झापा उद्योग वाणिज्य संघ: अध्यक्षमा साहेवाला र पनेरु भीड्दै

0
949

भद्रपुर।

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिवबाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा खडकबहादुर लिम्बू, एशोसिएट्स—वस्तुगत उपाध्यक्षमा प्रज्ज्वल राई, बाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पंकजकुमार शर्मा र कोषाध्यक्षमा भाष्कर शर्मा निर्विरोध निर्वाचत भएका हुन् । त्यस्तै कांग्रेस प्यानलबाट महिला सदस्यहरु कमला दुवाडी, शिला तामाङ र सीता ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा राजकुमार राई, गोपीप्रसाद न्यौपाने, भोजराज सेढाई, रमेश श्रेष्ठ र रविशंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार सुरज कसेरा साहले खुल्ला सदस्य पदको मनोनयन फिर्ता लिएपछि राप्रपाका राईसहित खुल्ला सदस्य पाँच जना निर्विरोध निर्वाचित भएका हुन् ।

यी पदहरुमा राप्रपा र नेकपाले सहमति जनाएको कारणले उम्मेदवारी नपर्दा उनीहरु निर्विरोध भएको निर्वाचन समितिका अधिकृत सुरज खत्रीले जानकारी दिए । निर्वाचित हुने पदहरुमा कांग्रेसको वर्चश्व रहेको छ ।

यता तीन बर्षीय कार्यकालको नयाँ नेतृत्व चयनका लागि जिल्ला संघको कार्यालयमा बुधवार भएको उम्मेदवार मनोयन दर्तामा अध्यक्ष, उद्योग सचिव र सात सदस्य पदमा उम्मेदवारी परेको छ ।

कांग्रेसको प्यानलबाट अध्यक्षमा अजय साहेवाला र राप्रपा प्यानलबाट नवराज पनेरुले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । युवा व्यवसायी साहेवाला कांग्रेसका सक्रिय कार्यकर्तासँगै संघका वर्तमान उद्योग सचिव हुन् । संघका वर्तमान अध्यक्षसमेत रहेका पनेरु राप्रपाका क्षेत्रीय सभापति हुन् । त्यस्तै उद्योग सचिवमा कांग्रेस प्यानलबाट सञ्जय श्रेष्ठ र नेकपा प्यानलबाट लक्ष्मण जमरकट्टेलले उम्मेदवारी दिएका छन् । श्रेष्ठ र जमरकट्टेल संघको जिल्ला कार्य समिति सदस्य हुन् ।

शुक्रवार हुने संघको निर्वाचनका लागि उम्मेदवार उठाउने बिषयमा नेकपा र कांग्रेसले संयुक्त प्यानल बनाएर निर्वाचन लडने कसरत गरेका थिए । बुधवार अन्तिम समयमा आएर नेकपाले वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स–वस्तुगत उपाध्यक्ष र सचिव पद दिनुपर्छ भन्ने अडान राखेका थिए । नेकपाले मेजर तीन पदको अडानलाई अस्वीकार गर्दै कांग्रेसले एक्लै निर्वाचन लड्ने योजना बनाएर उम्मेदवारी दर्ता गराएको थियो । कांग्रेसले नेकपालाई महासचिव बाहेक अन्य दुईवटा मेजर पद दिन तयार भएको कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेसले आफ्नै प्यानल बनाएर चुनावमा लड्ने भएपछि नेकपाले राप्रपालाई आन्तरिक रुपमा सघाउने पार्टी स्रोतले जनाएको छ । कांग्रेसले सबै पदमा उम्मेदवार दिएको छ भने राप्रपाले अध्यक्षमा पनेरु, जिल्ला कार्यालयबाट प्रत्यक्ष सदस्यमा निर्वाचित हुने सदस्य पदमा अभिषेक ढुंगानाले उम्मेदवारी दिएका छन् भने नेकपाबाट उद्योग सचिवमा जमरकट्टेलले मात्र उम्मेदवारी दिएका छन् । संघमा १८२ जना मतदाता रहेका छन् ।

वस्तुगततर्फ ३३, एसोसिएट ५, अध्यक्ष, निर्वतमान अध्यक्ष र पूर्वअध्यक्ष गरी ९, बुद्धशान्ति शाखाबाट १७, कमल शाखाबाट १६, गौरीगञ्ज शाखाबाट १७ र जिल्ला कार्यालयबाट सदस्यता लिएका निर्वाचित ३७ जनाले मतदान गर्नेछन् । वस्तुगतको एक भोट बराबर दुई र एशोसिएटको एक भोट बराबर पाँच मत गणना हुने विधानमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here