वातावरणमैत्री गाउँमा चिस्यान केन्द्र निर्माण

0
702

दमौली,

मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँको रुपमा छनोट भएको जिल्लाको भिमाद नगरपालिका–९ सखेपमा चिस्यान केन्द्र निर्माण गरिएको छ ।

गाउँमा उत्पादन भएका कृषिजन्य सामग्री सुरक्षित रुपमा भण्डारण गर्नका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १३ लाख ३७ हजार, भिमाद नगरपालिकाको रु ९६ हजार र स्थानीयवासीको श्रमदान गरी रु १८ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको मुख्यमन्त्री नमूना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार गाउँमा उत्पादित सुन्तला, तरकारी, अदुवालगायतका कृषिजन्य सामग्री सुरक्षित रुपमा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र निर्माण भएसँगै यहाँका कृषकहरु हर्षित भएका छन् ।

यहाँ वार्षिक करोडौँ मूल्यबराबरको सुन्तला उत्पादन हुने गरेको र उक्त सुन्तला चिस्यान केन्द्रमा भण्डारण गरेर बेमौसममा पनि बिक्री गर्न सकिने भएपछि कृषकलाई सहज हुने भएको वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । “चिस्यान केन्द्र निर्माणपछि किसानले बेमौसममा सुन्तला बिक्री गरी दोब्बर आम्दानी लिन सक्छन्,” थापाले भन्नुभयो, “अदुवा, पिँडालु, आलुलगायतका कृषिजन्य सामग्रीको बीउ संरक्षण गर्न पनि चिस्यान केन्द्रको आवश्यकता खड्किएको थियो ।”

सोही ठाउँस्थित शेरावेंशी आमा समूहका अध्यक्ष सुकमाया थापाले चिस्यान केन्द्र निर्माणपछि आलु उत्पादन गर्ने कृषकलाई राहत मिलेको जानकारी दिनुभयो । आमा समूहले गत वर्ष सामूहिक रुपमा उत्पादन गरेको आलु कम मूल्यमा बिक्री गर्नुपरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कुहिने डरले किलोको रु २० मा आलु बिक्री गर्न बाध्य भयौँ, चिस्यान केन्द्रमा राखेर पछि बिक्री गर्न पाएको भए राम्रै आम्दानी हुने थियो ।” चिस्यान केन्द्र निर्माणसँगै यो वर्ष भने आलुको राम्रै मूल्य पाउने आशा गरिएको छ ।

“चिस्यान केन्द्रमा राखेर बेमौसममा बिक्री गर्दा राम्रै नाफा लिन सकिन्छ,” थापाले भन्नुभयो । भिमाद नगरपालिका–९ कै असपाङ्दीका सुन्तला कृषक धनकुमारी आलेले यसअघि चिस्यान केन्द्र नहुँदा कम मूल्यमा नै सुन्तला बिक्री गर्नुपरेको गुनासो गर्नुभयो ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनोट भएको यस गाउँमा गण्डकी प्रदेश सरकारले गत वर्ष रु २५ लाख सहयोग गरेको थियो । उक्त रकमबाट घाँसको बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधारलगायतका काम सम्पन्न भएको बताइएको छ । यहाँका १६१ घरधुरी नमुना कृषि गाउँमा आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here