ओझेलमा पौराणिक महत्वका पर्यटकीय क्षेत्र

0
1184

बिर्तामोड।

महाभारतकालीन इतिहास बोकेका झापामा थुप्रै पर्यटकीय स्थलहरु छन् । तर, सरकारी तबरबाट ध्यान नपुग्दा अझैं पनि अधिकांश पर्यटकीयस्थलको संरक्षण हुनसकेको छैन ।

अर्जुनधारा, बिराटपोखर, किच्चकबध, चिल्लागढ, कृष्णथुम्की, पाण्डवपुर, लुकानी, समयगढ, गौरीया खोला, गंगा–जमुना, कञ्चनगढ, सताक्षीधाम, पातालगंगा, गौरादह पोखरी, कुर्से ढुङ्गो आदि झापामा रहेका महाभारतकालीन इतिहास बोकेका पर्यटकीय क्षेत्र हुन् । तर संघीय, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले पर्यटन क्षेत्रको विकासका लागि ध्यान नपु¥याउँदा झापामा रहेका सबैजसो पर्यटकीय क्षेत्र ओझेलमा छन् ।

पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित संघीय सरकारले सन् २०२०लाई पर्यटन वर्ष घोषणा गरेको छ । पर्यटन वर्ष सन् २०२० आउन केही समय बाँकी रहँदा समेत झापामा पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहले खासै चासो देखाएका छैनन् ।

पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धि हुने पर्यटन व्यवसायीको भनाइ छ । झापामा थुप्रै धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्र भए पनि तिनको उचित विकास हुन नसक्दा पर्यटन क्षेत्रमा सम्भावनामा भएर पनि विकास हुन नसकेको ग्रामीण पर्यटनका क्षेत्रमा काम गर्दै आएका अर्जुन कार्की बताउँछन् ।

महाभारतकालीन इतिहास बोकेका पर्यटकीय क्षेत्र मध्ये अर्जुनधारा र सताक्षीधामको विकासका लागि राज्यले केही लगानी गरे पनि निजी क्षेत्रको सहयोगका कारण यी दुईवटा पर्यटकीय क्षेत्रको विकास भएको छ ।

अर्जुनधारा नगरपालिकामा रहेको अर्जुनधारा मन्दिर र शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधामको विकासका लागि सरकारी तवरबाट भएको सहयोग र स्थानीयको सहभागिताका कारण अन्य पर्यटकीय क्षेत्रको तुलनामा यी क्षेत्रको विकास भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल बताउँछन् । उनी भन्छन् – ‘महाभारतकालीन इतिहास बोकेको अन्य धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेकै भन्न मिल्दैन तर, न्यून सहयोगले तिनीहरुको विकास सम्भव छैन ।’

अर्जुनधारा जलेश्वरधाम पूर्वकै पशुपतिनाथका नामले परिचित छ, त्यसकारण यहाँको विकासका लागि स्थानीयको सहयोग उल्लेख्य रहँदा अर्जुनधारा धामको विकास भएको हो– पोर्तेल भन्छन्– सताक्षीधामको विकासका लागि हामीले भर्खरै सताक्षीधाम मन्दिरमा पनि १०८ कोटीहोम गरेका छौं । प्रचारप्रसारको कमीका कारण ओझेलमा परेका सबै पर्यटकीय क्षेत्रको पहिचान गर्दै अब यस्तै प्रकारले कार्यक्रम गर्दै लान्छौं र ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकास गर्छाैं ।’

स्थानीयतहले पर्यटन क्षेत्रको विकासका लागि थोरै मात्र बजेट छुट्याउने गरेका कारण पनि यहाँको पर्यटकीय क्षेत्रको विकास हुन नसकेको पोर्तेलको भनाइ छ । उनी भन्छन्– समृद्धिका आधार भनेकै पर्यटन क्षेत्रको विकास, कृषिमा आधुनिकीकरण,वाणिज्य क्षेत्रको विकास, उद्योग धन्दा कलकारखानाको विकास र विस्तार हुनु हो । जसका लागि स्थानीय तहले प्राथमिकताका अधारमा दीर्घकालीन सोच बनाएर लगानी गर्नुपर्छ । यसले मात्र लामो समयसम्म प्रतिफल दिन सक्छ ।’

संघीय सरकारको लक्ष्य प्राप्तिका लागि जिल्ला समन्वय समिति झापाले केही दिन भित्रै पर्यटकीय क्षेत्रको विकासका लागि जिल्ला स्तरीय समिति निर्माण गर्दै पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिने पोर्तेलले बताए । उनले भने– ‘भिजन २०२०लाई सफल बनाउन जिल्ला समन्वय समितिले अब झापामा रहेका सबैं पर्यटकीय क्षेत्रको पहिचान गर्दै तिनीहरुको महत्व झल्कने पुस्तक, व्रोसर, पर्चा–पम्प्लेट बनाएर वितरण गर्छ । जसका कारण आएका पर्यटकलाई झापामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गर्न सहज हुन्छ ।’

