विवाह पञ्चमीको सन्देश

0
551

आज विवाह पञ्चमी । यही दिन अयोध्याका राजकुमार रामचन्द्रले स्वयम्बर हेर्न आएका बखत जनक नन्दिनी जानकी अर्थात् सीतासँग विवाह गुर्न परेको थियो । वैदिक सनातनी परम्परामा रामचन्द्रलाई त्रेतायुगका सर्वाधिक ठूला व्यक्तित्वका रुपमा लिइएको छ । वर्तमानमा भारत उत्तर प्रदेशमा रहेको अयोध्या राजा दशरथको देश थियो । मार्ग शुक्ल पञ्चमी अर्थात् यही दिन राजा जनकको वाचा अनुसार छोरोको स्वयम्वरका लागि देश–देशबाट राजा–राजकुमार जनकपुरमा आमन्त्रिक थिए । शिव धनु उठाउनेलाई छोरी दिने कबोल गरेका जनक कसैले उठाउन नसक्दा निराश भएको अवस्थामा राजकुमार रामले धनु उठाउने मात्र होइन ‘ताँदो’ समेत चढाउन तयार थिए ।

त्रेतायुगमा मात्र होइन आज पनि राम सीताको कथा वैदिक हिन्दू संस्कृतिमा अत्यन्त श्रद्धापूर्वक पढिन्छ र सुनिन्छ । त्रेतायुगको मुख्य ग्रन्थ रामायणमा राम सीताको चरित्र, गाथा र जीवनीलाई आदर्शका रुपमा लिइन्छ । देवी सीतालाई भूमिपुत्री भनिएकोछ । त्यही ग्रन्थमा राजा जनक स्वयम्ले हलो जोत्दा सीताको जन्म भएको उल्लेख भएकाले उनी भूमिपुत्रीका रुपमा समेत पुजिएकी हुन् । त्यही कारण अद्भूत र तिलस्मी जस्तै लाग्ने रामसीताको जन्म कथा र जीवन हिन्दू धर्मावलम्वीहरुका लागि अत्युच्च र प्रेरणाको स्रोत बनिएको छ । हिन्दू नारीले सीताको सादा जीवन, त्याग, समर्पण, सहनशीलता, करुणा, पतिभक्ति र आदर्श छोरीको गुण ग्रहण गर्नुपर्ने भनिने गरेको छ ।

अहिले प्राचीन शहर मिथिला आजको जनकपुर बेहुली झैं सिगारिएको छ। अयोध्याबाट बेहुलासहितको जन्तीको लस्कर जनकपुरमा आएर विवाहको रमझममा हराएको छ । त्रेतायुगको कथा भनिए पनि आज पर्यन्त उही मान्यता र विश्वासमा प्रत्येक मार्ग पञ्चमीका दिन सीता–रामको विवाह धुमधामका साथ गर्ने गरिएको छ। यतिबेला जनकपुर बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगानमा रमेको छ। टाढा–टाढाबाट विवाह हेर्न हजारौं जग्गा भएका छन् र जनकपुर मानिसको घुइँचोले छोपिएको छ । पौराणिककालको महाविवाहोत्सवको सम्झनामा मनाइने विवाह पञ्चमी केवल जनकपुरको मात्र होइन सम्पूर्ण हिन्दू धर्मलम्वीहरुको पवित्र पर्व हो । भारतकी महारानी वृषभानुले नौ लाख रुपैयाँ खर्च गरेर बनाइएको भनिने रामजानकी मन्दिर परिसरमा मनाइने यो उत्सवलाई जनकपुरबासीले त्यही श्रद्धा, निष्ठा र उत्साहले मनाइरहेका छन् ।

आदर्श पत्नी, नारी र देवीका रुपमा पूजा गरिँदै आएकी जनकपुत्री जानकीको यो गाथा विश्वभर छरिएर रहेका हिन्दूहरुका माझ त्यत्तिकै प्रचलित छ । महर्षि वाल्मीकीले भूत, वर्तमान र भविष्य समेटेर भगवान रामकोकथाका रुपमा रचना गरेको रामायण आजपर्यन्त हिन्दूहरुका लागि आदर्श ग्रन्थका रुपमारहेको छ । यसभित्र देवी सीताको जीवनको आरोह–अवरोहमात्र छैन खलपात्रका रुपमा रहेका रावणको जीवन पनि छ । सेवा र साधनाले रत्नाकर डाकाबाट महर्षि वाल्मीकिमा रुपान्तरित भएको प्रसंग पनि रामायणसँग जोडिएको अर्को प्रेरक कथा हो । यी सबै कारणले मानव सभ्यतामै महत्वपूर्ण योग दिने राम–सीताको कथा र जीवन जोडिएको जनकपुरको माटोले अहिले विवादमा रहेको भारतकाबीच हार्दिक सम्बन्ध जोड्न सकोस् । विवाह पञ्चमीको अवसरमा सबैमा हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here