गौँथलीको बाऊ अब धर्मको बिजिनेसमा लाग्ने अरे ?

0
1136

व्यंग्यनारान पाँडे,

टाउकोमा कालो टोपीको चुचुरो मात्र देखिने गरी बाक्लै ‘श्रीराम’ छाप भएको पहेँलो फेटा, सुतीको पुरानो हाइनेक भेस्टमाथि ठाउँ–ठाउँमा च्यात्तिएर झुत्रिइसकेको पहेँलो रंगको हाफबाउले वर्षादि, निधारमा माथिदेखि तलसम्मैं चार धर्को र नाकको डाँडो, किलकिले र कानमा लोतीमा समेत खरानीको टीको ।… आज यस्तो भेष र सिँगारमा आएका गाँैथलीको बाऊले मेरो छेउमा रहेको प्लास्टिक कुर्सीलाई दुबै हातले छोए अनि दुबै हात निधारमा छुवाएर दबेको स्वरमा ‘बिष्णु ! बिष्णु !’ भनेर बसे अनि मतिर हात जोड्दै भने— “जए सिरिराम हए पाँडे भाइ, जय सिरिराम ।”

उनको यो सिल्ली चालामालाले मलाई बेस्सरी कुत्कुत्यायो र एकखेप जोडको हाँसो वर्षाएपछि भनें— “हन दाइ आज अनौठो भएर पो आउनु भो त ? साधू हुँदा पो दाइलाई हेण्डसम् देखिँदो…”

मेरो पछिल्लो वाक्य पूरा हुन नपाउँदै उनले भने— “अस्ति कात्तिक पन्र गतेका दिन हाम्रा इण्डेन भइया–भइयानीले इण्डेबड लेराको छइट परबको हाम्रो नयाँ–नुतन मोडन चाडको शुबलच्छेदेखुन् नै मैले दारी–जुँगा खउरिन छाडेको थेँ । म तपाइँकाँ रेग्गुलरका रेग्गुलर आइराख्ता पनि तपइँले मेरो अन्भार क्यारलेसै गरेउन कि कसो हँ ? क्यारलेस गर्याथेउ भने पैल्यै अबको मेरो भबिसेकको गन्तभ्भेको लच्छिन् पाइसक्थेउ क्यारे ।…सिरिराम ! सिरिराम !…इ पाँडे भाइलाई अर्जेनली बिभेक खोल्ने सत्बुद्दि देऊ ।”…

सडक–बाटाका छेउमा खुटेका गाई–बाख्रा चरेर कुल्चीकाल्ची पारेका झरपात जस्तै तरेली भताभुङग, कोहीकता–कोही कता फर्केका र लामा–छोटो देखिने उनका दारी–जुँगा राम्ररी हेरें । मेरो पेटै बटारेर हाँसोको निलोफर आँधी उलिएर आयो र मैले हाँसोमुछिएको स्वरले सोधेँ— “तपाईंले दारी–जुँगा खौरिन छोड्नुबाट के लक्षण पाइन्थ्यो र अरु नयाँ कुराको ? उही अस्ति प्रदेश प्रमुखहरु फेरिँदा तपाईंको भाग लागेन भन्ने…”

उनले मानों मैले बोलेको सुन्दै नसुके झैं बाइपास गर्दै आफ्ना कुरा अगाडि बढाए— “छोराछोरी, नातिनातिना, पनातिपनातिना, भानाभान्जी जति नेपालमा जन्मे नि ती छउँडा–छउँडीका न्वारान–छेवर ‘आफ्नै मात्रिभूमि इण्डे’– मा गर्ने इण्डेन समस्कीर्तिक प्रम्प्रामा कट्टर राष्टवादी नेपाल नागृक मदिसे भइया–भइयानी नभा त बइदेशी रोचकारीले हाम्रा तिघ्रे–पाखुरेहेरु निखारेर र खत्तम–खलास हुन्थ्यो क्या यो हाम्रो मात्रिभूमि देश । तिनै हुलका हुल ओइरिदेका छन् र हाम्ले न्यास्रिनु पर्या छैन र देशले पनि खलपत्रे पत्रु भइसक्या सिल्बरको थाल जस्तो हुनबड जोगिन पा छ क्या पाँडे माइ । उइले बाऊ–बाजेका पालाको उस्तो बलिस्ट बडादशीँ, तियार, मागे सग्राँती, साउने सग्राँती, हरितालिका तीजहर्लाई कर्मशः लुतो लाग्दै गई छइट परब–राखी परबहर्को ढलीमलीमा पर्गति भइराख्या भन्ठान्लाऊ तपइँ । उइले अङरेज गोरा फिरङ्गी साहेपहर्ले उत्तिका सइयउँ बर्ख इण्डेनहर्लाई दास–कमइयाँ बनाको पर्भाउलाई इण्डेनहर्ले अज्जै पनि आफ्नु देशको राष्टताभन्दा पुजनीए मान्छन् । उँधेरु जे पनि राम्रो वा फस्किलास भन्नुपर्दा ‘अङ्रेजी’ भन्छन् । अङ्रेजी भनेसि उधुम राम्रो भन्र बुज्छन् उँधेरु— लु हेर त कस्तो राम्रो, कस्तो कट्टर इण्डेनता ?”

