भद्रपुर।

कुनै समय थियो, झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको निर्वाचन नजिकिएको चर्चा भएसँगै जिल्लाभरका व्यवसायी र उद्योगीको ध्यानकेन्द्रीत हुन्थ्यो । उद्योगी व्यवसायी आ–आफ्ना प्यानल खडा गरी अधिवेशनको मिति घोषणा भएकै दिनदेखि भोट माग्ने कसरतमा जुट्थे ।
त्यसबेला मेचीनगर र दमकबाहेक जिल्लाभर गठित उद्योग वाणिज्य संघ झापा उद्योग वाणिज्य संघ अन्तर्गत थिए । देश संघीय पुनर्संरचनामा गयो । पुनर्संरचनामा गएपछि स्थानीय तहमा रहेका उद्योग वाणिज्य संघ शाखाहरू बिर्तामोड, चारआली, अर्जुनधारा, सुरुङ्गा, शिवसताक्षी, गौरीगञ्ज, पृथ्वीनगर लगायत जिल्ला संघबाट अलग्गिए । यी शाखाहरू आफैंमा स्वाधीन भएपछि यस वर्षदेखि जिल्ला संघको चुनावी सरगर्मी सेलाउँदै गएको हो ।
जिल्ला संघमा हाल भद्रपुरसहित कमल, बुद्धशान्ति र तोपगाछी शाखा रहेका छन् । आगामी वर्षदेखि यी तीनै शाखा पनि अलग्गिन्छन् । शाखाहरू छुट्टिन थालेपछि चुनावी चहलपहलमा कमी हुन थालेको व्यवसायीहरू बताउँछन् । यता झापा उद्योग वाणिज्य संघको २३औँ अधिवेशनले तीन वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया शुरु भइसकेको छ ।
त्रिपक्षीय भिडन्तको सम्भावना
झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिको मंसीर २० गते हुने निर्वाचन प्रक्रियाबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, एशोसिएट– वस्तुगत उपाध्यक्ष, महासचिव, उद्योग सचिव, कोषाध्यक्ष, पाँच खुल्ला सदस्य, तीन महिला सदस्य र जिल्ला कार्यालयबाट प्रत्यक्ष रूपमा सदस्यता लिएकाहरुमध्येबाट सात जनाको निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ । संघको निर्वाचनमा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ । हाल जिल्ला कार्य समितिका पदाधिकारीमा रहेका व्यक्तिबाटै नेतृत्व लिने योजना बनिरहेको अवस्थामा पार्टीगत पहल र दबाबले त्रिपक्षीय भिडन्तको सम्भावना बढेर गएको हो ।
जिल्ला संघको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपाले आआफ्नो मान्छेलाई अध्यक्ष पदमा उठाउन खोजेको पार्टी स्रोतले जनाएको छ । हाल संघको अध्यक्ष नवराज पनेरु (राजु) रहेका छन् । पनेरु राप्रपाका क्षेत्रीय अध्यक्ष पनि हुन् । उनी पुनः संघको नेतृत्व सम्हाल्ने मनसायका साथ अघि बढेका छन् । पनेरु राप्रपा भएकोले नेकपा र कांग्रेस अध्यक्ष पदमा उम्मेदवार उठाउन कसरतमा जुटेका छन् ।
नेकपाले अध्यक्ष पदका लागि हाल संघका वरिष्ठ उपाध्यक्षमा रहेका कालीचरण बस्नेतलाई अघि सार्न खोजेको छ । कांग्रेसले गोविन्द पौड्याल, अजय साहेवाला र पंकजकुमार शर्मामध्ये एक जनालाई जसरी पनि अध्यक्षमा उठाउने कसरत् गरिरहेको पार्टी स्रोतको दाबी छ । हाल संघमा पौड्याल जिल्ला सदस्य, साहेवाला उद्योग सचिव र शर्मा महासचिव पदमा छन् ।
सर्वसम्मतको तयारीमा संघका पदाधिकारी
हाल संघको जिल्ला कार्य समिति पदमा बसेको पदाधिकारीहरू निर्वाचन भन्दा पनि सर्वसम्मत नेतृत्व चयनमा जुटेका छन् । नवराज पनेरुलाई अध्यक्ष पद दिएर अन्य पदहरू हालका पदाधिकारीहरू तलमाथि बसेर सर्वसम्मत बनाउने चाहनामा रहेको बुझिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पनेरुले भने– ‘सर्वसम्मत निर्णयबाट पदाधिकारी चयन हुन्छ भने म पछि हट्न तयारी छु ।’
