दमकको नारायणी सहकारी संस्थाले लाखौ रुपैयाँ निक्षेप फिर्ता गरेन, न्याय खोज्दै पीडितहरु

0
603

दमक,


झापाको दमकमा सञ्चालित अर्को एक सहकारी संस्थाले बचत कर्ताहरुको लाखौं रुपैयाँ बढी रकम फिर्ता नगरेको पाइएको छ ।

नारायणी बचत तथा ऋण सहकारी संस्थाले दमक ६ स्थित घिमिरे मार्केट नजिकैको एक घरमा कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरुको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरु हार गुहार मागिरहेका हुन् ।

सो सहकारीमा आफ्नो, आफ्नी श्रीमति र छोराछोरीका नाममा समेत करीब १३ लाख रुपैयाँ बचत गरेर त्रैमासिक रुपमा ब्याज रकम बुझ्दै आउनु भएका दमक ८ का टिका भट्टराईले पछिल्ला केहि दिनयता बचत रकम फिर्ता लिन खोजेपनि पाउन नसकेको बताउनु भयो । उहाँले बचत रकम फिर्ता दिलाउने निकाय कुन हो र कसरी फिर्ता लिन सकिन्छ ? भन्ने बारेमा आफूलाई जानकारी नहुँदा दिनहुँ कार्यालय सम्म आउने, नगरपालिकाको सहकारी फाँटमा पुग्ने र गुनासो राख्ने बाहेक केहि गर्न नसकेको बताउनु भयो ।

सोही सहकारीमा आफ्ना छोरा छोरीले कमाएर पठाएको १२ लाख रुपैयाँ बचत गरेको बताउने कोहबरा बालुवथान स्थायी घर भएकी सरस्वती घिमिरेले १६ प्रतिशत ब्याज पाउने आशामा राखेको बचत रकम फिर्ता पाउन नसकेको बताउनु भयो । सोही संस्थामा २ लाख रुपैयाँ हाराहारीमा बचत गरेर ब्याज लिँदै आउनु भएका बृद्ध नन्दलाल आचार्यले पनि संस्थामा गरेको बचत रकम फिर्ता पाउन नसकेको गुनासो गर्नुभयो ।

सो सहकारीका करीब १५ जना पीडित बचतकर्ताहरु आज दमक नगरपालिकाको सहकारी शाखामा गएर आफ्नो समस्या सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाइँसंग राखेपछि उहाँले नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर समस्या राख्न सुझाउनु भयो । तर पीडितहरुले नगर प्रमुख रोमनाथ ओली काम विशेषका कारण विराटनगर जानु भएको जानकारी पाएको र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा उहाँँलाई भेट्न नसकेको गुनासो गर्नु भयो ।

नारायणी सहकारीको सञ्चालक समितिका अध्यक्षसहित बहुमत पदाधिकारीहरुलाई बचत कर्ताहरुले भेट्न सकेका छैनन भने दुई जनासंग भेट भएपनि आफूहरुले मात्रै सो रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पाएका छन् ।

निष्कर्ष न्यूजको टिम सो सहकारीको कार्यालयमा पुग्दा कार्यालय भित्र निक्षेप फिर्ता माग्न आउनेहरु मात्रै थिए । कार्यालय खुल्ला रहेपनि कार्यालयका व्यवस्थापक भुपालमान कार्की कार्यालयमा भेटिनु भएन । उहाँले सहकारीमा रहेको समस्या सुल्झाउने प्रयास भईरहेको भन्दै आफू २÷३ दिन यता कार्यालयमा नरहेको र काम विशेषले चन्द्रगढी पुगेको बताउनु भयो । बचत कर्ताहरुले भने व्यवस्थापक कार्कीसंग भेट भएपनि गैह्रजिम्मेवारपूर्ण जवाफ दिने, अल्मलाउने प्रयास मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।-निकर्ष न्यूजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here