यति भनेर मेरो प्रतिक्रिया मागे जस्तो उनले मतिर आँखा तिखारे । मैले जिज्ञासा राखेँ— “अंग्रेजी भनेपछि राम्रो, असल, उत्तम बुझ्छन अरे उनीहरु ? हो र दाइ ? जस्तै ?”

उनले भने— “अनि होइन त ? जस्तै– राम्रो खाले रक्सीलाई अङरेजी सराब, राम्रो औषदि पाइने दोगानलाई अङरेजी दबाखाना, राम्रो पाठशालालाई अङरेजी इस्कुल, चिटिक्क परेको बिल्डिङ घरमा चल्ने नयाँ सेनिमा होललाई अङरेजी सेलिमा हउल, इण्डेको राम्रो खाले सुती धागाको घरेलु कपडालाई समेत उँधेरु अङरेजी खद्दर भन्छन् क्या । तेसो भा हुनाले नै इण्डे देश सम्बिर्द भको हो । मेरो तात्पर्जे के हो भन्लाउ भने हामीले पनि इण्डेका भइया–भइयानी टनाटन भर्दिँदै गका परिपेच्छेमा उनका समस्कीर्ति, समस्कार, धरम–करमका तउरतडिका सप्पैको पर्भाउ हाम्रो देशमा लागू गर्दै ग’नउँ भने हाम्रो देश भुत्रो पनि सम्बिर्द हुँदैन क्या । इण्डेनले अङरेजलाई आफ्ना कुलगुरु पितृ माने झैं हामीले इण्डेनलाई नमान्ने त कुरै नट् नि हओ, कुरै नट् ।”

उनी भन्दै गए— “तेस्सैकारन मैले छइट परबलाई आफ्नु सब्से भामट ठूलो बडादिन मानेर दारी–जुँगा तखउरिन थाल्या हूँ । मैले पेशो च्यान्ज गर्ने इस्टमेटमा मेरो माइनलाई थिर गराउन पनि तेइ परबदेखुन् थाल्या हूँ । इ दारी–जुँगाका भुत्ला र कपालको केशका भुत्ला अलि लामा भउन्जेल मैले पेशो च्यान्ज गर्ने इस्टमेट गरेको पनि कस्सैलाई भन्दै भनिन र मेरो भेष पनि अस्ति हाम्रो नेकपकाको मन्त्रीमन्नलहल्का च्यान्ज भको मुङसिर चार गतेको शुबसाइतबड मात्तै परारम्ब गर्या हूँ । मेरो कपालको केश पढ्के, डाँडो खेतमा पानी नपा’र जुम्सिया बाली जस्तो भए नि बढ्दैछ । यो कपालको केश लट्टा पर्ने जति लामो भएसि म नयाँ पेशोका लागि होल–टोट्टल भेष च्यान्ज गर्छु । अ‍ैले अलेली मात्तै च्यान्जिङ गर्दैछु । अब हट्टा–दश दिन वाद त सप्पै च्यान्ज भको देखन पाउँछउ तपइँले ।”

