युएईमा सफलताको शिखर चुम्दै झापाली दम्पत्ति

0
1015

वैदेशिक रोजगारीको सिलसिलामा कामदारको रूपमा युएई आएर केही वर्षपछि आफै व्यापार व्यवसाय गर्ने नेपालीहरु दिनदिनै बढिरहेका छन् । युएईमा नेपालीहरु काम गर्न मात्रै होइन, काम गराउन अर्थात् मालिक बनेर आफ्नो र देशकै गरिमा उच्च राख्न पनि सक्षम छन् भनेर प्रमाणित गर्नेहरुमा दुई जना झापालीहरु पनि थपिएका छन् ।

नेपालीहरु पाँच वर्ष अगाडि वैदेशिक रोजगारीको लागि सामान्य वेटरमा युएई आएकी बाह्रदशी झापाकी अनु चुडाल र सेक्युरिटी गार्डमा आएका धुलाबारीका तपन आचार्य युएईमा ट्राभल एण्ड टुरिजमको क्षेत्रमा व्यवसाय गरिरहेका छन् । बाह्रदशीका तुलसी चुडालकी छोरी अनुले बिर्तामोडको कोहेड कलेजबाट व्यवस्थापन संकायमा प्लस टु गरेपछि वैदेशिक रोजगारीको लागि एक रेष्टुरेण्टमा सामान्य वेटरका रूपमा चार वर्ष काम गरिन् । चार वर्षमा अनुले युएईमा ट्राभलको क्षेत्रमा काम गर्दा उपयुक्त हुने निष्कर्ष निकाल्दै पैसा बचत गर्न थालिन् ।

धुलाबारीका बिष्णुप्रसाद आचार्यका छोरा तपन आचार्य पनि पाँच वर्ष अगाडि सेक्युरिटी गार्डको काम गर्न युएई आएका थिए । प्रतिभाशाली व्यक्तित्व तपनले यो अवधिमा युएईको कानून, प्रशासनबारे जानकारी हासिल गरे । अन्ततः युएईमा व्यापारको अपार सम्भावना देखेर ट्राभलको क्षेत्रमा कम्पनी खोल्ने निर्णय गरे । यो बिसयमा आफ्नी श्रीमती अनुले पहिलेदेखि नै सुझाव दिएको र अनुकै आत्मविश्वास र पहलले एक वर्ष अगाडि नै दुबईको बर्जुमानमा रहेको अन्सार ग्यालरीमा अल सबिल ट्राभल कम्पनी स्थापना गरेको सञ्चालक तपनले बताए । युएईमा रहेका नेपाली लगायत अन्य समुदायका ग्राहकहरुलाई अनु र तपनले सञ्चालन गरेको अल सबिल ट्राभलले भरपर्दो र स्तरीय सेवा दिइरहेको छ ।

अल सबिल ट्राभल कम्पनीमा युएई भ्रमण गर्न चाहनेहरुका लागि भिजिट भिषा, हवाई टिकट, होटेल बुकिङ लगायत सबै प्रकारका टुर प्याकेजहरु अन्य ट्राभलहरुभन्दा सरल दरमा उपलब्ध हुने सञ्चालक तपन आचार्यले जानकारी दिएका छन् ।
झापामै रहँदा अर्जुनधारा दैनिकमा आवद्ध भएर पत्रकारिता गरेकी अनु चुडालले अहिले आफ्नो सम्पूर्ण समय अल सबिल ट्राभल कम्पनीको व्यापार प्रवद्र्धनमै समर्पित गरेको बताएकी छन् । सार्वजनिक समारोहमा अलि कम देखिने यो झापाली जोडीले भिजिट नेपाल २०२० को प्रमोसनका लागि युएईबाट पनि पर्यटकहरु नेपाल भित्र्याउन प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अल सबिल ट्राभलमा विशेष सुविधा

