खेलाडी छन्, प्रशिक्षक छैनन् , पाँच महिनादेखि नेतृत्वविहीन झापा

0
1310

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल,झापा।

झापालाई फुटबल खेलको उर्बरभूमि मानिन्छ । खेलकुदकै माध्यमबाट झापाली खेलाडीले झापाको नाम विश्वसामु चिनाएका पनि छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न प्रतियोगितामा सहभागी बन्दै झापालीले गोल्ड मेडल समेत हात पारेका छन् ।

त्यसमा पनि फुटबल खेलप्रति झापालीको मोह (क्रेज) दिनानुदिन बढ्दो छ । झापामै विभिन्न समयमा राष्ट्रिय स्तरका प्रतियोगिता समेत सम्पन्न भएका छन् । झापामा आयोजना हुने राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागिता जनाउन देश तथा विदेशका नाम चलेका फुटबल क्लबहरु आएका छन् । झापामा फुटवल खेलको विकास गर्दै झापालाई फुटवल खेलाडी उत्पादन गर्ने थलोका रुपमा लान यहाँका खेलप्रेमीहरु पनि पछिल्लो समय निक्कै सक्रिय छन् ।

खेलकुद क्षेत्रको फुटबल खेलमा झापाले फड्को मारे पनि फुटबल खेलकै लागि भने अहिले एक जना पनि प्रशिक्षक छैनन् । बिगत दुई वर्षदेखि झापा फुटबल खेलका लागि प्रशिक्षकबिहीन छ । दुई वर्ष अघि भगिरथ आले मामाको अनिवार्य अवकाशसंगै झापा प्रशिक्षकविहीन बनेको जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख टहलदास मैनालीले बताए । उनले भने– ‘झापामा फुटबल मात्र होइन, क्रिकेटका पनि प्रशिक्षक छैनन् ।’

पछिल्लो समय क्रिकेट खेल पनि युवाको रोजाइमा छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विभिन्न लिगमा समेत राम्रो खेल प्रदर्शन गर्दै आएका क्रिकेट खेलाडीमध्ये छोटो समयमा चर्चामा आएका सन्दीप लामिछाने सफल खेलाडी मानिन्छन् । सरकारले क्रिकेट रंगशाला निर्माण गर्न नसकिरहेको अवस्थामा झापामा खेलाडी उत्पादनको विषय अझै पनि ओझेलमा छ ।

महिला क्रिकेटको पर्याय बनेकी राष्ट्रिय कप्तान रुवीना क्षेत्री झापा मेचीनगर निवासी हुन् । झापाले नै महिला क्रिकेटको राष्ट्रिय टोलीको नेतृत्व गरिरहे पनि झापामा क्रिकेटका लागि प्रशिक्षक नै छैनन् । क्रिकेटमा पनि झापा अहिले प्रशिक्षकविहीन बनेको लामो समय भयो । प्रशिक्षक नहुनुले पनि क्रिकेट प्रति युवामा देखिएको क्रेज विस्तारै ओझेलमा पर्दै आएको छ । विभिन्न विधाका खेलका लागि झापामा २६ जना प्रशिक्षक छन् अहिले । जसमध्ये सबैभन्दा धेरै १४ जना कराँतेका प्रशिक्षक छन् । जिल्ला खेलकुद विकास समिति झापाका अनुसार कराँतेपछि तेक्वान्दोमा चार जना प्रशिक्षक छन् ।

यसअघि ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता झापामा भएको थियो । सो प्रतियोगितामा प्रशिक्षक बिना नै खेलाडी मैदानमा उत्रिए । जिल्ला खेलकुद विकास समितिले आन्तरिक स्रोतबाट फुटबलका लागि युगलकिशोर राई र अस्मिता खवास लगायतलाई करार सम्झौतामा प्रशिक्षक नियुक्त गरे पनि प्रतियोगिता सम्पन्न भएसंगै उनीहरु पनि भूमिकाविहीन भए ।

हाल झापामा भलिबल, बक्सिङ, भारत्तोलन लगायतका खेलमा झापामा एक–एक जना प्रशिक्षक छन् । सरकारले खेलकुदको माध्यमबाट विद्यार्थी तथा सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका निमित्त २०४८ सालमै खेलकुद विकास ऐन बनाएको थियो । २०४९ साल वैशाख १७ गते लालमोहरसहित लागूभएको सो ऐन २०५३ र २०६३ सालमा संशोधन हँुदैं खेलकुदको विकासका लागि अझ फराकिलो बनाइएको थियो ।

सबै किसिमको खेलकुद आयोजना गर्न तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा नेपालको उपर्युक्त सहभागिता समेतको आवश्यक ब्यवस्था गरी खेलकुदको विकास गर्न वाञ्छनीय भएको भन्दै तत्कालीन महाराजधीराज वीरेन्द्र वीर विक्रम शाहको शासनकालको २१ वर्षमा संसदले यो ऐन बनाएको थियो । ऐन अनुसार नै प्रत्येक जिल्लामा खेलकुद विकास समिति गठन हुने पद्धति अहिलेसम्म पनि छ ।

