धाइजन ।

अग्र्यानिक प्रविधिका अभियन्ता भीम कुँवरसहित शिक्षासेवी कमल गुरागाई र असल गृहिणी नीतु सुबेदी राउत पुरस्कृत भएका छन् । झापाको मेचीनगर–११ धाइजनमा यसै महिना स्थापना भएको लाल–भागिरथा बानियाँ प्रतिष्ठानले उनीहरुलाई जनही ३१ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।
भद्रपुर–१० चन्द्रगढी निवासी क्रान्तिकारी किसान कुँवरले माटोको उर्वराशक्ति बढाउने र बालीलाई विषादीमुक्त बनाउने ‘अमृतमल’ नाम जैविक औषधिको उत्पादन गरेर ख्याति आर्जन गरेका छन् । उनलाई लाल–भागिरथा असल कृषक पुरस्कार प्रदान गरिएको हो । कुँवरले पञ्चायती शासनको विरुद्ध आन्दोलन गर्दा ५ वर्ष जेल समेत भोगेका थिए ।
मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईलाई लाल भागिरथा उत्कृष्ट समाजसेवी पुरस्कार प्रदान गरिएको हो । गुरागाईलाई शिक्षासेवाको माध्यमबाट सामाजिक परिवर्तनमा पुर्याएको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको हो ।
मेचीनगर–१० निवासी नीतु सुबेदी राउतलाई लाल–भागिरथा असल गृहिणी पुरस्कार प्रदान गरिएको हो । सासु, ससुरा र सन्तानको कुशलतापूर्वक सेवा पुर्याएर पारिवारिक सुख र समृद्धिमा योगदान पुर्याएवापत उनलाई पुरस्कृत गरिएको हो ।
मेचीनगर–११ स्थित जालपा पाञ्चायन मन्दिरमा जारी श्रमिद्भागवत पुराणको मञ्चमा शुक्रवार सम्मान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की प्रमुख अतिथि रहेका थिए । मन्त्री कार्कीले सबै प्रतिभालाई पुरस्कार प्रादन गरेका थिए । सो अवसरमा पुरस्कृत प्रतिभाहरुलाई सम्मान पत्र दिइएको थियो भने दोसल्ला ओढाइएको थियो ।
मन्त्री कार्कीले कृषि क्षेत्रलाई विषादीमुक्त गर्ने अभियानको नेतृत्व गर्ने कुँवरलगायत सबै सम्मानित प्रतिभाको प्रशंसा गरेका थिए । उनले हिन्दू धर्म संस्कृति नेपालको अमूल्य सम्पदा भएको उल्लेख गर्दै बेद र पुराणले नेपालको वैभावशाली प्राचीन सभ्यताको चर्चा गर्दै आउको बताए ।
स्व. लालबहादुर बानियाँ र स्व. भागिरथा बानियाँको स्मृतिमा यसै महिना रु. १० लाखको अक्षयकोष राखी शिक्षासेवी हरिचरण बानियाँ र बानियाँ परिवारबाट प्रत्येक वर्ष असल कृषक, असल गृहिणी र उत्कृष्ट समाजसेवीलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिचरण बानियाँ रहेका छन् ।
कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ र सम्मानित प्रतिभा कमल गुरागाईले मन्तब्य ब्यक्त गरेका थिए । भाष्कर घिमिरे, मोहन काजी र मोहन दाहालले सम्मान पत्र वाचन गरेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँले स्वागत र सचिव डम्बर देउजाले उद्घोषण गरेका थिए ।
सोही अवसरमा मन्त्री कार्कीले लाल–भागिरथा बानियाँ प्रतिष्ठानको कार्यालय उद्घाटन र जालपा पाञ्चायन सामुदायिक भवनको शिलान्यास गरेका थिए । भवनका लागि स्थानीय दिपेन्द्र बानियाँले १० धुर जग्गा दान दिएका छन् भने मन्दिर समितिले २ कठ्ठा जग्गामा सामुदायिक भवन बनाउन लागेको हो । मन्दिरमा भइरहेको महापुराणमा पं. छन्दुराम भण्डारीले भागवत कथा वाचन गरिरहेका छन् ।






