युएईमा सञ्चालित अन्य नेपाली ट्राभलहरुभन्दा सस्तो र छिटोछरितो सेवा दिने दाबी गर्ने यस ट्राभलमा नेपाल र भारतबाट घरमै बसीबसी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने र अनलाइन कारोबार गर्न सकिने यसका सञ्चालक तपन आचार्यले जानकारी दिएका छन् । सञ्चालक आचार्यले भिजिट भिषामा युएई आएर यतै रोजगारको खोजी गर्नेहरुलाई उचित काम खोजी गर्न सहयोग गर्ने बताएका छन् ।

बर्जुमान मेत्रो एक्जिट–२ बाट अल अन्सार मलमा रहेको यस ट्राभलमा युएईका अन्य नेपाली ट्राभलभन्दा सस्तो र भरपर्दो सेवा दिने दाबी यस ट्राभलमा सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रदिप कार्कीले गरेका छन् । बिर्तामोड–५ का स्थायी बासिन्दा कार्की अल सबिल ट्राभल कम्पनीले नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर सर्भिस दिएको र युएईका नेपालीहरु माझ लोकप्रियताको शिखरमा यो ट्राभल पु¥याउने दाबी गरेका छन् ।

युएईका नेपाली व्यवसायमा ट्राभल नै लोकप्रिय

नेपालीहरुको लगानीमा युएईमा सञ्चालित व्यावसायहरुमध्ये धेरैको आकर्षक र फस्टाएको क्षेत्र ट्राभल एण्ड टुरिजम पनि एक मानिन्छ । वैदेशिक रोजगारीको आकर्षक र सहज गन्तव्य बनेको युएईमा नेपालीहरुको संख्या बढ्दै गएका कारण नेपालीहरुलाई लक्ष्यित व्यवसाय पनि बढिरहेका छन् । अधिक नेपाली व्यवसायिले रेष्टुरेण्टमा लगानी गरेका छन् भने दोश्रो लोकप्रिय व्यावसायिक क्षेत्र ट्राभल नै देखिन्छ ।

शुभयात्रा, फिस्टेल, नमस्ते, फिस्तेल, अन्नपूर्ण, टविङ्कल, सन एण्ड मुन, कान्तिपुर, मुस्ताङ, ट्राभल युएईको नेपाली व्यवसायिक क्षेत्रमा चर्चित छन् । सस्तो, सरल र व्यवसायिक सेवा प्रदान गरेको अल सबिल ट्राभलले एक वर्ष सफलतापूर्वक सप्पन्न गरेको छ ।

युएईको नेपाली सामाजिक, आर्थिक गतिविधिमा सधै अग्रपंक्तिमा देखिने यस अल सबिल ट्राभल कम्पनीले दोश्रो वर्षको शुभारम्भमै धेरै नेपालीहरुलाई अझ सहज तरिकाले सेवा प्रदान गर्ने योजना रहेको सञ्चालक चुडालले बताएकी छन् । उनका अनुसार डोमेस्टिक तथा इण्टरनेशनल हवाइ टिकट, टुरिस्ट, भिजिट र फेमिली भिजिट भिषा, होटेल बुकिङ, डेजर्ट सफारी लगायतका सुबिधा अल सबिल ट्राभल कम्पनीले प्रदान गर्दै आएको छ ।

नयाँ शाखाको तयारी

युएईका नेपालीहरुलाई सस्तो, भरपर्दो, छिटोछरितो सेवा दिइरहेको यस अल सबिल ट्राभलले निकट भविष्यमा युएई र नेपालमा गरी दुईवटा शाखा विस्तार गर्ने योजना रहेको सञ्चालक तपन आचार्यले जानकारी दिएका छन् । दुबई र सारजाको सिमानामा पर्ने अल नादा एरियामा आगामी जनवरीमा पहिलो शाखा स्थापनाको तयारी भएको उनले बताएका छन् ।

नेपालबाट युएई घुम्न आउनेहरुलाई अझ सहज होस् भनेर नेपालमै पनि अल सबिल ट्राभल कम्पनीले आफ्नो शाखा निकट भविष्यमै खोल्ने योजना रहेको छ । रोजगारीपछि आफ्नै व्यावसाय गरी बसेको यो झापाली जोडी सफलताको शिखरतर्फ निरन्तर अगाडि बढिरहेको छ ।

प्रस्तुति : रामप्रसाद ढुंगेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here