नकुल काजी,
अहिले देशको सर्वाङ्गमा लोकमतले समृद्ध सरकारको लक्ष्य उद्भाषित संकल्प बनी गुञ्जिरहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ वस्तुतः सुन्दर र मृदुल अनुभूति प्रदायक छ । यसको ब्याबहारिक अवतरणको प्रतीक्षामा निहीत भावनात्मक सौन्दर्यको कल्पनाले ‘देशको समृद्धि’ र आफ्नो सुखी जीवन–व्यवहार’– को अभिलाषायुक्त पुस्तैनी तृष्णाले तृषित एवम् देशका प्रति प्राणवत् आत्मनिवेदित भई अनुराग राख्ने नेपाली मन–मस्तिष्कलाई आह्लादित र पुलकित तुल्याएको छ । कुन देशका मूलवासीमा यो आह्लादकारी संकल्प सर्वोपरि स्तुत्य ठहर्दैन अनि त्यस्तो संकल्पले चाँडो व्यावहारिक धरातल टेकोस् भन्ने हतारो हुँदैन होला र ?
तर—
‘नयाँ मुल्लाले दिनमा बाह्र पटक नमाज पढ्छ’ भन्ने भनाइ चङ्ख्याइँ, चतुर्याइँ, चाप्लुसी, चलाकी, चम्चागिरी आदि चकार प्रबिधि साधेर धुत्र्याइँले प्रतिष्ठापित हुन शिपालु चङ्खे–चतुरेहरुमाथि प्रयोग हुने व्यंग्य हो । ‘नयाँ जोगीको बाक्लो खरानी’ उखान पनि सो भनाइको सहधर्मी नै हो । अहिले यी दुबै व्यंग्य–प्रयोगका हकमा नेपाललाई उर्वर तुल्याइएको छ । यसको पुष्टि गर्ने दृष्टान्तहरु बग्रेल्ती पाइन्छन् । तर, देख्ने विवेक स्थलगत यथार्थका प्रति निश्छल र इमानदार चाहिन्छ— जो थोरैमा मात्र पाइने वातावारण पनि उसरी नै बनाइँदै लगिएको छ ।
यसबेला देशको एकाधिपति पार्टीका तल्ला भूँइनेता–अगुवा र भोटर–अविज्ञ समर्थकदेखि राष्ट्रिय नेतृत्वमा पुगेकासम्मले ‘नयाँ मुल्ला’ शैलीमा अटुट ‘समृद्ध नेपाल सुखी नेपाली’ फलाक्ने गरेका छन् । मानों उनीहरु नयाँ मौलवी हुन् र कुरान निर्देशित गन्तीभन्दा बढी नै पटक नमाज पढेर आफ्नो भक्तिको प्रखरता सावित गर्ने प्रतिस्पर्धामा तल्लिन छन् ।
ब्यावहारिक यथार्थ दैनन्दिन झन्–झन् गएगुज्रेको स्थितितिर धकेलिँदै गइरहेको उनीहरुले आँखाभरि देखिरहेका भए पनि ‘राष्ट्रिय संकल्प’–को मखमली बर्को ओडाइएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा अलाप्ता लोकलाजको लवलेश फिक्री भएको कतै देख्न–बुझ्न पाइँदैन । लोकलाज अनुभूत गराउने सम्वैधानिक दायित्वबाहकहरु झिना–मसिनाको त गन्ती नै हुँदैन, तर मूली नेपाली कांग्रेस नै पनि राणाकालको दरवारिया शक्ति खोसाखोसको ऐतिहासिक कथा पुनरावृत्त गरे झैं नेता–मण्डलका विभिन्न थर–गोत्री गुटमा विभक्त भई यदुकुलको भूमिकामा अवतरित भएर अन्तरध्वंशी रमिता बनिरहेको छ । उसलाई आफ्नै भताभुङ्गे खेल–तमाशाबाट फुर्सद छैन । र, उसको यो अवस्था सत्तारुढका लागि थप ‘बाख्रीको पुच्छर काटे केजातिलाई सजिलो’ उखान झैं स्वेच्छातारिता फर्माइ हिंड्न सहज भइरहेको हुन सक्तछ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले सत्तारुढको ६० महिने आयु (?)