खेलकुदको विकास र विस्तार गर्नका लागि परिषद्ले तोके बमोजिम प्रत्येक विकास क्षेत्रमा क्षेत्रीय खेलकुद विकास समिति, प्रत्येक जिल्लामा जिल्ला खेलकुद विकास समिति र नगर तथा गाउँस्तरमा समेत खेलकुद विकास समिति गठन गर्न सक्ने गरी ऐन बनेको छ । सोही ऐनलाई आधार मान्दै जिल्ला खेलकुद विकास समितिसहित नगर र गाउँले खेलकुदको विकासमा जोड दिनुपर्ने भए पनि अहिले झापा थ्रुपै खेलका लागि प्रशिक्षक छैनन् ।

मुलुक संघीय संरचनामा गएसंगै खेलकुद क्षेत्रलाई संघ र प्रदेश कसले हेर्ने भन्ने विषय टुङ्गो नहुँदा खेलकुद क्षेत्र अन्यौलग्रस्त छ । प्रादेशिक संरचनामा खेलकुदलाई लान नसक्दा अहिले पनि पुरानै संरचना अनुसार नेपालको खेलकुद क्षेत्र सञ्चालनमा छ । ऐन अनुसार राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला स्तरीय समिति गठन गर्नुपर्ने प्रावधान छ । सरकारले राखेपको सदस्य सचिव नियुक्त गरेसंगै राखेपले जिल्ला स्तरीय समितिहरु गठन गर्दै आएको छ । पछिल्लो समय झापासहित देशभरमा जिल्ला स्तरीय समिति नेतृत्वबिहीन छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) हालै काठमाडौंमा सम्पन्न भएको छ । सरकारले सागलाई सफलतापूर्वक सम्पन्न गरेर खेलाडी र खेल क्षेत्रलाई अब्बल राखेको सन्देश दिन खोजे पनि खेलकुदकै जिल्ला स्तरीय समिति समेत निष्कृय बन्दा यसलाई सक्रिय बनाउने विषयमा चासो नदिएको सरोकारवालाले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक बिजेता खेलाडीलाई नगद नौ लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरे पनि प्रशिक्षक, खेल मैदान, खेलाडीको क्षमतावृद्धि लगायतको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।

गत साउन १२ गतेदेखि खेलकुद विकास समिति झापा नेतृत्वबिहीन छ । राखेपले समयमै जिल्ला खेलकुद विकास समितिको नेतृत्व चयन गर्न नसक्दा झापा ५ महिनादेखि नेतृत्वबिहीन बनेको हो । राजनीतिक भागबण्डा नमिल्दा लामो समयसम्म खेलकुदका लागि जिल्ला स्तरीय समिति गठन हुन नसकेको बताइएको छ । अझ खेलकुद क्षेत्रलाई संघ र प्रदेश कसले हेर्ने भन्ने विषयमो टुङ्गो नलाग्दा खेलकुल क्षेत्र अन्यौल बनेको जिल्ला खेलकुद विकास समिति झापाका प्रमुख मैनालीले बताए । उनले भने– ‘खेलकुदका लागि छुट्टै ऐन नबनेकाले २०४९ सालमा बनेको पुरानै ऐनको आधारमा हामी चलेका छौं ।’

शंकर थापाले नेतृत्व गरेको खेलकुद विकास समिति झापा नेतृत्वबिहीन भएसँगै अहिले जिल्ला स्तरीय खेलकुदसंग सम्बन्धित कुनै पनि कार्यक्रम भएको छैन् । थापा नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सिफारिस भएका थिए । उनीसँगै नेकपाका तर्फबाट अन्य पदाधिकारीको सिफारिस भएको थियो । यता उपाध्यक्षमा भने नेपाली कांग्रेसका तर्फबाट भेषराज भण्डारी (प्रशान्त)सहित भरत गुरुङ र लाक्पा लामा सेर्पा सिफारिस भएका थिए ।

समितिको कोषाध्यक्षमा नेकपाकै धर्मराज शिवाकोटी, सदस्यमा हरिमाया मैनाली, अर्जुन मेचे, सन्तोष दुलाल, कविता गुरुङ, दीपा धिमाल, पूर्ण सिटौला लगायत रहेका थिए । त्यस्तै पदेन सदस्यमा जिल्लाका मुख्य सरकारी कार्यालय रहने व्यवस्था रहेको जिल्ला खेलकुद विकास समिति झापाका मैनालीले बताए ।

२०४९ सालमा बनेको ऐन परिमार्जन नभएसम्म खेलकुद क्षेत्र यस्तै रहनसक्छ– मैनाली भन्छन्– ‘साग हालै सम्पन्न भयो, हामी सबै उतै व्यस्त रह्यौं, खेलकुद विकास समितिमा नयाँ नेतृत्व चयन भएर नआएसम्म केही भन्न सकिँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here