मेचीनगर,

झापाको मेचीनगरमा चासोक तङनामको अवसरमा तीनदिने महोत्सव हुने भएको छ । लिम्बुहरुको निक्कै ठुलो चाडकारुपमा रहेको यो पर्वका अवसरमा मंसिर २६ देखि २८ गतेसम्म मेचीनगर—५ माङहिम पसिरमा महोत्सव हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
लिम्बु समुदायको कला, संस्कृति रीतिरीवाजको जर्गाेन गर्ने उद्देश्यले आयोजित महोत्सवमा लिम्बु समुदायको साँस्कृति पहिचान झल्किने भेषभुषा, खानपिन हातहतियार, खेलका सामग्री राखिने आयोजक किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलीपजंग आङदेम्बेले जानकारी दिनुभयो ।
चासोक तङनाम महोत्सव आयोजक समितिका अध्यक्ष अमृत लावतीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा महोत्सवमा रोटेपीङसहित बालबालिकाहरुका लागि मनोरञ्जनका खेल सामग्री राखिने बताईयो ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु रेजिना रिमाल, उत्तमजंग लावती छमछमी सिजन चारका सेकेण्ड रनरअफ दीलमाया लिम्बुसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ । महोत्सव सम्पन्न गर्न करीव २ लाख रुपैयाँ खर्च अनुमान गरिएको र उक्त रकम दाताहरुबाट संकलन गरिने बताइएको छ ।































