झापा ।
मौसमविदहरुले आज पनि देशभरको मौसम नखुल्ने बताएका छन् । शुक्रबारको जस्तो लगातार पानी नपरेपनि चिसो भने कायम रहने बताएका छन् ।
हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
मध्य र पूर्वका एक–दुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने उनले बताए। आज मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने हुने भएकाले पूर्वको मौसम भने खुल्ने सम्भावना नरहेको उनले बताए।
गएको २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै धनगढीमा ६४ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी र हिउँसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
यो यामकै पहिलो हिमपात भएकाले बालीनाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् । यसैबीच चिसो बढेसंगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।































