पानीमा राजनीति, दलहरु चुनावी मैदानमा

0
1396

बिर्तामोड।

बिर्तामोडमा खानेपानीमा पनि राजनीति हावी भएको देखिएको छ ।  मेयरका उम्मेदवारदेखि नेकपाका नगर अध्यक्षसम्म अहिले चुनावी मैदानमा छन् । जसका कारण बिर्तामोडको राजनीतिक माहोल स्थानीय तहको निर्वाचनकै झल्को दिने गरीको छ । यसलाई यहाँका स्थानीयले समेत निकै महत्वका साथ हेरेका छन् ।

बिर्तामोड साना शहरी खानेपानी तथा उपभोक्ता समितिको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल रोचक मोडमा पुगेको छ । स्वच्छ पिउने पानी खान पाउनु पर्छ भन्ने विषयमा सबै एक मत भए पनि पिउने पानीमा समेत दलीय रुपमा प्रतिस्पर्धा हँुदा उपभोक्ता भने अन्यौलमा परेका छन् । मंसीर २५ गते हुने निर्वाचनका लागि नेकपा र नेपाली कांग्रेसले छुट्टा–छुट्टै प्यानल बनाएर आ–आफ्ना उम्मेद्वार घोषणा गरेका छन् ।

चुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न राजनीतिक दलसंग गठवन्धन गर्दै प्यानल घोषणा गरेका छन् । नेकपाले प्रगतिशील समूह बनाएर उम्मेदवारी घोषणा गरेको छ । कांग्रेसले भने लोकतान्त्रिक समूह बनाउँदै आफ्नो प्यानल घोषणा गरेको छ ।

नेकपा र कांग्रेसले खानेपानीको चुनावलाई निकै महत्वका साथ हेरेका छन् । आ–आफ्नै पोल्टामा मत परिणाम पार्ने दाउमा अहिले उम्मेद्वारहरु मत मागिरहेका छन् । सामाजिक सञ्जालको प्रयोग गर्दै, पर्चा–पम्प्लेट, माइकिङ गरेर, विभिन्न सञ्चारमाध्यममा विज्ञापन प्रकाशन तथा प्रशारण गरेर दुवै समूहले मत मागिरहेका छन् ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा जलकुमार गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै संयुक्त प्रगतिशील प्यानलको तर्फबाट अध्यक्षमा ज्ञानुराम प्रसाई चुनावी मैदानमा छन् । प्रसाई नेकपाका बिर्तामोड नगर अध्यक्ष हुन् भने गुरुङ नेपाली कांग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा बिर्तामोडको मेयर पदको उम्मेदवार हुन् । निर्वाचनका लागि दुवै प्यानलले आइतबार उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।

लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा पर्शुराम सिटौला, सचिव मेघराज वास्तोला, कोषाध्यक्षमा शारदा रिजाल, सदस्यमा देवेन्द्र सिटौला, पारस मैनाली, माया प्रधान खड्गी, बाला खरेल र सीता भट्टराई काफ्लेको उम्मेदवारी परेको छ ।

यता संयुक्त प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा प्रसाईसहित उपाध्यक्षमा वुद्धिप्रसाद घिमिरे, सचिवमा जगतबहादुर जवेगू, कोषाध्यक्षमा कमलप्रसाद पौडेल र सदस्यमा शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, हिमा प्रसाई, सीता सापकोटा, रुविना राजवंशीको उम्मेदवारी परेको छ । खानेपानीको निर्वाचनलाई कतिपयले पानीमा पनि राजनीतिकरण भएको आरोप लगाएका छन् भने कतिपयले पानीको राजनीति नभई भोट माग्दाको मात्रै राजनीति भएको भनेका छन् ।

गुरुङ र प्रसाईलाई कांग्रेस र नेकपामा भावी बिर्तामोड नगरपालिकाका मेयर पदका सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । पूर्वकै प्रमुख शहरको रुपमा विकसित भइरहेको बिर्तामोडको जनघनत्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहज रुपमा स्वच्छ पिउने पानी पु¥याउन सबै राजनीतिक दलहरु एक हुनुको सट्टा राजनीतिक आडमा चुनावी मैदानमा होमिनुलाई पानीमा समेत राजनीतिक दृष्टिकोणले हेर्न शुरु गरिएको भन्दै सर्वत्र चिन्ता शुरु भएको छ ।

बिर्तामोड निवासी समाजसेवी टोरुप प्रसाईको नेतृत्वमा बिर्तामोडमा २०५१ सालमा खानेपानी संस्थाको स्थापना भएको थियो । जसका लागि प्रसाई आफैंले निःशुल्क जमिन प्रदान गरेका थिए । उनले नै २० वर्षसम्म निरन्तर अध्यक्षको पदमा रहेर बिर्तामोड खानेपानीलाई देशकै उत्कृष्ट खानेपानी संस्था बनाएका थिए ।

तर, उनी साना शहरी खानेपानी उपभोक्ता महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि उनले बिर्तामोडको नेतृत्व छाडेका थिए । उनले नेतृत्व छाडेपछि जलकुमार गुरुङले नेतृत्व सम्हालेका थिए । उनको कार्यअवधि सकिएपछि नेतृत्व चयनका लागि पटक–पटक सहमति जुटाउन प्रयास गरे पनि त्यो प्रयास विफल भएसँगै सीपी कडरियाको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन भएको थियो । सो समितिले अहिले निर्वाचनका सवै काम गरिरहेको छ ।

बिर्तामोड खानेपानी संस्थामा ६ हजार ५ सय उपभोक्ता रहेका छन् । बिधानतः अघिल्लो कार्यसमितिले गत साउनमा नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । तर, साधारणसभाले मंसीर १४ गते निर्वाचन गर्ने भनेपनि सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको हो । खानेपानीमा संस्थामा समेत दलगत रुपमा उम्मेदवारी घोषणा गर्नु र प्रचारप्रसारको शैली खानेपानीमा मेयरको चुनावी रौनक देखिएको विश्लेषण शुरु भएको छ ।

सरकारले सबैलाई खानेपानी पु¥याउने भन्दै विभिन्न अभियान नै सञ्चालन गरिरहे पनि विर्तामोडको खानेपानीलाई अझ ब्यवस्थित गर्दै सबै उपभोक्तालाई पिउने पानी पु¥याउनुको सट्टा चुनावी अखडा बनाएर राजनीतिक रुपमा नेतृत्व हत्याउन खोज्नु बिडम्बना बनेको सरोकारवालाहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here