मैले मनेको कुत्कुती दबाउँदै सोधेँ— “नदाइले कुन नयाँ पेशा अँगाल्ने इष्टीमेट गर्नुभएको हो नि ?”
उनले मुख मिठ्याउँदै कैरन लाए— “अब म धर्मको बेपार–बिख्नेस गर्ने साजा समस्थाबड राइज गर्ने इस्टमेटमा बजरठिङगा भइसक्या छु । यो मैले साभिकदेखुन् गरिल्याको कम्रेटी पोल्टिस्यान गर्दै पत्रकार गर्ने पेशोमा नपोसाउने लच्छिन पाएसि बिना लगनी–बिना इनभेसमेन हातलागी हुने पेशो तेइ देखें । कम्रटीमा जैल्यै सेकिनको सेकिन साला ! जति चानस अन्भरिए नि माथि–माथिकालाई डानस गर्न पुग्दैन । तल झर्ला र म पनि केइ खाउँला भन्र एत्तिका ट्यामसम्म पर्खें, झरोस् त थुक्क ! एता पत्रकार गरेर झारिखाने मेलो पनि मेची खोलाँ उता उत्रो सिमन्टीको पूल, आर्कातिर आर्को बाँसे पूल…र मुख–मुखमा परहरी, ससश्र र लाइन हसुर्ने पानीगुण्डाहेरु स्याउँस्याउती, सिण्डिकेट–फिण्डिकेटका सेटिङ–उटिङ, हाबीजाबी बादा–बेबदान…वाक्क ! पैला–पैला पो पोके–झोले ब्लेक्या–ब्लेक्नीहेरु बगर–बगरै स्याउँस्याउँती हिन्थे र ठाम–ठाममै पत्रकार गरेर अभर पार्न पाइँथ्यो । कुछ–कुछ हातलागी भइरहन्थ्यो । अ‍ैले त निमिट्यान्न ! त्येस्यामालाने साला ! अन्तखेरि पेशो नच्यान्ज गरी भो त ? कैले–कैले हुने अलेली इनकमले कैलु बेहारीको भट्टी हुटेलमा निएमित साँजमद्दे तेस साँजको खोयाबिर्केलाई तिर्नै टुमटुम् ! इण्डेन भइया–भइयानीले भन्ने गर्या झैं अङ्रेजी सराब मुखमा पिटिस्सै नपर्या पनि जुगै भइसकेको अनि क्यार्नी त ?”…

उनी भन्दै गए— “हाम्रा देउता–देउती माने भग्बान–भग्बानीका नाम एउडा माभारतमा नअँटाउने छइँछन् । रुद्री पाठ गर्न र आतेपातेमा च्याम्पेन आप्mनै संगतका रामनाम बाजे पनि छइँछन् । उनकै छोरी मनकुमारी, धराने बुलु सेनिमाकी हिरोनी भ’र ख्याक, मान्छे फकाउन र फँसाउन टप एस्पीरेन छइँछे । पर्साद–उर्सातका लड्डु–बुन्याहेरु भट्टी हुटेले कैलुले जिम्मा लिइहाल्छ । सरसयोग गर्नेमा मुसीको आमा उसका बन्दबस्तका सेठ–साउबड फुर्सुत भका ट्याममा मैले बोलाएसि खुरुक्क आइदिने बानी लागेकै छे । रामदुलारी पनि धान थन्क्याएसि उसको देश बरुनी बेहारको भइँसाटोबड सालिन्ने भद्रपुर, चन्द्रडी, बिर्तामोठ चर्न तीनचार मैनाका लागि ढुक्कै आउने गरेकै छे ।