–को २२ महिना गुजारिसकेको छ । नेपाली मान्छेको औसत आयु ८० वर्ष भए झै हुँदो हो त ६० महिने सत्ताको २२ महिना भनेको मान्छेको उमेरको घटीमा २४ वर्षे लक्का जवान बराबर हो । अर्थात्, यस अर्थमा, ‘समृद्ध नेपाल सुखी नेपाली’–ले यति अवधि (उमेर)–मा लोक–धरातलमा आफ्नो अस्तित्व आकृत गरिसकेको हुनपर्ने हो । तर, त्यसको प्रत्यावर्तित छायासम्मको पनि अहिलेसम्म दुर्भिक्ष नै छ । त्यसो भए अरु के हो वा कहाँ–कसले अल्मल्याइ राखेको छ । त्यो ‘सनेसुने’ (समृद्ध नेपाल सुखी नेपाली)– लाई ? त्यसको अवतरण नेपाली नागरिकको औसत संख्यातिर हुँदैन कि त्यो सत्तारुढ पार्टीवृत्तकै उपयोग–नीतिको छोटकरी (बददचभखष्बतभ) र सांकेतिक शब्द–संयोजन मात्र हो ? रेल, पानी जहाज, ऐप्यासी पार्क र भ्यू टावर, राज्याधिकारका प्रमुखहरुको विलासी निवास–महल र कराासामै हेलिप्याड र विशेष बिमानको बन्दोबस्त आदि–इत्यादिमै सीमित रहने र आम नेपालीको हक–दाबीमा नपर्ने विषय हो त्यो ? अर्थात्, शायद वर्तमान सत्तारुढ पार्टीको समर्थनमापकका रुपमा मात्र उरालिएको नारा मात्र पो हो कि ? उहिले राजतन्त्रकालभरि ‘राजभक्ति’ (जय देश–जय नरेश) नै ‘प्रथम दर्जाको नेपाली’–को मानक थियो ।
त्यस्तै अहिले ‘समृद्ध नेपाल सुखी नेपाली’–को जहाँ–कहीँ उल्लेख हुनु पनि आफ्नो–बिरानो पहिचान गर्ने प्रयोजनको यन्त्र–मन्त्रकै रचनाको सार–संक्षेप पो हो कि ? अन्ततः यथार्थ बस्तुस्थितिविलोम त्यो ‘संकल्प’ नामे नारा सत्ताका पदाधिकारीदेखि भूँइसतहका आशारामहरुसम्मले ठाउँ–कुठाउँ र बेला–कुबेला रट्ने गरेका होलान् ।
सुशासनको कर्णमधुर प्रतिबद्धता ब्याबहारिक अभ्यासमा आउनुको साटो उल्टो भएर दण्डहीनताको सघन छायाँमा छेलिन गएको छ । देशमा सानाभन्दा ठूला अनगिन्ती दण्डनीय घटनाहरु दलीय स्वार्थरक्षाका लागि खलनायकीय प्रबिधिबाट दबाइएका अनेक कथा छन् । बलात्कार, हत्या, जाल–प्रपञ्च, ठगी–कीर्ते, राष्ट्रिय सम्पत्तिको अपचलन आदि बढेर जन–मानसमा असुरक्षा, असहजता र अनिश्चयको मौन कोलाहल क्रमिक विकासोन्मुख अवस्थामा छ ।
राजनीतिक पहूँचवालाहरुको स्वेच्छाचारी राष्ट्रघाती–जनघाती चलखेलको घातक प्रकोप पनि निर्वाध विकसित भइरहेको छ । ‘न्याय’ दलीय भागभण्डामा बल्झिन पुगेको छ । आचार–संहिताको औपचारिकरुपमै अवज्ञा भइरहेको छ । ‘भष्टाचारविरुद्ध शून्य सहनशीलता’–को अर्को सरकारी कुर्लाइले त झन ‘काग कराउँदैछ–पीना सुक्तैछ’ उखानलाई मूत्र्याएर अझ मलजल पुर्याइरहेको छ । घुसखोरी, कमिशनखोरी, घोटालाबाजी, कर–छली, अख्तियार दुरुपयोग आदिका ठूल्ठूला घटनालाई राज्यले नै चल्लाकरण गरी शक्तिको ओथरामा लुकाउने गरेका अनेक दुत्कार्यका उदाहरणले देश विदग्ध भइराखेको अवस्था जम्दै गइरहेको छ । इत्यादि–इत्यादि । तर, सत्ताको ओतमा पुगेका सकल तप्का सकल तहका सकल ‘समृद्ध नेपाल सुखी नेपाली’ नारारुपी नमाज पढेर यथार्थमाथि संगठित थिचोमिचो गरिरहेका छन् । र, उनीहरुलाई ओहदामा पुर्याउने विश्वास अनुकम्पा गर्ने ‘जनता’ भने आफ्ना विश्वासमाथि धोका भएको ठानेर खिन्न छन् तापनि निरुपाय बनेका छन् !
