कुन बलि ठूलो–मान्छे कि राँगाको ?

0
587

व्यंग्यनारान पाँडे,

“के छापा गरिराख्या होला एस्तो नाथे समचारको न्यून एत्रो तिर्पाल जत्रो फैलोट भको क्रान्तिपुरी पत्रिकाले, लु हेर त पाँडे भाइ !”— भन्दै मेरो अघिल्तिर एउटा पत्रिकाको पट्याएको पन्ना फ्याँके आउँदा आउँदै आज गौंथलीको बाऊले । र, कुर्सीमा बस्तै गन्गनाए— “काम पाउन छाडेछन् हए भाइ, काटमाडुँका रास्टिए भइखाका अक्बारहर्ले, पिटिस्सै काम पाउन छाआआआडेछन् ! सिन्यार पत्रकार गर्ने– को हइसेतमा मलाई पो ठूलो ट्यान्सिन, साला !’’

उनका गन्गन सुन्दै मैले सोपत्रिकाको पट्याए खोलेर हेरें– तर त्यो त मङसिर १८ गतेको ‘अन्नपूर्ण’ राष्ट्रिय दैनिकको पृष्ठ ५ र ६ को फाला रहेछ । र, मैले हाँस्तै भनें— “हन यो त कान्तिपुर पत्रिकाको पन्ना त होइन त । यो त ‘अन्नपूर्ण’ पो हो त ।”

उनले झन्नै सिडीओ अफिस– मुद्दा शाखाको खप्पिस खर्दार वा देहाती इलाका प्रहरीको दर्ता शाखाको चालू हल्दारले गाउँले सोझा–निमुखालाई डोभिनेट गरे झैं मलाई हियाउँदै भने– “जे नाम नि क्रान्तिपुरी नै हो । क्रान्तिपुरी भनेसि जम्भै कर्यापकुरुप तेस्सैमा आइहाल्छ क्या । उइले–उइले गोर्खापत्र भन्र भनेसि दशोडा अक्बारको नाम लिरनै पर्थेन, तेस्तै त हो नि अ‍ैले ।”

मेरो पेटमा हाँसोको थामी नसक्नु भुमरी पर्यो र धित मरुन्जेल हाँसेपछि भनें— “भई गो– गो, लौ । तर यसमा कुन समाचारलाई दाइले ‘यस्तो नाथे’ भन्या नि ?”

उनले कड्के आँखाले मेरो अनुहारतिर हेर्दै मेरो हातबाट सो पन्ना खोसे र आँखा तन्काएर त्यसमा हेरे अनि देबे्र हातका औंलाले चेपेर उनको टाउकोभन्दा अग्लो फ्याल्ल पार्दै र एउटा शीर्षकमा दाहिने चोर औंलाले देखाउँदै भने— “यो समचारको अ‍ैले के महत्तो छ र यो समचारको न्यूच लेख्नु पर्या ? लु भन त ।”

उनले देखाएको शीर्षक थियो— ‘आठ हजार राँगाको बलि’ । र, उनले पन्ना उचालिराखेकै अवस्थामा स्वर निकालेर पढ्दै मैले भनें— “आठ हजार राँगाको बलि । अनि के भो त ? बारा जिल्ला–महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिर क्षेत्रको ब्रह्मथानमा पाँच–पाँच वर्षमा मेला लाग्छ र त्यहाँ राँगा, सुँगुर, बोका, हाँस, कुखुरा, मुसा आदि हजारौंको बलि दिने चलन नयाँ होइन क्या दाइ । यस वर्ष राँगाको पनि बजारभाउले अरुहरुको जस्तै आकाश छोयो होला र धन्न आठ हजार मात्र राँगा काटिएछन् । समाचार ठिकै त छ नि ।”

उनले चर्केर भने– “मलाई किन सिकाउँछौं तपइँ ? मभन्दा जान्ने किन हुनु परेको तात्तो र छारो ! म के कुरो भन्ने इस्टमेट गरेर कुरो थाल्दै मात्तै हुँदाहुँदै तपइँ किन गढीमाई र सढीमाईको हिस्टोरी र भूगोल–सँस्कीर्ति छाँट्ने पँडित कि पीयछडी डाग्डर हुन खोद्छौ हँ ?”

