साहित्य र पत्रकारिता दुबै दलगत पिंजरामा थुनिइँदैछन् !

0
708

नकुल काजी,

बल्ल मात्र आधुनिक नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व काइँला दाइ अर्थात् तिलविक्रम नेम्वाङ उर्फ वैरागी काइँलाले कहिलेदेखि देखेर–बुझेर लुकाइराख्नु भएको ‘नेपाली साहित्यमा दलगत चेत हावी’ भइराखेको कुरा काला अक्षरमा भन्नु भयो, भर्खर मात्र । यो कतै उहाँकै ‘मातेको मान्छेको भाषण…’ कै विद्रोहको आवत्र्तन भइदिए कति राम्रो हुन्थ्यो । तर, यति नै पनि स्तुत्य अगुवाइ मान्नु पर्दछ ।

गत शनिबार (२८ मङसिर)–को ‘नयाँ पत्रिका’–भित्र ‘झन् नयाँ’ परिशिष्टाङ्कमा प्रकाशित वैरागी काइँलाका यथार्थपरक, समयसापेक्ष एवम् अत्यन्त समयोपयोगी अभिव्यक्तिबाट को कसरी आप्तावित भयो कुन्नि— मलाई चाहिँ सानो छँदा ताप्लेजुङ–खृबाङको बेंसी–काबेली किनारमा पुसको कलिलो घाम ताप्तै ऊखुका गुलिया लाँक्रा लुछ्ताको आनन्द अनुभूत भयो । त्यो बेलाको त्यो अक्षोभ्य आनन्द जस्तै !

राजनीतिक हस्तक्षेप वा राजनीतिका पुरोहितले राजनीति र जनताका माझ बिचौलिया गरिरहँदा प्रक्षेपण गर्ने प्रलोभन वा सम्मोहनका कारण साहित्य जस्तै र अझ साहित्यभन्दा बढी सूचना सेवा (पत्रकारिता)–ले राजनीतकिो कुत्या–कमैया नभई न्यानिक मूल्यांकन नहुने स्थिति अहिलेबहाल छ । राज्यशक्तिमा राजनीतिको हालीमुहालीलाई स्वभाविक राज्य–सञ्चालनको बिधि मान्नै पर्दछ । तर, सहजरुपमा परिभाषित हुन नसक्ने मात्र होइन साहित्य र पत्रकारिता जस्ता परिभाषामा संकुच्याउन नहुने विषयलाई पनि राजनीतिक बिचौलियाहरुले उनका अधीनमा लगी प्रदूषित तुल्याइरहेका दुश्यहरु भने हदैका दुःखद् छन् । साहित्य र पत्रकारिताको सहोदर निकटता स्वीकारेर राजनीतिले तिनमाथि उसको फाइदा निम्ति जिमिन्दारी दलन फर्माइरहेको हेर्दा वैरागी काइँला जस्ता नेपाली बौद्धिक तप्काका शिखरहरु नेतृत्वमा अवतरित हउन् भन्ने सोच राख्ने हुल बढ्दै गएको थियो— बिसाउनु भएन भने बैरागी काइँलाको यो अवतरण सर्वथा स्तुत्य छ ।

देशमा भ्रष्टाचार, घुसखोरी, कमिशनखोरी, घोटाला–धाँधली, सेण्डिकेट–सेटिङबाजी मात्र होइन बलात्कार, हत्या, लुट, छल इत्यादि बेथिति राजनीतिका पुरोहितहरुको पुरोहित्याइँकै प्रतारणामा लुकेर फैलिँदै गएका छन् । त्यो आवांछनीय आकर्षण प्राज्ञिक पद तथा विभिन्न किसिमका राज्य–प्रायोजित पुरस्कारहरुका रुपमा बढाइँदै लगिएको छ । साहित्य र पत्रकारिता जस्ता बौद्धिक कित्तालाई पनि आफ्ना सारभूत सिद्धान्तबाट बिचलित गराइ राजनीतिले आफ्नो पछ्यौरा समाएर हिँड्ने कुलतमा लगाइरहेको अवस्था छ । संविधान प्रदत्त जनताको सुसूचित हुने अधिकार निष्प्रभावी बनाउँदै लैजाने क्रममा सूचना सेवालाई आफ्नो समर्थनमा हनुमान चालीसे बनाउनेहरुले निकै सफलता पाइसकेका छन् ।

