सहनशिल महिलाको १०औं सभा सम्पन्न

0
643

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षता र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष सविता लिम्बूले गरेकी थिइन् ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन व्यवस्थापक पम्फा विश्वकर्माले र लेखा समितिको प्रतिवेदन समितिकी संयोजक पुनम सुवेदीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार कुल शेयर पूँजी ५० लाख ८१ हजार आठ सय रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्ष ०७५÷०७६मा तीन करोड तीन लाख २८ हजार ६१ रुपैयाँ बचत संकलन गरि दुई करोड ६० लाख ८५ हजार दुई सय ८४ रुपैयाँ फिर्ता गरेको छ ।

त्यसैगरी सोही आर्थिक वर्षमा तीन करोड १९ लाख ३६ हजार छ सय ६१ रुपैयाँ ऋण लगानी गरि दुई करोड ३२ लाख ८० हजार पाँच सय ३६ रुपैयाँ असुली गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा असल ऋणीतर्फ इन्दिरा थापा पोर्तेल र पार्वती शर्मा, उत्कृष्ट बाल बचततर्फ मामुन्नी राजवंशी र रीना खड्का, उत्कृष्ट ऐच्छिक बचततर्फ रोशनी विश्वकर्मा र सकिना खान, उत्कृष्ट मासिक बचततर्फ कुसुम पोखरेल, उत्कृष्ट कर्मचारीतर्फ भुवन पोखरेल, शेयर सदस्यहरुका सन्तानमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थी प्रजिता विश्वकर्मा र सामाजिक व्यक्तित्वतर्फ समितिकी सल्लाहकार मिश्राकुमारी राई रहेका छन् ।

सभामा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतम, नगर सभा सदस्यद्धय खड्गमाया पौड्याली र सुशिला सुवेदी, झापा जिल्ला सहकारी संघका सदस्य टंक बराल, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईं, सल्लाहकार सदस्यहरु जगन्नाथ विश्वकर्मा, बद्रीप्रसाद ओली, भवानीप्रसाद गौतमलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here