘विना परीक्षण फलफूल तथा तरकारी भन्सारले कर लिन मिल्दैन’– भन्सार प्रमुख खतिवडाले भने– ‘नेपाली बजार भित्र्याइने फलफूल तथा तरकारीको कारोबारी वा व्यापारीले विषादि परीक्षण गरेर ल्याउँछ, अनि मात्र प्रज्ञापनपत्र काटेर पठाउने नीतिगत नियम छ ।’

भन्सार अगाडिबाटै सोझै बिना परीक्षण फलफूल र तरकारी गइरहेको विषयमा आफूलाई थाहा नभएको बताउँदै भन्सार प्रमुख खतिवडाले भने– ‘त्यस्तो गरेको खण्डमा ड्युटीमा खटिएका कर्मचारीमाथि कारवाही हुन्छ ।’ ‘भन्सार अगाडि कर्मचारीसहित सशस्त्र र नेपाली प्रहरी पनि खटिएका हुन्छन्’– उनले भने– ‘यसलाई रोक्ने जिम्मेवार निकाय तिनै हुन्, यस विषयमा प्रहरी प्रमुखसँग समन्वय गरेर रोक्छांै ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here