दिपेन्द्र राउत,
‘अण्डा पहिला–पहिला जन्मियो कि चल्ला पहिला जन्मियो’ यो कथन धेरै प्रचलनमा रहेको जिज्ञासा हो । यही शब्दमा हाम्रो समाजमा धेरै चर्चा परिचर्चा हुने गर्दछ । हाम्रो समाजमा विभिन्न पेशा व्यवसायलाई उच्च सम्मानका साथ हेर्ने गरिन्छ । नेपालमा मात्र नभएर विश्वमा उच्च सम्मानका साथ मान्ने पेशाहरु मध्ये डाक्टर पेशा धेरै सम्मानको पेशा हो । डाक्टर लेवल डिग्री प्राप्त गरी सकेपछि मानिसले नामको अगाडि डा. उपाधि लेख्न पाइने प्रावधान छ र यो अनिवार्य नै रहेको छ । आज मलाई यो लेखमा विश्वले यति सम्मान गरेको पेशा डाक्टरको बारेमा केही विषय उठान गर्न मन लाग्यो । नेपालमा डाक्टर कति हुनुहुन्छ भन्ने जिज्ञासा सबैमा हुन सक्छ ।
सन् २०१८ डिसेम्वरसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा एमबीबीएस डाक्टरहरु २१ हजार ३३ जसमा पुरुष १४ हजार एक सय २६, महिला छ हजार नौ सय सात रहनुभएको छ भने एमडी÷एमएस गर्ने जम्मा छ हजार तीन सय ८३ र बिडिएस गर्ने जम्मा दुई हजार सात सय १८ मा पुरुष नौ सय ९९ र महिला एक हजार सात सय १९ हुनुहुन्छ । त्यस्तै एमडीएस गर्ने जम्मा पाँच सय तीन जना रहनुभएको तथ्याङ्कले देखाउँछ । नेपालमा जम्मा जनसख्याको ०.१ प्रतिशत डाक्टरको जनसख्या हुन आउँछ । यसले पनि के बुझ्न सकिन्छ भने डाक्टरको जनसख्या न्यून रहेको देखिन्छ ।
सैनिकको काम देशको सीमा सुरक्षा गर्नु हो भने डाक्टरको काम रोगी विरामीलाई रोगबाट मुक्त बनाउनु हो । विगत केही वर्षदेखि डाक्टरसँगको भेटघाटले पनि डाक्टरको आनीबानी, विरामीलाई गर्ने व्यवहार, विरामीप्रतिको सोच केही हदसम्म बझ्ने अवसर पाए । मानिस यस्तो प्राणी हो जो अरुबाट धेरै कुरा सिकिरहेको हुन्छ । यस्तै सौभाग्य मैले पनि डाक्टरको संगतबाट धेरै सिक्न पाए । हाम्रो समाजमा विभिन्न पेशा व्यवसाय गर्ने या कुनै पनि कुरामा दक्ष हुने व्यक्तिलाई बोलचालको भाषामा डाक्टर भन्ने गरिन्छ । हामीले सबै पेशा, व्यवसाय र श्रम गर्ने मान्छेलाई सम्मान गर्नैपर्छ । किनकि हरक व्यक्ति आ–आफ्नो क्षेत्रमा अब्बल नै हुनुहुन्छ । जस्तै बसमा यात्रा गरिरहँदा ड्राइभर र खलासी नै ठूलो हो भने चलचित्र हेर्न जाँदा चलचित्र हलको गेट की नै ठूलो हो । त्यसैले पनि हरेका मान्छे आफ्नो क्षेत्रमा ठूलो र डाक्टर नै रहेको हुन्छ । त्यसैले पनि हरेक मान्छे ठूलो र सम्मानित हुन्छन् ।
विद्यार्थी नहुने हो भने शिक्षकको के महत्व ! जहाज नबन्ने हो भने पाइलटको के महत्व ! बस नहुने हो भने ड्राइभरको के महत्व ! विरामी नहुने हो भने डाक्टरको के महत्व ! यसरी हरेक क्षेत्रमा एकअर्काको परिपुरक भएर सबै जना रहेको हुन्छ । त्यसैले हामीले शिक्षक, डाक्टर, पाइलट, वकिल अन्य अन्य भनेर घमण्ड गर्नु भनेको हामी शिक्षित व्यक्तिमा नगनिनु हो । भनिन्छ, नमस्कार गर्नु भनेको नमस्कार पाउनु हो । नेपालमा केही समय पहिला एकजना विरामीले अस्पतालको बेडमा रहेर अन्तिम इच्छा स्वास्थ्यमन्त्री भेट्ने भनेर पत्र लेख्नुभएको थियो । पत्रपश्चात मन्त्री विरामी भेट्न अस्पताल जानुभयो भेटपश्चात स्वास्थ्य क्षेत्रमा भएका नराम्रा कुराहरु र चिकित्सकहरुले बिरामीहरुलाई गर्ने व्यवहार आफ्नो अन्तिम बेलामा बेलीविस्तार सुनाउनु कहाँसम्मको विडम्वना हो यो देशको । डाक्टर भइँरहँदा के उसले जीवनका सम्पूर्ण ज्ञान हासिल गरिसकेको हुन्छ र ? डाक्टरले विरामी नपाउँदा ऊ डाक्टर भएको अर्थ रहन्छ र ? विरामी भएर डाक्टरलाई भेट्न आउनु विरामीको कुनै दोष हो र ? विरामीसँग डाक्टरले राम्रो व्यवहार गर्न नहुने हो र ? डाक्टरभन्दा सचेत विरामी र विरामीका कुरुवा हँुदैनन् र ? यो नेपालका केही डाक्टरले बुझ्न जरुरी छ ।
