नमूना बन्दै जुनकिरी

0
613

बिर्तामोड।

बालविकास केन्द्रका रुपमा २०६२ सालदेखि सञ्चालनमा रहेको ‘जुनकिरी’ अहिले आधारभूत विद्यालय बनेको छ । त्यसमाथि पनि अहिले अर्जुनधारा नगरकै नमूना विद्यालयको रुपमा चिनिन्छ ।

२०६५ सालमा विद्यालयको रुपमा दर्ता भएको जुनकिरी अहिले नगरको नमूनासँगै सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा पनि फरकपन दिन सफल भएको छ । स्थानीय दाता इन्दिरा रानामगर, जगतबहादुर मगरले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय स्थापना गरिएको थियो ।

बुट्टाबारी पूर्व, देउनिया खोला र हिले खोलाले घेरेको बस्तीलाई हिजो हेर्ने नजर नै फरक थियो तर अहिले त्यही बस्तीमा विद्यालय स्थापनासँगै त्यहाँका बालबालिकाले गुणस्तरीय शिक्षा पाएपछि गाउँको समेत चिनारी फेरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दो छ । त्यसमा पनि १–५ कक्षामा विद्यार्थी संख्या कम भएकै कारण कतिपय सामुदायिक विद्यालय मर्ज गर्नेे अवस्थामा छन् । केही पालिकाले त विद्यार्थी संख्या न्यून भएकै कारण विद्यालय मर्ज गरे ।

तर, अर्जुनधारा–११मा रहेको जुनकिरी विद्यालयमा विद्यार्थीको संख्या कम नहोस् भन्दै शुरुका दिनमा तीन वटा बालगृह विद्यालयमै सञ्चालन गरियो । सोही बालगृहले समेत विद्यालयको मुहार फेर्न सहयोग पु¥याएको छ । इन्दिरा रानामगरको परिकल्पनामा विद्यालयमा मनमाया आमा बालगृह, गंगा आमा बालगृह र जंगल व्वाइज बाल गृह सञ्चालनमा छन् ।

जहाँ विभिन्न कारणले आमाबुबा जेल परेको र असहाय, अनाथ बालबालिकालाई आवाससहित अध्ययन–अध्यापन गराइन्छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित सो बाल गृहमा अहिले १७ जना विद्यार्थी आवाससहित बसेका छन् । देउनिया वस्तीमा रहेको सो विद्यालयमा बन्दी सहायता नेपालकी संस्थापक मगरले सन् २००५मा अमेरिकाको अशोका फेलोसिप अवार्डबाट प्राप्त रकमले बाल गृह निर्माणसँगै बालबालिकाका लागि आवश्यक रकम प्रदान गरेपछि बाल गृहमा बस्ने विद्यार्थीसहित अहिले हर्षित छन् ।

दाताको सहयोगमा सञ्चालित बाल गृहमा रहेका बालबालिकालाई मगरसहित विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, अध्यक्ष जगतबहादुर मगरसहितका दाताहरुले सहयोग रकम जुटाउँदै आएका छन् । विद्यालयको हातामै रहेको बालगृहमा अहिले ९ छात्रा र ७ छात्र आवाससहित बसेका छन् । उनीहरुको सम्पूर्ण आवश्यकता बिद्यालय र बन्दी सहायता नेपालले प्रदान गर्दै आएको छ । बन्दी सहायता नेपालले सञ्चालन गरेको छोरीका लागि शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई सहयोग पु¥याइँदै आएको छ ।

स्थानीय दाताकै सहयोगमा ३० जना बिद्यार्थी आवाससहित बस्न सक्ने गरी बालगृह निर्माण गरिएको छ । जंगल व्वाइज गार्डन निर्माणका लागि दुई कठ्ठा जमिन खरिद गरिएको र स्थानीय हस्तबहादुर परियारले १० धुर जमिन निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण गरिएको हो, जहाँ कैदीबन्दीका छोराहरु राखिएका छन् । विद्यालयमा अध्ययन गर्ने बालबालिका र बाल गृहमा रहेका सबै बालबालिकालाई अहिले विद्यालयले नैतिक शिक्षासँगै प्राविधिक र व्यवहारिक शिक्षा समेत प्रदान गर्दै आएको छ ।

विद्यालयमै रहेका बालबालिकाले अग्र्यानिक तरकारी खेती, कुखुरा पालन, माछा पालन समेत गरिरहेका छन् । विद्यालयमा अध्ययनरत् बालबालिका मनमाया, गंगा जंगल व्वाइज बालगृहका विद्यार्थी हुन् । कक्षा नर्सरीबाट अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि विद्यालयप्रति अभिभावकको हेर्ने नजर फेरिएको छ । प्राविधिक शिक्षामा समेत जोड दिँदै जुनकिरीमा निजी विद्यालयको भन्दा अब्बल पठन–पाठन हुन थालेपछि अभिभावकको रोजाइ जुनकिरीतर्फ गएको बताइन्छ ।

विद्यालयका प्रधानाध्यापक परियारका अनुसार बन्दी सहायता नेपालद्वारा सञ्चालित बालगृहबाट अहिलेसम्ममा दुई सय तीन जनाले सेवा लिएका छन् । एक सय २१ जना विद्यार्थी अध्ययनरत् जुनकिरीमा अहिले खानेपानी र शौचालयको आवश्यकता रहेको बताइन्छ । आर्सेनिकयुक्त पानीका कारण विद्यार्थीको भविष्यप्रति चिन्ता छ । प्रधानाध्यापक परियारले भने– शुद्ध खानेपानीको व्यवस्थापन गर्न सके अझ सहज हुने थियो ।

जुनकिरी र बन्दी सहायता नेपालको सहकार्यमा विद्यालयको शैक्षिक गुणस्तर सुध्रिएपछि अर्जुनधारा नगरपालिका समेत खुशी देखिएको छ । योसँगै प्रदेश सांसद बृख प्रधानले जुनकिरीको प्रगति खुशी व्यक्त गरेका छन् । राज्यले गर्ने दायित्व जुनकिरीले ग¥यो– प्रधानले भने– बाल गृहका लागि प्रदेश सरकारले सहयोग प्रदान गर्छ । असहाय बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बन्दी सहायता नेपाल र जुनकिरी विद्यालयलाई आफूहरुको सहयोग रहने प्रधानले प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here