महाभारतकालीन इतिहास बोकेका झापाका पर्यटकीय क्षेत्रहरु

अर्जुनधारा : अर्जुनधारा नगरपालिकामा रहेको यो धाम पूर्वको पशुपतिनाथका नामले परिचित छ ।

महाभारतकालमा पाण्डवहरु गुप्तवास बसेको समयमा दूर्याेधन लगायतका कौरवहरुले सो स्थान पत्ता लगाई पाण्डवहरूको गुप्तवास भङ्ग गर्न विराट राजाका नौ लाख गाई हरण गरी लगेको गौ हरण यसको अपभ्रंश भई गोरुवा हुँदै गरुवा भएको बताइन्छ । जुन स्थान हाल इलाम जिल्लामा पर्छ ।

हरण गरेर लगेका गाईहरू कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पु¥याएको किम्वदन्ती छ । पाण्डव पक्षका वीर योद्धा बृहन्नला (जो नपुंसक थिए) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरूसँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आराधना गरी जमिनमा पर्जन्य अश्त्र (वाणको माध्यमले पानी निकाल्ने यन्त्र) ले पानी निकालेर गौमातालाई खुवाएको स्थानका रूपमा यस ठाउँलाई लिइन्छ । जुन स्थानमा अहिलेपनि निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो । यस धाममा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ । अर्जुनधारासंगै लुकानी र पाण्डवपुर पनि महाभारतकालीन इतिहास बोकेका ठाउँ हुन् । जहाँ गाई लुकाएको किम्वदन्ती रहेको मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए ।

विराटपोखर : बिर्तामोड नगरपालिकामा पर्ने बिराटपोखर महाभारतकालीन राजा विराटका गाईवस्तुलाई पानी खुवाउन बनाइएको पोखरीका नामले चिनिन्छ । बिर्ताबजारबाट दक्षिण सैनिकमोडदेखि चारपाने क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी भएको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरू विराटपोखर भन्ने गर्दछन् । मुख्य पोखरीको क्षेत्रफल झण्डै एक विगाह रहेको छ । बिर्तामोड नगरपालिकाबाट झण्डै चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी पनि संरक्षणको पर्खाइमा छ ।

कञ्चनगढ : बाह्रदशी गाउँपालिकामा पर्ने यो धार्मिकस्थल पनि महाभारतकालीन इतिहाससँंग जोडिएको छ । द्वापरयुगको कृष्णकालमा विराट राजाले गाईगोठ राखी सुरक्षा गर्ने स्थल बनाएको कारण बाह्रदशी भनिएको हो भन्ने पौराणिक किंवदन्ती छ ।

प्राचीनकालमा यो ठाउँमा सलेश राजाको दरवार थियो । सलेश राजाकी एउटी छोरी थिइन् । छोरीको नाम कञ्चनकुमारी थियो । कञ्चनकुमारी बत्तीस लक्षणले युक्त भएका कारण किचक वंशको एक चुहरमल नामक राजकुमारले अपहरण गरेर लाने विचार ग¥यो । यस्ती सुन्दरी नारीलाई पृथ्वी मार्गबाट लैजाँदा मभन्दा बलवान राक्षसहरुले खोस्लान् भन्ने डरले चुहरमल राजकुमारले जमिन मुनि सुरुङ मार्ग बनाइ हरण गरी लाँदा बिहारको पटना छेउमा निकालेको र यो सुरुङमार्ग बाह्रदशी क्षेत्रबाटै खनेको किम्वदन्ती छ । कञ्चनलाई लगेको यो ठाउँलाई आज पनि ‘कञ्चनगढ’ भनिन्छ । यहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ । यहाँ विभिन्न देवी देवताका मन्दिर निर्माण गरिएका छन् ।

पातालगंगा : पातालगंगालाई पवित्र धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलको रूपमा लिइन्छ । यो मेचीनगर नगरपालिकामा पर्छ । वि.सं. १९९० सालमा भूकम्प जाँदा जमिन फुटेर सेतो पानी आएपछि त्यहाँ गंगाजल निस्किएको मान्यता अनुसार स्थानीय मानिसहरूले पूजाआजा गर्न लागेको बताइन्छ । यसको सम्वन्ध अर्जुनधारासँग रहेको जनश्रुति छ । पातालगंगा छेउमा नै नन्देश्वर शिवालय मन्दिर पनि छ । यहाँ शिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ ।

कृष्णथुम्की : द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको स्थानको रुपमा कृष्ण थुम्कीलाई लिने गरिन्छ । मेचीनगरको बाहुनडाँगीमा रहेको कृष्णथुम्की इलामको नजिकै पर्छ । चुरे भेगको कृष्णथुम्कीतिर श्रीकृष्णले गाई चराएको किंवदन्ती छ । काँकरभिट्टादेखि करिब १३ किलोमिटर उत्तरमा पर्ने कृष्णथुम्की भेगमा लहरै पाँच थुम्काथुम्की छन् । जसलाई पाँच पाण्डव थुम्की पनि भनिन्छ । कृष्णथुम्की एउटा ढिस्को हो, जुन ढिस्कोको टुप्पामा एउटा मन्दिर निर्माण गरिएको छ । मन्दिरभित्र कृष्णका साथमा विभिन्न देवीदेवताका नयाँ र पुराना प्रतिमाका भग्नावशेषहरू रहेका छन् । यसलाई पनि महत्वपूर्ण तीर्थस्थलका रुपमा हेर्ने गरिएको छ ।