विरामी र डाक्टरको सम्बन्ध भनेको पुस्तक र विद्यार्थीको जस्तो हुनु पर्दछ । विरामीलाई डाक्टरले पढ्ने हो जसरी किताबलाई माया गरेर सुरक्षित तवरले पढिन्छ, त्यसरी नै विरामीलाई पनि डाक्टरले माया, सम्मान र इज्जत दिएर रोगको बारेमा जानकारी लिए डाक्टरको सही मर्म र कोही विरामीले अन्तिम इच्छा स्वस्थ्यमन्त्रीलाई पत्र लेख्ने बाध्यता नहुन सक्छ । विरामीसँग जति डाक्टरले समन्वय ग¥यो त्यति नै सफलता हात लाग्न सक्छ । किनकि रोगमा नै डाक्टरमा पढ्ने हो । रोग लगाएर लाग्न नसक्छ न रोगी नै बनाउन सकिन्छ । त्यसैले पनि रोगी भेट्दा डाक्टरले सम्मान र इज्जत दिनु पर्छ ।
नेपालको विडम्वना मन्त्री कहिले शौचालय निरीक्षण गर्न जानुपर्ने, कहिले कर्मचारीको छड्के चेक गर्नुपर्ने । मानिसको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने डाक्टर भएको हँुदा कुनै पनि विरामीसँग डाक्टरले खेलवाड गर्नुहुँदैन । विरामीलाई रोगमुक्त गराउनु डाक्टरको कर्तव्य भएको हुँदा कर्तव्यबाट विचलित नभइकन कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्दछ । जसरी एउटा सैनिक देशको सुरक्षाको लागि आफ्नो ज्यानको प्रवाह नगरी लडिरहन्छ, त्यसरी नै डाक्टरले पनि रोग मुक्त गर्नका लागि कर्तव्यनिष्ट भएको खण्डमा स्वस्थ्य र रोगीमुक्त देशको निर्माण गर्न सकिन्छ ।
एकजना थाइ एनआरएन जो क्यान्सरको विरामी हुनुहुन्थ्यो दिल्ली राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराई रहदा मेरो भेट भयो । छोरी पनि क्यान्सरको कारणले बित्नु भएको रहेछ । लामो समयदेखि थाइल्याण्डमा बसोबास गर्दै आउनुभएको उहाँलाई छोरीको उपचार गर्न नेपाल राम्रो थलो हो र सस्तो मूल्यमा नेपालमा उपचार हुन्छ भनेर उहाँको आफन्त, साथीभाईले नेपाल बोलाएर आए काठमाडौंको उत्कृष्ट अस्पतालमा मेरो छोरीको उपचार हुन थाल्यो । तर, दुर्भाग्य मेरो छोरीलाई इक्सपेरीयमेन्ट गर्दागदै छोरीको मृत्यु भयो ।
नेपालमा मलाई उपचार गर्ने विश्वास नै लागेन र आज छोरीको सयदिनको पुण्य तिथीमा मेरो पनि दुबै स्तनको क्यान्सरको अपरेसरन हुँदैछ भनेर मलाई भनि रहँदा दुःख लाग्यो । श्रीमान् र छोरीका साथमा अस्पतालमा बसेर उपचार गराइरहनु भएको उहाँ धेरै विरामीहरुको लागि उत्प्रेरणाको स्रोत हुनुहुन्थ्यो÷हौसला हुनुहुन्थ्यो । अरु रोगीहरुलाई सम्झाउनु हुन्थ्यो । अरु रोगीभन्दा शारीरिक रुपमा कमजोर भएता पनि मानसिक रुपमा उहाँ तगडा हुनुहुन्थ्यो रोगसँग लड्न सक्ने क्षमता उहाँमा थियो । आज उहाँलाई हेर्दा लाग्छ रोग लाग्नु स्वभाविक हो । तर, रोगलाई जित्नु आफ्नो मेहनत, परिवारको साथ, डाक्टरको सल्लाह सुझाव र सहयोग नै हो । आज हरेक मान्छे रोगी छ कोही मानसिक, शारीरिक, अन्य कुनै न कुनै तवरले विरामी भएकै छन् । तथापि डाक्टरको सही सल्लाह र सुझावले रोगी आदि निको हुन्छन् ।

























