झापा।
बलात्कारको झुटो आरोप लगाएको भन्दै दुई महिला जेल चलान भएका छन् । जिल्ला अदालत कैलालीले जबरजस्ती करणी (बलात्कार)को झुटो आरोप लगाउने दुई महिलालाई जेल चलान गरेको हो ।
झुटो मुद्दा लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले दुई महिलालाई जेल चलान गरेको हो ।
जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो । कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई एक महिना कैद सजाय सुनाइएको छ ।
यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई दुई महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।
पछिल्लो समय झुटो आरोप लगाउदै पुरुषको बदनाम गर्ने तथा उनीहरुलाई बलात्कार गरेको अभियोग लगाउने क्रम बढ्दै गएको गुनासो बढ्न थालेको छ ।