उनले मुन्टो बटारेर अनुहार फुलाए । ‘अब उनले काँचो बबण्डर गर्छन’ भन्ने मेरो पुरानो अनुभवले मलाई तर्छायो र मैले भनें— “मेरो गल्ती भयो, एस्क्यूज मी दाइ ।”

तब उनले मतिर मुन्टो घुमाउादै नर्मल स्वरमा भने— “भइगो, एस्कुच मी माग्यौ, आजलाई मैले तपइँलाई एस्कुच मी गरेँ । अइन्दा म जस्तो उचो व्याक्तित्तो बोलिराख्या ठाममा तपइँ जस्तो निचो व्याक्तिले मुख चिलाए पनि प्याप्र्यार गरेर डिस्टप नगर्नु नि ।”

मैले प्रहरीको हतकडीमा जकडिएको पाकेटमार जस्तो नतमस्तक भएर केवल ‘ह’स’ भनें ।”
उनी भन्दै गए— “आज तपइँकाँ यो अक्बार बोकेर के भन्न आइरथेँ भन्लाऊ भने, अब हाम्रा देउता–देउती पनि राँगा–साँगा, बोका–बोकी, कुख्रा–कुख्री, हाँस–हाँस्नी, मुसा–मुसीका बलि भोगेर सेटिफाई हुने उइलेका देउता–देउती जस्ता दलिद्र छैन् क्या पाँडे भाइ । हाम्रो यो मात्रिभूइँ नेपालका देउता–देउतीले नै हाम्रो पाटीलाई बौमतको शत्तिशाली बनाएसि हामेरले निउँधेरको स्टाण्डर उठाका छम् । हामेरले उँधेरलाई सत्र–अठार हज्जार कञ्चन–कञ्चन नेपाली मान्छेको बलि चढाएसि मात्तै उँधेरले हामेरलाई बल्यो बनाका हुन् । नाइँ त भन्रभनेदेखुन् एस देशाँ को बल्यो थ्यो भन्ने तपइँलाई नि मालमै होला । तेसो भा हुँदाखेरिन् अ‍ैले काँ–काँ ककल्ले राँगा–कुख्राको बलि दिनुको कौनै भेलू हुन्छ त ? भग्वान–भग्वान्नीका नाममा जीउ–जन्तु काटेर–मारेर त उइ मासु हसुर्ने मेलो त हो नि । उइ निउँपिउँ गरेर मासु खाने ट्याउटिस !

आठ हज्जार मान्छेको बलि दिया समचारलाई न्यूच बना’भा लौ त भन्नु आर्को कुरो भनम् नै भने– हामेरले बलि चढाका एउडा पनि ज्यान भग्वान बाएक हामेरु मद्दे कसैले चोक्ट्या’र करइ अथबा भाँडामा चइनेकेरे भुटेर अथबा झोल हालेर चाइनेकेरे गद्गद् पका’र खायौं त ? छ्याः ! हामी राच्छेस हम र जे पा’तेसकै गोस् खान्छौ त ? हो तेस्तो भग्वानले मात्तै खाने ज्यानको मात्तै पो भग्वानलाई बलि चढाउन मिल्छ त । खै कुरो बुज्या ती राँगा–भुइँसी बलि चढाउनेहर्ले ? तेस्ता नाथे बलि चढाउनेले कुन देश जोत्भोक गन बर्दान् पाउनु हो कोनि !

