लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

महिला अधिकारकाक्षेत्रमा क्रियाशिल तथा समाज रुपान्तरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने मेचीनगरका दुईदर्जन बढी महिलालाई मंगलबार सम्मान गरिएको छ ।
लैगिक हिंसा विरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए ।
‘समानताको पुस्ताः बलात्कार विरुद्घको एैक्यवद्घता’ भन्ने मुल नारासहित आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले अब हरेकले आ—आफ्नो घरबाटै बालश्रमदेखि घरेलु हिंसा अनि लैगिक हिंसा अन्त्यका लागि लाग्नुपर्नेमा जोड दिए ।

उनले हरेक महिलाको सम्मानका लागि स्थानीय सरकार सकरात्मक रहेको भन्दैं नगरभित्र हुने छुवाछुतको विभेद होस वा अन्य जुनसुकै विभेद सवैको समाप्तीका लागि नगरपालिका अघि बढाएको बताउनुभयो । हरेक वर्ष यस्ता रचनात्मक कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिने प्रमुख आचार्यले प्रतिवद्घता व्यक्त गरेका थिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले हाम्रा समाजमा कुनै न कुनै कारण लैगिक हिंसा हुन गरेका घटना प्रश्स्त रहेकाले यस विरुद्घ सवै एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको औल्याईन् ।

उनले नेपाली महिला कहिले बोक्सीको आरोप, दाइजो नल्याएको, बहुविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाबाट पीडित बन्ने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गदैं नाबालिकाहरु आफ्नै संरक्षकदेखि असुरक्षित रहेको तथा छाउपडी, बालविवाह, कुमारी, झूमा, देउकी आदि साँस्कृतिक प्रथाबाट समेत हरेक नारीहरु प्रताडित रहेको प्रष्ट पारिन । जस्तोसुकै हिंसा आम मानव समुदायका लागि सहज नहुने उपप्रमुख उप्रेतीको भनाई थियो ।

कार्यपालिका सदस्य निरु परियारले सञ्चालन तथा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले स्वागत गरेको कार्यक्रममा सम्मानितकातर्फबाट लता प्रसाई, सुन्दरी श्रेष्ठ, राधा प्रधान कार्की, वडानम्बर— १ का वडाध्यक्ष पासाङ्ग तामाङलगायतले बोल्नुभएको थियो ।

लैगिक हिंसा विरुद्घको १६ दिने अभियान हरेक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म यो अभियान सञ्चालन हुदैं आएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तीन दिदीवहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसंग यो अभियान जोडिएको छ ।































