चिन्तामणि दाहाल,
वास्तविकता :
केही समय यता नेपालका राजनीतिक दलहरु विचार, त्याग, बलिदान र योगदानका दृष्टिले कमजोर हुँदै गएका छन् । त्यसो हुनुमा दलको नेतृत्व गर्ने नेताहरुको कमजोरी नै हो । उनीहरुको कमजोरी भनेको शीर्ष नेतृत्व गुम्छ भन्ने हो । उनीहरुले आफूलाई लोकतान्त्रिक भने पनि प्रवृत्ति निरंकुशतावादी छ । गणतन्त्रवादी भने पनि राजतन्त्रवादको ह्यांगओभर सकिएको छैन ।
एकपटक शीर्ष तहमा पुगेपछि तल झर्नु नपरोस् भन्ने प्रवृतिगत धारणा लिएर बाँचेका छन् । चाहे उनीहरुले राम्रो काम गरेको होस् वा नहोस् । जन्मँदै राजकुमार हुने वा राणाकालको जस्तो नाति जर्नेल हुने राजतन्त्रवादी सोच नगएकोले महाधिवेशन गर्दा आफू सत्ताबाट झर्नु पर्ला कि भन्ने त्रास उनीहरुमा व्याप्त छ ।
त्यसैले उनीहरु भरसक महाधिवेशन सार्न लागेका छन् । तत्काल सार्छुभन्दा विद्रोह होला कि भन्ने लागेमा महाधिवेशनको मिति तोक्ने अनि त्यसको प्रारम्भिक काम नगरेर टार्दै लाने अनि तयारी पूरा नभएको भन्दै महाधिवेशन सार्ने नियत नेताहरुको अझै पनि छ । यही अवस्थाबाट कांग्रेस गुज्रँदैछ । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक डाकिएको छ । तर, एक पक्षले बहिष्कार गर्दै गरेका कारण अनौपचारिक छलफल गर्दै स्थगित पनि हुँदै आएको छ ।
यी भनेका लोकतान्त्रिक पद्धतिका अवगुण हुन् । यी अवगुण उनीहरुमा जानी नजानी व्याप्त छ । प्रकटमा भन्दैनन् । तर, उनीहरुका सबै व्यवहार र चालचलन, कुटनीति, क्रियाशील सदस्यता वितरणदेखि नै हावी हुन्छन् भएका छन् । तर, विडम्बना, त्यो दोष लिन शीर्ष नेताहरु तयार छैनन् । किनकि शीर्ष नेताहरु अराजक र छाडा भएका छन् भने त्यही दलभित्रैबाट वैकल्पिक नेतृत्व लिने अन्य नेताहरु भए पनि उनीहरु शीर्ष नेताहरुकै भुलभुलैयामा लागेर विद्रोह गर्न सकिरहेका छैनन् ।
दलहरुको अवस्था :
यी दोषबाट अहिलेका ठूला भनाउँदा दुबै दल नेपाली कांग्रेस र नेकपा दुबै आक्रान्त छन् । दल भनेको अमूर्त हुन्छ । दल चलाउने भनेका नेताहरु हुन् । नेताहरुमा कमजोरी हुनु भनेकै दल कमजोर हुनु हो । जुनबेला दलका शीर्ष नेता राम्रा, सक्षम र निःस्वार्थी हुन्छन् र संगठनका लागि काम गर्छन्, त्यसबेला दलको अवस्था राम्रो भएको छ । जनताले पनि दललाई पत्याएका छन् ।
उनीहरुले कमजोरी सच्याएर अघि बढ्छुभन्दा पटक–पटक पत्याएका छन् । तर, हरेक पटक वाचा बिर्सेर दलका नेताहरुले कमजोरी गरिरहँदा अब उनीहरु दलका उम्मेदवार फेरेर चेतावनी पनि दिन थालेका छन् । यस पटकको उपचुनावमा यस्तै सन्देश जनताले दुबै ठूला दलका नेताहरुलाई दिएका छन् । तर, यस्तो मौका सधैं प्राप्त हुन्छ भन्ने नसोचे हुन्छ ।
कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ उति नै गुटहरु तयार हुँदै जान्छन् । यसअघिको महाधिवेशनले तयार भएको तीन गुट अहिले पनि सक्रिय छ । सभापति देउवाको, बरिष्ठ नेता पौडेलको र केन्द्रीय सदस्य सिटौलाको गरी देखिएका तीन गुट छन् भने महामन्त्री कोइराला पनि गुट बनाउन चलखेल गर्दैछन् । देउवाको गुट महाधिवेशन सार्दै लगेर अफ्नो अनुकूल बनाएपछि मात्र गर्ने दाउमा छ भने सिटौला र पौडेल गुट विधान अनुसार चार बर्ष पुगेपछि नै महाधिवेशन गर्नुपर्ने अथवा थोरै समय थपेर महाधिवेशन गरेर पार्टीलाई संगठित गर्नु पर्ने पक्षमा छन् ।
पौडेल र सिटौला पक्षको तर्क भनेको देउवाको नेतृत्वमा कांग्रेसले निर्वाचन हा¥यो र उपचुनावमा पनि राम्रो परिणाम दिन सकेन भन्ने छ । त्यसमाथि देउवाको कार्यशैली पार्टीमा हुकुमी देखियो । गल्ती गर्दा पनि गल्ती सच्याउने कुरा त परै जाओस नैतिक जिम्मेवारी पनि नलिने देउवा प्रवृत्तिले अरु नेता हैरान छन् । यसरी हेर्दा पौडेल र सिटौला गुटको अभिष्ट राम्रो र लोकतान्त्रिक हो भन्न कर लाग्छ भने देउवाको गुट देउवालाई सत्तामा कायमै राखेर गराएर आफूहरु पार्टीमा अरु डेढ बर्ष हालीमुहाली गर्ने पक्षमा रहेको देखिन्छ । यसबाट होस नहोस्, देउवाको नियतमा खोट देखिएको छ ।