नेपाल देशको सेरोफेरो त हामेरले पाइसक्यौं क्यारे ।…अ‍ैले पनि हामेरले हाम्रा बस गाडी, कार गाडी, ट्यासी गाडी, टडक, पिकप गाडी, टेक्टर इत्तेदि थोत्रा र तिन्का डाइबर मार्फत दिनमा एउडा–दोडादेखुन् अठार–उन्नाइस थानसम्म नेपाली मान्छेको बलि देउता–देउतीका नस्ता–सितनका लागि चढाइराखेका छम् भन्ने न्यूच डेलीका डेली तपइँले नि सुनिराखेकै होउलाउ । तेसो पो त हेर्ने दिस्टिकोन त । अनि यत्रो तिर्पाले रास्टिए अक्बारमा लाटकोसेरा–टाउके अछेरमा हेट लइन राखेर हजुरबाऊको पालाको हत्यार उचालेको फोटा राखी–राखी यो अन्पूर्नको क्रान्तिपुरीमा यत्रो खान एस्तो न्यूच छापा गर्या त ? बिकामे भ’छन् हओ पाँडे भाइ, काटमाडुँका अक्बारेहरु कर्मशः बिकामे हुँदै ग’छन् । कुन समचारको न्यूच छापा गरम् भन्र मलाई सोद्न छाडिहाले, के गर्ने !”

उनले निकै लामो आङ ताने र छिप्पिएको बाँसका जरा जस्ता औंला पढ्काउन थाले । यस मौकामा फेरि मेरो मुख थामिएनछ र फ्यास्स फुस्किएछ– “हो हुन त, मान्छे खान पल्केका ब्याँसा र चितुवाहरु अरु शिकारले सन्तुष्ट हुँदैन् भन्ने मैले पनि सुकेको हूँ ।”

उनले खुशी हुँदै भने— “म नचाइँने र यो बिस्सो–सन्सारका ठूलाठाला बिद्वान–साइनटिसहर्ले नभनिरका कुरा कैल्यै भन्छु के त ? आमई नि ! अनि अ‍ैले नेपालका कुनै देउता–देउतीले राँगा–भुइँसी, सुँगुर–उँगुर, बोका–उका, कुख्रा–उख्रा, हाँस–उँस, मुसा–उसाको बलि रुचाउन् त इस् । र, बलि दिनेले बर्दान् पाउन् त उस् । हामेरले उबेला देको सत्र–अठार हज्जार कलकलाउँदा नेपाली ज्यानको बलि र अ‍ैले डेलीका डेली घटीमा एक थान–दुई थान र बढीमा अठार–उन्नाइस थानका दरको मानौँ बलिलाई अरुले के खा’र जित्छन् त हँ भाइ ? अनि यो क्रान्तिपुरी पत्रिकाको अन्पूर्नले एस्तो लिटिल समचारको न्यूच छापा गरेको पढेसि मरो कन्पारो तात्या हो ।…..र, अब म तुरुन्ताको तु घर जान्छु र अस्ति सोर–सत्र दिन देखुन् मसित लिबिङ टुग्यादर खेलिराखेकी मेरी रामदुलारीसँग बैठक बसी उसैलाई लेर काटमाडुँ जाने पस्ताउ पास गर्छु । रामदुलारी मसित गई भने काटमाडुँमा डिसकेस–कचेडा मच्चाउन ऊ कम तिखी छ ? उस्को सयोगले म आग्गो नफुकी काँ छोड्छु र ! एएएए, तेस्सै हामेरलाई उछिन्न आठ हज्जार राँगाको बलिको ढ्वाँस पिट्न पाइँछ के त ।….र, अ‍ैले म हिनेँ पनि है पाँडे भाइ ।”……

उनी फुर्तिसाथ बाटो लागे । र, उनी गइरहेतिर हेर्दै मैले मनमनै भनें— “कुन बलि ठूलो–मान्छेको कि राँगाको ? यो चाहिँ एक किसिमले प्रस्ट पारेकै हुन् उनले घुमाई–फिराईआज !”……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here