राजधानी महानगरका ठूल्ठूला बजार–मण्डीहरुदेखि मोफसलका गाउँ–देहाती ठूला–साना बजार, पसल, गुद्री बजार–नाङ्ले पसलसम्म ‘खाद्य–सामग्री’ बनेर दीर्घ रोगबद्र्धन सामग्री बिक्री भइरहेका छन् । यो कृषि प्रधान देशको उर्बर भूमि खनजोत गर्ने पाखुरो जनशक्ति एकातिर रेमिट्यान्ससँग विनिमयको शर्तमा विदेशी भूमितिर निकासिइरहेका छन् भने अर्कातिर बाँझो बनेका त्यही उर्बर भूमि ‘प्लटिङको व्यापार’ हुँदै ‘सिमेन्टको जंगल’ बन्ने दुर्भाग्यले कोतर्दैछ । स्वदेशी उत्पादनमा आत्मनिर्भर हुनसक्ने शतप्रतिशत गुञ्जायस हुँदाहुँदै पनि कर्मशील स्वदेशी जनशक्ति रित्तिँदै गइरहेकाले साग–सब्जी, दाल–चामल र तेल–भुटुनमा समेत परनिर्भर हुन परिरहेको छ । एकात्मक राजतन्त्रकालमा राजा–महाराजाले गरेका लहडी मैमत्ते हुकुमी गल्तीलाई नजरअन्दाज गरी विदेशी शक्तिको पुठ कमाउने स्वार्थी दुष्कर्मको निरन्रताबाट पन्पाएको विदेशी बुर्कुसीले देशको भूगोल जताततै चिथोरिएर घाइते भएको छ । यसविरुद्ध देशभर तरङ्गित उल्लोनले राज्यको कानमा मनग्गे बतास लागेको छैन र ऊ समयको आवाज सुनी चटपटाएर ब्यूँझिएको आभाष भइरहेको छैन ।
घरमा आगो लागिसकेपछि निभाउने पानीको प्रयोजनका लागि इनार खन्ने सल्लाह गरे झैं अवस्थामा छ राज्य !
विदेशी फिरङ्गी जनशक्तिको अतिक्रमणले स्वेदशी जनसंख्याको उच्चाइ छोएर चुनौती दिइरहेको अवस्थामा देश । तिनै फिरङ्गीका पञ्जामा अर्थतन्त्र जकडिँदै गएको छ । तिनैले नेपाली मौलिक जातीय संस्कृतिलाई वर्णशंकर बनाउने अनेक टिक्डमबाजी गर्ने मौका मारिरहेका छन् । यो लगभग तीन करोड जनसंख्या भएको देशका लगभग अस्सी लाख वैध–अवैध रुपमा विदेशमा छन्, जसमध्ये अधिकांश सरकारी तजबीजमा गएका हुन् । अहिले पनि वैदेशिक रोजगारीमा जानेहरुको लर्को सम्बन्धित सरकारी अड्डामा बढेको बढ्यै छ । तिनको खाली ठाउँ अनि भर्दैछन् विदेशी फिरङ्गीहरुले ! ती फिरङ्गीका नेपाली कमाइ कति विदेशिँदैछ— हिसाब छैन । अर्कोतर्फ तिनलाई नेपाली बनाउने व्यापार कम मौलाइरहेको छैन भने यही आधार समाएर तिनले देशको सिङ्गो राजनीतिलाई नै धक्का र घच्चीमच्ची दिइरहेका छन् । देशको समृद्धि र देशबासीको सुखलाई यस सन्दर्भमा कसरी व्याख्या गर्ने भन्ने सवाल पनि उत्तिकै प्रखर भइरहेको अवस्था छ अहिले । देशकै अखण्ड अस्तित्व र इतिहासको आदिदेखि नै निष्कलंक अस्मिताका साथै नेपाली जातीय स्वाभिमानको भविष्यलाई नै यस्ता अतिक्रमणहरुले सन्दिग्ध तुल्याइरहेका विश्लेषणहरु बाक्लै भइरहे पनि देशको कानले सुनिरहेको बुझिँदैन । इत्यादि ।
यस्तो अवस्थाले नेपाली व्याबहारिक र भावनात्मक उद्विग्नता बढिरहेका बेला सत्तारुढ पार्टी तप्काका ठूलाबडादेखि मझौला–सानासम्म, उम्रेदेखि खुम्रेसम्म र खासगरी पदमा पुगेका अविज्ञ हैसियत भएकाहरुले समेत ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सत्तारुढ दलले रचना गरेको सर्बश्रेष्ठ गीत बनाइरहेका छन् । यो गीतलाई जनताका माझमा उभिएर सुन्दा कुनै अति दुखिया ज्यामीले आफ्नी स्वास्नीलाई खुशी पार्न ‘…सुनको चुराले नाडी सजाइदिउँला…त्यो तारामात्र होइन जून पनि झारिदिउँला’…बोलको गीत गाइरहे जस्तो प्रतीत हुने गरेको छ । विपन्न, गरिबीग्रस्त, विकासमा पछि परेको र कानूनीहीनताले ग्रस्त, भ्रष्टाचार र लबस्तर्याइँको दलनमा रहेको, दण्डहीनताले त्राहीमाम देशलाई ‘समृद्धि’ र ‘सुख’ शब्दहरु जडित गीतले मात्र समृद्ध बनाउँछ र ? त्यसका लागि खासगरी लोककल्याणकारी योजनाहरु स्थलगतरुपमा अगाडि बढाई जन–जीवनको सरोकारलाई समेट्ने ‘काम’ चाहिँ हुनुपर्दैन र ? यथार्थको यथार्थमा उभिएर यी प्रश्नहरु गर्नसम्म त गर्न पाइँदो हो नि ? र, आजलाई यत्ति नै । शेष फेरि—


























