झापा।

इलामको सूर्योदय नगरपालिकामा शनिबारबाट प्रथम सूर्योदय महोत्सव शुरु भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै प्रमुख गन्तव्य मानिएको यस नगरपालिकामा पहिलोपटक आयोजना गरिएको महोत्सव मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
यसैबीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताएका छन् । ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुने बताए ।
मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गरे । सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उनले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताए ।
पर्यटकलाई विभिन्न क्षेत्रमा भ्रमण तथा खान र बस्नका लागि सहज होस् भनी ‘टोल–फ्री’मार्फत जानकारी गराउने उद्देश्यले कल सेन्टरको स्थापना गरिएको छ । ट्रोल–फ्री सञ्चालन गरिसकेपछि नगरभित्र रहेका सबै होटल, घरवासबारे सूचना दिने गरी नगरपालिकाले कल सेन्टरको व्यवस्था गरेको नगरपालिकाका प्रमुख राईले बताए ।
महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसिमित क्रियाशील छन् । महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटक आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकले आवतजावत गर्ने अनुमान गरिएको नगर प्रमुख राईले बताए ।
महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर, करफोकलगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा सङ्ग्रहालय अवलोकन, देउराली पदयात्रा, साइकल दौड, फोटो प्रदर्शनी, मौलिक र जैविक परिकारसहितको खाना महोत्सव, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौंन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।
कन्याममा चियाको राजधानीसमेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारीसहित पर्यटकलाई जैविक चियाको स्वाद चखाउने कार्यक्रम रहेको छ । महोत्सवको पहिलो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उद्घाटन गरिएको हो । पर्यटकलाई खाना र बस्नका लागि नगरभरिका होटल, रेस्टुरेन्ट, घरवासमा व्यवस्थापन गरिएको छ ।
महोत्सवका लागि नगरपालिकाले २५ लाख रुपैंया विनियोजन गरेको छ । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थान यसै नगरमा पर्दछन् । उद्घाटनमा विभिन्न साँस्कृतिक झाँकिहरु समेत प्रस्तुत गरिएको थियो ।





