यहाँको थुम्कीहरूबाट झापा जिल्लाको अधिकांश क्षेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकिन्छ ।

किच्चकवध : भद्रपुर नगरपालिका–२ र ३ मा पर्ने किच्चकवध महाभारतको कथा अनुसार पाण्डवहरु मत्स्यदेशका राजा बिराटको दरवारमा गुप्तबास बसेको अवस्थामा बिराटका साला एवम् मत्स्यदेशको सेनापति किच्चकले पाण्डवहरूकी धर्मपत्नी द्रौपदीमाथि कुदृष्टि राखेका थिए । त्यही समयमा भीमसेनले चाल पाएर किच्चकको बध गरेको जनश्रुति रहेको छ र त्यस ठाउँलाई किच्चकबध भनिएको हो । किच्चकवध जिल्लाको धार्मिक स्थलहरूमध्येको एक हो । इतिहास बोकेको यस धार्मिकस्थल सरकारी चासो र प्राथमिकतामा पर्न नसक्दा अझै ओझेलमा छ । पुरातत्व विभागले त्यस ठाउँको ०५८÷०५९देखि उत्खनन् थाले पनि अहिलेसम्म पूरा भएको छैन ।

सताक्षीधाम : चुरे पहाडको फेदीमा रहेको इलामको सीमाना जोडिएको यो धाम शिवसताक्षी नगरपालिकामा पर्छ ।

हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनेर सतासीधामलाई लिने गरिन्छ । अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नुपर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहनगएको हो भन्ने जनश्रुति रहिआएको छ ।

यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरूपहरू, भित्तामा रहेका गाईका थुन आकारका शिलाहरू, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्रबाट निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरूले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरू आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् । सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन सतवीज छर्नेको घुइँचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिकस्थलको रूपमा लिइन्छ । यसलाई पाण्डवहरुले यज्ञ गरेको स्थानका रुपमा समेत लिइने गरिन्छ ।

गौरादह पोखरी : झापाको गौरादह नगरपालिका–१मा रहेको गौरादह पोखरीकै नामबाट गौरादहको नाम राखिएको हो । गौरादह नगरपालिकामा भित्र १२ विगाह क्षेत्रफलमा ४ वटा ठूला र केही साना पोखरी छन् ।

जुन पोखरी ऐतिहासिक पोखरी भएको गौरादह नगरपालिका प्रमुख रोहितकुमाार साहले बताए । यहाँ भएका पोखरीका विषयमा जिल्लावासी नै जानकार छैनन् । प्राचीनकालमा यस ठाउँमा खाल्डा रहेको र पाण्डवहरुले गौरी गाई चराउने गरेकाले यसठाउँको नाम अपभ्रंश हुँदै गौरीगञ्ज रहन गएको जनश्रुति छ ।

चिल्लागढ : द्वापर युगमा विराट राजाका गाई वस्तुलाई पानी खुवाउन खनेको पोखरी नै चिल्लागढ पोखरी हो । यो पोखरी शिवसताक्षी नगरपालिकामा पर्छ । पूर्व पश्चिम राजमार्गको कन्काई नदीमाथि रहेको पक्की पुलको दक्षिण–पश्चिम करिब तीन किलोमिटरको चिल्लागढ पोखरी रहेको छ । यो पोखरीको किनारमा मंसीर पूर्णिमाका दिन उधांैली र बैशाख पूर्णिमाका दिन उभांैली पर्व मनाइन्छ । शिवसताक्षी नगरपालिका–९स्थित चिल्लागढ धाम तीन बिगाह क्षेत्रफलमा फैलिएको छ । १४ कट्ठा १० धुर जमिनमा यहाँ ‘यज्ञ कुण्ड’ छ । चिल्लागढ पोखरी पाँच हजार बर्षभन्दा पूरानो धार्मिकस्थल भएको पण्डित दीनानाथ खतिवडाले बताए । गुप्तवास भएको बेला पाण्डवहरूले यज्ञ गरेको स्थान चिल्लागढ नै भएको किम्वदन्ती छ ।

यसैबीच सरकारले मुलुकको पर्यटन प्रर्वद्धन तथा विकासका लागि थप एक सय नयाँ गन्तव्य पहिचान गरेको छ । यी गन्तव्यलाई विकास गरी स्थापित बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि बजेट समेत विनियोजन गर्दै लाने योजना अनुरुप अहिले झापाका पनि केही महाभारतकालीन इतिहास वोकेका पर्यटकीय स्थलको विकास गर्न शुरु गरिएको छ । तर, सोचे अनुरुप झापाका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here