चिन्तामणि दाहाल,
वास्तविकता :
भारतले सीमाना अतिक्रमण गरेको मुद्दा अहिले नेपालमा राष्ट्रिय बहसको विषय भएको छ । पंक्तिकारले यसअघिका दुई हप्ताका आलेखमा सीमाना समस्या के हो ? कसरी यो समस्या आइरहेको छ र यस समस्यालाई सदाकालका लागि कसरी समाधान गर्ने विषयमा छोटैमा भए पनि जाने बुझेको सुझाव दिइसकेको छ ।
सीमा अतिक्रमणकै कारण नेपाल र तत्कालीन इस्ट इण्डिया कम्पनीबीच सन् १८१४ देखि १६ सम्म दुई बर्ष युद्ध नै भयो । यसलाई नेपाल अंग्रेज युद्ध पनि भनिन्छ । युद्धपछि भएको सुगौली सन्धीले पनि भारतीय पक्ष र भारत सरकार दुबैबाट नेपालको सीमाना माथि हुने अतिक्रमण रोकिएन, जारी छ । नेपाल र भारतबीच एक हजार सात सय ५८ किलोमिटरभन्दा बढी सीमाना जोडिएको छ । सीमा क्षेत्रमा नेपालका २७ जिल्ला भारतसँग जोडिएका छन् । भारतका विहार, बंगाल, उत्तरप्रदेश, उत्तराखण्ड र सिक्किम नेपालसँग जोडिएका प्रान्त हुन् ।
सीमाना अतिक्रमण शाहकालीन नेपाल, राणाकालीन नेपाल, पञ्चायतकालीन नेपाल, प्रजातन्त्रकालीन नेपाल र अहिले गणतन्त्रकालीन नेपालमा भारत र भारतीय पक्षबाट नेपाली भूमिमाथि विभिन्न बहानामा अतिक्रमण जारी छ । सीमाना अतिक्रमण कुनै पनि सत्ताधारीले रोक्न सकेका छैनन् भने समस्या समाधान पनि गर्न सकेका छैनन् । त्यसकारण सीमाना अतिक्रमण रोक्न नसकेको दोषका भागी सबै छन् ।

साँध सीमाना लागि सकेका क्षेत्रमा पनि सीमानामाथिको अतिक्रमण नरोकिनु र नेपलका शासकहरुले त्यसको प्रतिवाद गर्न नसक्नुको कारण भनेको नेपालका सत्ताधारीमा रहेको लघुताभास (क्ष्लाभचष्यचष्तथ अयmउभिह) हो भन्ने आशंका पनि गरिएको छ । कुटाइ खाएर पनि रुन नपाउनु र नसक्नु जस्तै भएको छ अहिले । यस्तो वास्तविकता भएर पनि अहिले सत्ताधारी दल र प्रमुख प्रतिपक्षबीच दन्त बझान किन ? प्रश्न खडा भएको छ ।
दन्त बझान किन ?
