अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको प्रगति अङग्रेजी आवासिय माध्यमिक विद्यालयको २३औं वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद निरौलाको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन संस्थापक सदस्य बालकृष्ण रिमालले गरेका थिए ।
प्रधानाध्यापक निरौलाले विद्यालयको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएको सभामा विभिन्न व्यक्तित्वहरुलाई नगद पुरस्कारसहित प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नगरमा रहेका संस्थागत विद्यालयहरुमध्ये शैक्षिक वर्ष २०७४को एसईई परीक्षातर्फ उत्कृष्ट हुने विद्यार्थी दिपीका राउत(३.७५ जीपीए) र गत शैक्षिक वर्ष २०७५को आधारभूततर्फ उत्कृष्ट हुने विद्यार्थी विशप पौड्याल(३.९०) रहेका छन् ।

त्यसैगरी अन्य सम्मानित हुनेहरुमा सोही विद्यालयबाट शैक्षिक वर्ष २०७४को एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थी रोशन कुँवर(३.७ जीपीए), २०७५को एसईई परीक्षामा उत्र्तीण हुने विद्यार्थीद्धय अर्चन चेम्जोङ(३.७ जीपीए) र निमेश पौड्याल(३.७ जीपीए) रहेका छन् ।
सभामा नगर सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ, नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, विव्यस उपाध्यक्ष श्रीप्रसाद बिमली, सदस्य नरेन्द्रबहादुर राई, शिक्षक–अभिभावक संघकी अध्यक्ष चन्द्रकला राई, शेयर सदस्यहरु गान्धारी मिश्र, पदमकुमार सुब्बा, लवकुश गिरीलगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै गत शैक्षिक वर्षमा प्रथम, द्धितीय र तृतीय हुने कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा “हाम्रो देश हाम्रो सरोकार” नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्यसँगै रायम्स, ¥याम्प वक, आधारभूत कराते तालिम प्रदर्शनी, कराते काता प्रदर्शनीलगायत प्रस्तुत गरेका थिए ।































