प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

0
544

विराटनगर,

‘सिङ्घिया खोलाको सफाइ अभियान, हामी सबैको शान’ प्रमुख नाराका साथ आजबाट सरसफाइ अभियान शुरु भएको छ । सो अभियान प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले अगुवाइ तथा विराटनगर महानगरपालिकाको साझेदारीमा शुरु भएको सो अभियानमा आज हजारौँ मानिस स्वःस्फूर्त रुपमा सहभागी भएका थिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा २२४ सदस्यीय मूल समिति बनेको छ भने यसमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका, ग्रामथान गाउँपालिकाले पनि सहभागी जनाएको छ ।

पुष्पलाल चोकदेखि भाथिगछसम्म करिब १० किमी लामो दूरीमा चल्ने सफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्थाका समूह, हनुमान मन्दिर समूह, विश्रान्ता मन्दिर समूह, परोपकार घाट समूह, एबिसी नेपाल, नेपाल स्काउट, स्वास्थ्यकर्मी, विद्यार्थी, समाजसेवी, युवायुवती, राजनीतिककर्मी र सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता थियो ।

यो अभियानले सिङ्घिया खोलालाई प्रदूषणमुक्त बनाई हरित क्षेत्र बनाउने र यसलाई बृहत् पर्यटकीय क्षेत्र निर्माग गर्ने योजना रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । सिङ्घिया खोलाको संरक्षण तथा सफाइ अभियानको आज शुभारम्भ गर्दै प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा स्वच्छ वातावरण सिर्जना गर्न प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

उहाँले सरसफाइसँगसँगै सो क्षेत्रमा हरियाली बनाउन सरकारले दीर्घकालीन योजना बनाउने धारणा राख्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सिङ्घिया खोलालाई पहिलो चरणमा सरसफाइसँगै हरियाली बनाउने र नदीलाई व्यवस्थित गर्न रु तीन अर्ब ५० करोडको योजना सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले मोरङको विराटनगरदेखि झापाको विर्तामोडसम्मको फोहर सङ्कलन गरी ‘फोहरलाई मोहर बनाउन’ चिनियाँ कम्पनी कोन्च भेन्चरको रु पाँच अर्ब लगानीमा फोहरबाट बिजुली उत्पादन गर्न लागिएको जानकारी दिनुभयो । सफाइ अभियानका लागि आवश्यक पर्ने सामानहरु मन्त्रालय, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र ग्रामथान गाउँपालिकाले उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

खोलालाई व्यवस्थित बनाउनका लागि खोलाको सीमाङ्कन तथा ऐलानी र पर्ती जग्गा पहिचानका लागि नापी कार्यालय, मोरङको अधिकृतको संयोजकत्वमा स्थानीय तहका अमिनहरु सदस्य रहने गरी छ सदस्यीय सीमाङ्कन तथा नापजाँच समिति पनि बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here