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले केही दिनअघि आफ्नो राजनीतिक नक्सा निकालेपछि नेपालमा तरंग पैदा भयो । ज्या है, भारतले यी तीन क्षेत्र भ्याइसकेछ । जब कि भारतले तत्कालीन राजा महेन्द्रको निरंकुशकालमै सन् १९६२ मै कालापानीमा आफ्नो सेना राखेर नेपाली भूमि अतिक्रमण गरिसकेको थियो ।
नेपालले पनि आफ्नो राजनीतिक नक्सामा ती तीन क्षेत्र समावेश गरेको थिएन । ६७ बर्षे वयसम्ममा पंक्तिकारले पढेको, देखेको, पढाएको र ब्याख्या विश्लेषण गरेको नेपालको नक्सामा त यी तीन क्षेत्र समावेश नगरेको रहेछ भन्ने बल्ल अहिले थाह भयो । नेपालले आफ्नो नक्सामा ती तीन क्षेत्र नपारेपछि स्वतः ती क्षेत्र सीमाना जोडिएको भारतीय नक्सामा आउने नै भए । शासन सत्तामा बस्ने, हालीमुहाली गर्ने, प्रशासनमा बस्ने, हालीमुहाली गर्ने, परराष्ट्रमन्त्री हुने हालीमुहाली गर्ने, भूमिसुधार मन्त्री हुने हालीमुहाली गर्ने, नापी विभागको निर्देशक हुने, हालीमुहाली गर्ने, तर नेपालको सीमाना अनुसारको नक्सा छ÷छैन भन्ने अध्ययन अनुसन्धान नगर्नेहरु नै अहिले भारतले आँखा देखाएपछि दन्त बझान गर्न थालेका छन् ।
सत्ताको प्रमुख पद ग्रहण गरेपछि आफूले शासन गर्ने देशको नक्सा र त्यो नक्साले कोरेको सीमाना ठीक भए नभएको अध्ययन र अवलोकन गर्नुपर्ने हो कि होइन । त्यस बारेमा विज्ञहरुसँग छलफल गर्नुपर्ने हो कि होइन । हरेक बर्षजसो भारतका उच्च र जिल्ला तहका सीमा अधिकारीको बैठकमा सीमा सुरक्षाको बारेमा चर्चा÷परिचर्चा र सीमा नक्सा ठीक भए नभएको जाँच गर्नुपर्ने र नभए दुबै देशका प्राविधिक तह र राजनीतिक तहबीच छलफल चलाउनुपर्ने हो÷होइन ।
यस्ता धेरै प्रश्नको जवाफ अहिले आम जनताले खोजेका छन् ।
किनकि जनताको तहबाट २०४८ सालदेखि नै कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजा भनेर नारा लागेको र नवलपरासीको सुस्ता र झापाको महेशपुरमा सीमा अतिक्रमण गर्न पाइँदैन भनेर २०२५ सालमै विरोध भएको अवस्थामा त्यसबेलाका नेता र अहिलेका शासकहरु आफू सत्तामा आएपछि किन चुप लागे । अहिले भारतसँग कुटनीतिक वार्ता गरी समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा किन दन्त बझानमा छन् ।
नेपालका शासकहरु सीमानाका बारेमा कोही पनि प्रष्ट जानकार देखिएनन् । कारण त्यसबारेमा उनीहरुले अध्ययन नै गरेका छैनन् भने अध्ययन गर्न पनि चाहेको देखिएन । अहिले सर्वदलीय बैठकमा कुटनीतिक तवरले भारतसँग वार्ता गरी सीमाना समस्या समाधान गर्नुपर्ने विषयमा अभूतपूर्वरुपमा राष्ट्रिय सहमति भएको अवस्था छ ।
यस अवस्थामा अझै पनि एकले अर्कोलाई शंका गर्ने र आशंका गर्नेको झाँको झारेपछि सीमाना समस्या भइहाल्छ जस्तो ठान्ने सत्तासिनहरुकै बानी व्यहोराले भारतलाई बल पुगेको छ । त्यसैले उसले काली नदीको उद्गमस्थल नै आफ्नो अनुकुल बनाएर पेश ग¥यो । जब कि सुगौलीको सन्धीले देखाएको काली नदी लिम्पियाधुरा पश्चिमको काली नदी हो ।
त्यसकारण प्रधानमन्त्री भइसकेका देउवाले प्रधानमन्त्री ओलीलाई नै आशंका गर्ने र उनको अभिव्यक्तिको पछि लागेर चुनावी नारा बनाउने कुरालाई पंक्तिकारले दन्त बझान मानेको हो । जब कि १८२७ मा भारतीय सर्भेयरले बनाएको नक्सा र १८५६ मा फेरि भारतीय सर्भेयरले बनाएको भारतको नक्सामा अहिले विवादमा ल्याएका तीन क्षेत्र नेपालमै देखाएको थियो ।
यसै आधारमा र सुगौली सन्धीका आधारमा नेपालले आफ्नो क्षेत्र दाबी गर्ने र अन्य प्रमाण जुटाएर भारतसँग उच्च कुटनीतिक तहमा वार्ता थाल्ने वातावरण बनाउनुको बदला दन्त बझान गर्नुको अर्थ छैन । शेष फेरि ।


























