पूर्वीनाकाबाट १२८ जनाचिनियाँ नागरिकले लिए सुविधा

0
549

काँकरभिट्टा।

पर्यटकीय प्रयोजनका लागि नेपाल भ्रमण गर्न आउने चिनियाँ नागरिकलाई नेपाल सरकारले भिषा शुल्क मिनाहा गरे पनि पूर्वीनाकाबाट भने अपेक्षा अनुसार चिनियाँ पर्यटक प्रवेश गरेका छैनन् ।

सरकारले बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउने उद्देश्यले सन् २०१६ जनवरीदेखि भिषा शुल्क मिनाहा गरेको थियो । सन् २०१९ सकिन करिब एक महिना बाँकी रहदा पूर्वी काँकरभिट्टानाकाबाट एक सय २८ जना चिनियाँ नागरिकले मात्र यो सुविधा लिएको अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख जनक कोइरालाले जानकारी दिए ।

अध्यागमन नियमावली २०५१ को नियम ६ (२) बमोजिम बढीमा पाँच महिनासम्मका लागि चिनियाँ नागरिकलाई पर्यटक भिषा शुल्क सरकारले मिनाहा गरेको छ । नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई लाग्ने भिषा शुल्क मिनाहा गरे पनि पूर्वीनाकामा यसको खासै प्रभाव नपरेको तथा अपेक्षा अनुसार चिनियाँ पर्यटककले यो सुविधा नलिएको कार्यालयको भनाई छ ।

चाइनिज पासपोर्ट भएकाले मात्र यो सुविधा पाउने तथा चिनियाँ भिषा नभएकाले भने अन्य मुलुकका नागरिक सरह भिषा शुल्क बुझाउनु पर्ने कार्यालयल जनाएको छ । चिनियाँ पर्यटक आउने खासगरी उत्तरी नाका भएकाले पनि पूर्वीनाकामा खासै प्रभावकारी नदेखिएको अध्यागमन अधिकारीहरुको भनाई छ ।

यो सुविधा प्रदान गरेको केही महिनासम्म सुविधा लिनेको संख्या शून्य झैं थियो । यो नाका हुँदै नेपाल घुम्न आउने चिनियाँ नागरिकको संख्या भने उच्च छ । तर, चाइनिज भिषा भएका भने कम आउने गरेका छन् । भिषा शुल्क मिनाहा भएपछि यस्तो भिषा भएका चिनियाँको संख्या बढ्नेमा कार्यालय विश्वस्त थियो । तर, खासै अपेक्षा गरिए अनुसार नभएको कार्यालयले जनाएको छ । पर्यटन व्यवसायीका अनुसार चिनियाँ पर्यटकका लागि फेब्रुअरी मुख्य महिना हो । तर, त्यो महिना पनि यो नाकाबाट खासै चिनियाँ पर्यटक भित्रिएका थिएनन् ।

प्रदेश नम्बर १ स्तरीय पर्यटन प्रवद्र्घन समितिका सदस्य तथा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाटा पूर्वाञ्चल क्षेत्रीय समितिका संस्थापक महासचिव उदयकुमार श्रेष्ठका अनुसार सबैभन्दा बढी चिनियाँ पर्यटक तातोपानी नाका भएर नेपाल भित्रिन्थे । भुकम्पका कारण तातोपानी नाकामा क्षति पुगेपछि चिनियाँको आगमनमा सुधार आउन नसकेको हो ।

भिषा शुल्क मिनाहाले मात्र चिनियाँ पर्यटकको आगमन बढ्न नसक्ने उनको भनाई छ । ‘चिनियाँ नागरिकलाई नेपाल सरकारले भिषा शुल्क मिनाहा गरे पनि पूर्वीनाकामा यसको कुनै प्रभाव देखिँदैन’ पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठ भन्छन्–‘भिषा शुल्क मिनाहाले पूर्वका ट्राभल व्यवसायीहरुमा कुनै उत्साह थपेको छैन । भिषा शुल्क मिनाहा गरेर मात्र के गर्ने ?’ श्रेष्ठले भने– ‘भिषा शुल्क मिनाहाले चिनियाँको आगमनमा उत्साह थपेको छैन, पूर्वीनाकाबाट चिनियाँ नागरिक नै नआएपछि मिनाहाको के अर्थ रह्यो पर्यटक नै नआएपछि व्यवसायी उत्साहित बन्ने कुरै भएन ।’

श्रेष्ठका अनुसार भिषा शुल्क मिनाहाले मात्र चिनियाँ पर्यटकको आगमन बढ्न सक्दैन । नेपालका जुनसुकै भागबाट नेपाल आउने १० देखि १५ प्रतिशत चिनियाँ नागरिकले मात्र हवाई मार्ग प्रयोग गर्ने बाकी स्थलमार्ग भएर आउने व्यवसायीहरुको भनाई छ ।

‘देशका जुनसुकै भू–भागबाट नेपाल चिनियाँ पर्यटक आउँछन् पहिला त नाका सहज हुनुपर्छ’ –पर्यटन व्यवसायी शंकर भट्टराईले भने– ‘भिषा शुल्क मिनाहाले उति प्रभाव पारेको छैन ।’ चिनियाँका लागि बाटोको समस्या छ । स्थलमार्ग भएर नेपाल आउने धेरै चिनियाँहरुले अहिले सहजरुपमा बाटो नपाएको व्यवसायीहरुको भनाई छ । बाटोको सूविधा नभएसम्म चिनियाँ नागरिकको आगमनमा सुधार नआउने व्यवसायीहरु बताउँछन् ।

व्यवसायीका अनुसार केही वर्ष अघिसम्म चिनियाँ पर्यटकको आगमनले थोरै भए पनि राहत मिलेको थियो । पछिल्लो समयमा उनीहरुको आगमन निक्कै कम छ । कहिले काहि चिनियाँ पर्यटक देख्नसम्म नपाइने पर्यटन तथा होटल व्यवसायी समेत रहेका रमेश अधिकारीको भनाई छ । उनी भन्छन्– ‘अहिले जसरी चिनियाँ नागरिकहरु नेपाल घुम्न आउने गरेका छन् त्यसले पर्यटन र होटल क्षेत्रमा कुनै प्रभाव पर्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here