यसरी गर्यो गोमेन्द्रले छात्रवृत्तिको छनौट

0
1159

बिर्तामोड।

बिर्तामोड– ४ स्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयले फरक तरिकाले छात्रवृत्ति छनौट गरेर छ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विभिन्न क्षेत्रका व्यक्ति सम्मिलित छात्रवृत्ति छनौट समिति गठन गरेर त्यही समितिले छात्रवृत्ति छनौट गरेर छ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा. रुपक खनालले बताए ।

प्रायः गरेर क्याम्पसले नै गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति छनौट गरेर प्रदान गर्ने गरेको र त्यसो गर्दा पारदर्शिता नहुने भएकाले गोमेन्द्र बहुमुखी महाबिद्यालयले छात्रवृत्ति छनौट समिति गठन गरेर त्यही समितिले छात्रवृत्ति छनौट गर्ने गरेको उनले बताए ।

क्याम्पसले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गर्ने छात्रवृत्ति कोटामा नातावाद, कृपावाद, राजनीतिक आस्था लगायतका आधारमा आफ्ना मान्छे छनौट गर्ने गरेको र त्यसो गर्दा वास्तविक गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति नपाउने भएकाले त्यस्तो प्रवृत्ति हटाउन छात्रवृत्ति छनौट समिति गठन गरिएको उनले बताए ।

गोमेन्द्र वहुमुखी महाबिद्यालयले व्यवस्थापन संकाय स्नातक तह अन्तर्गत बीबीए कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीलाई गरीब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरेको र त्यही कार्यक्रम अन्तर्गत छ जना विद्यार्थी छनौट गरिएको प्राचार्य खनालले बताए ।

प्राचार्य खनालको संयोजकत्व र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, देवी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ भट्टराई, बीबीए कोअर्डिनेटर शेखर पाण्डे, कर्मचारी प्रतिनिधि प्रवचन नेपाल, भाइस प्रिन्सिपल सरु भुर्तेल लगायतको छात्रवृत्ति छनौट समितिले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको छनौट गरेको थियो ।

उक्त समितिले शिशिर अधिकारीलाई शतप्रतिशत ४० हजार प्रति सेमिस्टर, बबिता तामाङ र एलिसा घिमिरेलाई ७५ प्रतिशत ३० हजार प्रति सेमिस्टर, सुरती लिम्बू, अर्चना श्रेष्ठ र विकास मेचेलाई ५० प्रतिशत २० हजार प्रति सेमिस्टर छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको संयोजक खनालले बताए ।

विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्नेमा विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत् रहेकोमा त्यसबाट चार जना छनौट गर्नुपर्ने भए पनि यस वर्ष छ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here