कास्की।

उप निर्वाचनलाई लक्षित गर्दै पोखराको नयाँ बजारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रमस्थल नजिकै बम विष्फोट भएको छ ।
कास्की क्षेत्र नम्बर–२ को उपचुनावका लागि नेकपाको चुनावसभा भइरहेको बेला नजिकै बम विष्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विष्फोट भएको हो । सभालाई सम्वोधन गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत पोखरामा छन् ।
विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विष्फोट गराएको थियो । कास्की–२ बाट विद्या भट्टराई नेकपाका तर्फबाट उपनिर्वाचनको उम्मेद्वार रहेकी छन् ।
यसैबीच पोखराको सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।


























