भद्रपुर।
भारतबाट आयातित माछा, कुखुरा, खसी–बाख्रा लगायत पशुपंक्षी क्वारेन्टाइन चेकजाँच बिना नेपाल भित्र्याए जफत गर्न सरोकारवाला निकाय सहमत भएका छन् ।
झापाको काँकरभिट्टा, भद्रपुर र गौरीगञ्ज नाकामा पशु क्वारेन्टाइन चेकपोस्ट रहेको हुँदा सो नाकाबाहेक अन्य नाकाबाट अवैध रूपमा भित्र्याइएका पशुपंक्षी नियन्त्रण तथा रोकथाम गर्न झापाका प्रहरी, प्रशासन प्रमुख सहमत भएका हुन् ।
भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा पशु क्वारेन्टाइन काँकरभिट्टाले बुधवार आयोजना सुरक्षा निकाय, व्यापारी तथा सरोकारवाला निकायहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालमा प्रतिबन्धित पशुपंक्षी भित्र्याउन नदिन र माछाको क्वारेन्टाइन चेकजाँच गरी मात्र भित्र्याउन दिने अभियानमा लागीपर्नेमा व्यवसायीले पनि सहयोग पु¥याउने बताएका छन् ।
कार्यक्रममा पशु सेवा विभागकी उप महानिर्देशक सम्झना काफ्लेले अवैध रूपमा खुला सीमानाको फाइदा उठाउँदै जताततैवाट पशुपंक्षी विना चेकजाँच ल्याउँदा नेपालमा विभिन्न किसिमका रोगहरू भित्रिन थालेको बताइन् । देशमै माछा, मासुको उत्पादन गर्नु पर्ने बताउँदै उनले भनिन् –भारतबाट भित्र्याउनै परे क्वारेन्टाइन चेकजाँच गरी ल्याउनु पर्छ ।
पशु क्वारेनटाइन ऐनमा उल्लेख भएका नियम कानून तथा नियम विपरीत कार्य गरे हुने दण्ड, जरिवाना, सजाय तथा नष्ट गर्नुपर्ने आयातित वस्तुहरूको विषयमा समेत उनले जानकारी दिएकी थिइन् । पशु क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख डा. अशोककुमार सिंहले चालू आर्थिक वर्षको चौमासिक तथ्याङ्क अनुसार सुरक्षा निकायको सहयोगमा २ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको कुखुरा, माछा नष्ट गरिएको जानकारी दिए ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली, सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेशमकुमार थाक्सू, वडा प्रहरी कार्यालय भद्रपुरका यमकुमार श्रेष्ठ, भद्रपुर भन्सार कार्यालयका डोरराज सुब्बा, कुखुरा व्यवसायी संघ इकाई समिति भद्रपुरका हेमबहादुर कार्की लगायतले आ–आफ्नो धारणा राख्दै आयातित पशुपंक्षी नियन्त्रण गर्न लागीपर्ने बताए ।
पशु क्वारेन्टाइन काँकुरभिट्टाका पशु चिकित्सक डा. सुलेश्वर मण्डलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लेखापाल टङ्कप्रसाद नेपालले गरेका थिए ।