तेसले याँ आका ट्याममा मेरा घरमै अड्डा जमा’र चरन खोज्ने न हो । एसरी इस्टमेट मिला’र म, रामनाम बाजे र कैलुको मेन पाटनरसीपमा चल्ने धर्मको बिस्नेस के कारन नचल्ला त ? मुसीकी आमा, मनकुमारी र रामदुलारी ति–तिनोडी जनसन्पर्क आदिकिर्त राखेसि नचल्ने त कुरै नट् । काँ–काँ सर्खारी बजेटको बन्दबस्तबड सर्खारी मान्छे र बिदेशी क्याँटबाला समेत भिडेर थापेका अजङको पुराना उत्सौबड कडोरउँ काँचा रुप्पे, हज्जारउँ मुरी धान, हज्जारउँ पाथी चामल कलेक भको पर्गतिशील खबरको न्यूच एफेमले फलाकिराख्या छ, छापाले उठाइराखेका छन् । ठूल्ठूलो इन्कमदार पुरान थाप्ने एभ्रटाइच एफेमहर्ले खुरन्दार भनिराख्या छन् । हम्रो लच्छे तेस्तो होलसेलहोइन, खुजुरा दोगान जस्तै मात्तै हो । गणेश चतुर्थीमा गणेश भक्तिको उजाति थाप्ने, किस्न अस्टमीमा किस्नभक्तिको उजाति थाप्ने भन्या जस्तै शिबभक्तिको, भगौतीभक्तिको, लछिमी–ससोर्तीभक्तिको ट्याम–ट्याममा उजाति थाप्ने हाम्रो पलान इस्टमेट फिस्क भइसक्या छ । भग्बान–भग्बान्नीका नाममा उजाति थाप्ने चानस हाम्रो धर्मको जत्ति भनो तेत्ति किर्पा गरेकै छ । उजाति थाप्ने चानस नपर्या बखत उजाति थाप्या ट्याममा चिनाजाना–इन्टोडुस भका मनकारीका घराँ अलख जगाउँदै हिन्ने बाटो पनि तेससि टाफिक किल्लेर, होइन्त ?”

म फेरि एकखेप सिलिङतिरका माकुराका जाल र घरमा तानेको टेलिफानेको तार समेत हल्लिने आवाज निकालेर हाँसें र हाँस्तै जिज्ञासा राखें— “त्यो ‘उजाति थाप्ने’ भनेको चाहिँ के थाप्ने भन्या नि ?”
उनी अलिक असहजभए र नरम बोलीले भने— “इण्डेको एउडा हिन्दी सेनिमा मैले कैलुकी साली ह्यालिनलाई सिल्गडी टुरिङ गराउन लगेका बेला, सारै मुन परे र, तीन खेप हेरेका बेलादेखुन् मैले यो ट्याउटिस् सिक्या हूँ केरे । तो सेनिमाको नाम ‘ओ माइ गड’ हो । तेस सेनिमामा खेल्नेमद्दे एउडा हिरो परेस राओलले कमालै गर्या छन् । उनले भग्बानको बिरोदमा अदलतमा भष्टचारको मुद्दा हाल्ने जस्तो ख्याल आँट्टिलो काम गर्या कथा–इस्टोरीले सो–उक्त सेनिमा कम टेसिलो छैन ।

ती परस राओलले गणेशको मन्दिरलाई ‘गणेशकी दुकान’ भन्र भन्या छन् । यो भनेको गणेश भग्बानको पसल जाँ चइँ गणेशको बरदान किन्न पाइँछ भन्न खोज्या हो— धेरै पैसा चढायो धेरै बरदान, थोरै पैसा थोरै बरदान हो भन्ने मिलाएर बुज न हउ तपइँ । मैले चइँ तेसरी धर्म बेच्ने दोगान थाप्ने भन्न मुख नलागेर ‘उजाति थाप्ने’ भन्या हूँ । बास्तउमा मैले पनि सो–उक्त सेनिमाका परेस राओलबड सिकेर फलानु–फलानु भग्बान–भग्बान्नीको दोकान थाप्ने नै भन्न चाएको हूँ । हुन त, भन्न चइँ मरेकाटे तेसो भन्दैनन् तर गर्न चइँ तेसै न गर्दैछन् सप्पैले । र, मैले खुजुरा दोगान थाप्ता के चइँ नाप्पिएला त हँ यो हाम्रो बौमतको नेपकाको डाइरेक अन्डरमा रएको सङगीए लोतान्तिक गनतन्त्रको सर्खारको सै–सै बिसै–बिसै चलेका ट्याममा हँ ? …र, अ‍ैले म छुट्टिन्छु पनि । याँ धेर बसिराख्ता तपइँले मलाई मेरा मुखाड अनेकथोक बमी गराउने अब चइँ डाउटिङ भो मलाई ।”…

— भन्दै उनी धडाधड बाटो लो । र, मैले मनमनै भनेँ— “यी गाँथलीको बाऊ अब साँच्चै धर्मको बिजिनेसतिर लाग्लान् त ? कि बहुलाउन शुरु गर्या हुन् हँ ?”…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here