यो आलेख लेख्दै गर्दा कांग्रेस केन्द्रीय समितिको जारी बैठक आज बुधबारसम्मका लागि स्थगित भएको छ । पौडेल र सिटौला पक्षले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने गरी प्रस्ताव नल्याएसम्म बैठक बहिस्कार गर्ने भनेर तीन वटा बैठक बहिस्कार गरेपछि सहमति गर्न भनेर आजसम्मका लागि बैठक स्थगित भएको छ । अब आज बैठक बस्यो भने त्यसले राम्रै होला । नभए यसै भन्न सकिन्न ।
लगभग यही अवस्था एकीकृत भएको नेकपाको पनि छ । केन्द्रीय समिति भएर पनि एक बर्षदेखि केन्द्रीय समितिको बैठक नडाकेर प्रचण्ड र ओलीले चोचोमेचो मिलाएर कहिले पदाधिकारी र कहिले सचिवालय बैठकबाट सबै महत्वपूर्ण निर्णय गर्दै आएका थिए ।
यस पार्टीमा गुट झाँगिदै गएका छन् । दुबै अध्यक्षका गुट त हुने नै भए । त्यसभित्र पनि उपगुट छन् । नेपाल, पोखरेल, रावल, गौतम गुट एकातिर सक्रिय हुँदा बादल, सापकोटा, गजुरेल लगायतको गुट पनि झाँगिदै गएको छ । अब केन्द्रीय समितिको बैठक डाकिएको छ र महाधिवेशन र विधान संशोधनको प्रस्ताव लगायतमा छलफल शुरु भएको छ ।
पहिलो बैठकमा बोल्ने नेताहरुले दुबै अध्यक्षको आलोचनाबाट आफ्ना कुरा राखेको बताइएको छ । यो छलफल अरु दुई चार दिन चल्ने देखिन्छ । यो बैठकले महाधिवेशनको मिति तोक्यो भने पनि त्यही मितिमा महाधिवेशन हुन्छ भन्ने छैन । दुई पार्टी मिलेर दुई अध्यक्ष भएको दलमा सिधै दुई गुट छँदैछन् । त्यस बाहेक पनि अरु गुट तयार हुँदैछन् । नेकपाका अधिकांश तलदेखि माथिसम्मका कार्यकर्ता तथा नेता पनि अहिलेको नेतृत्व र नेतृत्वको कार्यशैली र सरकारमा पनि रहेको पार्टी भएकोले सरकारको काम गराईबाट सन्तुष्ट छैनन् । दुई तिहाईको सरकारले पनि राम्रो काम गर्न नसकेको भन्ने छ । त्यसैले यो दल पनि आश लाग्दो छैन ।
अन्य विकल्प हौं भनेर कुर्लने दललाई जनताले ठ्याम्मै पत्याएको देखिएन । संघीय समाजवादीको अवस्था पनि यी दुई दलको भन्दा राम्रो अवस्था छैन भने मधेशी नेताहरुको दल राजपाको ढुलमुले नीतिका कारण उ पनि मधेशी जनतामै गतिलो देखिएन । राप्रपा, राप्रपा संयुक्त र अन्य साना दल नाम मात्रका भए ।
कुनै पनि गुट राम्रोका लागि भयो भने त्यसले संगठनमा असन्तुष्टि हुँदा पनि कार्यकता अन्यत्र भाग्दैनन् । तर, त्यो गुट राम्रोका लागि भन्दा नेताकै व्यक्तिगत हितमा अग्रसर हुन थाल्यो भने अरु गुटहरु तयार हुँदै जान्छन् र त्यसले समर्थक, शुभेच्छुक र आम जनतामा दलप्रति नकारात्मक धारणा बन्न थाल्छ । यस्तो भयो भने त्यो पार्टी विस्तारै खिइँदै गएर प्रजा परिषद्मा रुपान्तरण हुन्छ । अर्थात् कांग्रेसको नाम हुन्छ । कार्यकर्ता हुँदैनन्, जनता पनि हुँदैनन् । नेकपा पनि खिइँदै जान्छ । त्यहाँ चरम गुटबन्दी हुन्छ । गुटबन्दी झडपतिर जान्छ । जनता पर भाग्छन् । उसको अवस्था अहिलेको सीपी मैनालीको मालेमा परिणत हुन्छ । पार्टी सकिन बेर लाग्दैन भन्ने उदाहरण धेरै देशका दलको इतिहास अध्ययन गर्दा थाहा हुन्छ ।
अन्त्यमा :
तब जनतालाई कहाँ जाने, कसलाई पत्याउने र रोज्ने समस्या हुन्छ । उनीहरु बाध्य भएर एउटा विवेकशील तानाशाहको विकल्पमा जाँदैनन् भन्ने छैन । यस्तो अन्योललाई चिर्न अहिलेका दुई ठूला दलहरुले नै आफूलाई सच्याएर जानुपर्ने अवस्था छ ।
यी दुई दलले आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ भन्ने हो भने लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । संघीयता खतरामा पर्छ । चेतना भया ।


