‘मलाई अध्यक्ष राखेर साथीहरूले सर्वसम्मत समिति बनाउन चाहे त्यसको लागि पनि तयार छु’– उनले भने । त्यस्तै वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले भने– ‘साथीहरू जे चाहन्छन्, त्यसका लागि म तयार छु ।’ ‘अध्यक्षमा पद दिए पनि ठीकै छ, नदिएर सर्वसम्मत समिति बनाउँछन् भने पनि ठीकै छ’– उनले भने ।’ त्यस्तै महासचिव पंकजकुमार शर्मा महासचिव पद दोहो¥याउने मनसायमा छन् । सर्वसम्मत भए महासचिव पदमै उठ्ने उनले बताए । सर्वसम्मत वा निर्वाचन भए महासचिव पदमा सन्तोष धमलाको पनि दाबी छ । उद्योग सचिव अजय साहेवालाले भने– ‘निर्वाचन गराउनुभन्दा सर्वसम्मत नेतृत्व चयन गर्न हामी लागी परेका छौं ।’
नेतृत्व छान्न दुई चरणमा मतदान
झापा उद्योग वाणिज्य संघको २३औँ अधिवेशनको शुक्रवार उद्घाटन कार्यक्रम सम्पन्न भइसकेको छ । उद्घाटन र बन्द सत्र कार्यक्रम सम्पन्न भएपछि शनिवारदेखि पहिलो चरणको निर्वाचन प्रक्रिया शुरु भएको छ । पहिलो चरणको निर्वाचन प्रक्रियामा भद्रपुर नगरभित्रका उद्योगी–व्यवासीले मतदान गर्नेछन् ।
संघको विधानको परिच्छेद १८को दफा ४३ को उपदफा ५को जिल्ला निर्वाचनको मतदाता सम्बन्धी व्यवस्था बमोजिम जिल्ला कार्यालयमा सदस्यता लिएका मध्येबाट १० जना बराबर एक जना छनौट गरिनेछ । शनिवार जिल्ला संघको निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरिसकेको छ । निर्वाचन समितिले ३७२ जना सदस्यहरूको नामावली प्रकाशन गरेको छ । संघको जिल्ला कार्य समिति छान्ने निर्वाचन प्रक्रिया मंसीर १७ गतेदेखि २० गतेसम्म हुने जनाइएको छ ।
सदस्यता लिनेको संख्या नै घट्यो
संघको अघिल्लो निर्वाचनमा जिल्ला कार्यालयबाट सदस्यता लिएका सदस्यको संख्या ६११ जना थियो । जसबाट ६१ जना सभासदमा उम्मेदवार भएका थिए । यसबर्ष ३७२ जनाले मात्र सदस्यता नवीकरण गराएको जनाइएको छ । जसमध्येबाट ३७ जना सभासद पदमा उम्मेदवारी दिन सक्छन् । २३९ जना सदस्यले नवीकरण नगराउँदा २४ जना सभासद पदमा उठ्नेले इच्छा मार्नुपर्छ । भद्रपुरका व्यापारी र उद्योगीले प्रत्यक्ष रूपमा मतदान गरी अध्यक्ष लगायतका पदाधिकारीलाई भोट हाल्न नपाउँदा २३९ जनाले सदस्यता नवीकरण नगराएको भद्रपुरका व्यवसायी बताउँछन् ।
‘संघमा सदस्यता नवीकरण गराउँदा वार्षिक रूपमा पाँच सय रुपैयाँ खर्च हुन्छ, अनि भोट हाल्ने बेलामा अध्यक्ष चुन्न पाइँदैन, अनि किन नवीकरण गराउनु त ?– एक व्यवसायीले भने । अघिल्लो निर्वाचनमा भद्रपुरका ६१ जना सभासद्मा निर्वाचित भएका थिए, तर उनीहरुलाई एउटा पनि बैठकमा जिल्ला कार्य समितिले नबोलाएको गुनासो छ ।
‘ठूला व्यापारीका लागि मात्र बोल्ने जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूले भद्रपुरका साना व्यापारीको हकहितका लागि कहिले केही गरेनन्’– एक व्यवसायी आक्रोश पोख्दै भने– ‘भोट हाल्न मात्र संघको सदस्यता लिनुपर्ने हो भने त्यस्तो सदस्यता हामीलाई चाहिँदैन ।’ भद्रपुरको बजार भारतको गलगलिया बजार सर्न थालिसकेको छ, यहाँका व्यापारीलाई कसरी टिकाउने भन्ने बारेमा अहिलेसम्म संघले चासो नदेखाएको उनीहरुले गुनासो गरे ।





























