चितवन ।
चितवनको राप्ती नगरपालिका–५ मा शनिबार राती अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।
अटो पल्टिँदा अटोमा सवार पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन ।
एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीन जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सडक दुर्घटनाका कारण नेपालमा वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन् । पछिल्लो समय अटोका कारण सडक झनै असुरक्षित बन्दै गएको यात्रुहरुले बताएका छन् । अनुभव नभएका चालकले अटो कुदाउँदा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ ।