साहित्य र पत्रकारिता जस्ता समाज रुपान्तरण र सामाजिक हैसियत सुदृढीकरणका अत्यन्त सशक्त र प्रभावी मानिने विधा गैर सैद्धान्तिक क्षेत्रको प्रभावमा पर्दै गएपछि तिनका नैसर्गिक जिम्मेवारीको फाँट, मौलिक भविताका हकमा, रुखिँदै जानुको कुनै उपचार छैन । उपचार भनेको आफ्नो स्थापित सैद्धान्तिक मूल्य–मान्यताको मौलिकताकाप्रति आत्मनिवेदित अडान हो । त्यो अडानमा यी दुई बौद्धिक विधाका कर्मीहरु कति प्रतिशत छन् त ? मैले नेपाली पत्रकारिता शासक र तिनका भारदारका गुट–गिरोहबाट अलग निरपेक्ष हुनपर्ने आवश्यकताको वकालत गरिरहँदा मेरा वरिपरि झुम्मिँदै आएका संकटको छायाँका कथा निकै लामा छन् ।

‘निरपेक्ष’ शब्दको अर्थ ‘पार्टी मन नपराउने’ भन्ने लगाइएका सिकसिको लाग्ने अनुभव पनि मसित छन् । विगत लगभग ३९ वर्षदेखिम समाजका चलखेल–गतिविधिको तटस्थ, निष्पक्ष किंवा वैचारिक असंलग्न निरुपकको भूमिकामा टिकेर उभिएको छु । अहिलेको कवि वैरागी काइँलाका अभिव्यक्ति म र म जस्तो दृष्टिकोण बाहकका लागि भावी दिनमा पृष्ठशक्ति बन्छन् । त्यसकारण यस्ता अभिव्यक्ति महत्वका साथ पढिनु पर्दछ भन्ने अभिप्राय राखेर यसपटक यो विषय समाएको हूँ । यद्यपि, निरपेक्ष दृष्टिकोणमा उभिएर सिद्धान्ततः स्थिर अडान राख्ने कलमकर्मीहरुलाई राजनीतिको भाप, ताप र रापले सिध्याउँदै लगेर बाँकी संख्या अति नै अल्पसंख्यक (mष्अचयकअयउष्अ mष्लयचष्तथ) होला भन्ने मेरो अनुमान छ ।

राजनीतिको काखमा राजनीतिक लोरी सुन्न आनन्द मान्ने किंवा राजनीतिक पार्टीको पृष्ठशक्ति बिना उमिन नसक्नेहरु नै ‘छुनै नसकिने’ स्तरमा उकासिएर लोभलाग्दो जीवन भोग्न समर्थ भइरहेका छन् । तिनको जीवन ‘कुहेको माछा झैं चम्किलो’ पनि जो देखिँदो छ । स्थानीयस्तरमा पनि सञ्चार समाजभित्र मेरो अनुभव सबै त कहाँ सुखद् छन् र ! काइँला दाइको आयामेली अभिव्यक्ति (किनभने, उहाँको अभिव्यक्ति–शैली सतहमा, विस्तीर्णता र गहिराइ तीनै वटामा जसरी बुझे हुने हुन्छन्)–को समग्रताले भने जस्तै अर्काको प्रतिभाको मलमा आफ्नौ वैभवी फसल सपार्ने व्यावसायिक आचार–सिद्धान्तमा मट्ठु लुब्धाहरुको बाहुल्य छ साहित्य र सञ्चार समाजको ताजा विकासमा । अर्काको प्रतिभा संयोजन गरी नाङ्ले पसलमा बेचिहिँडेर आर्जित सम्बलले पोटाएकाहरुको साँढेगिरी अन्ततः राज्यसंपोषित बिचौलियाहरुको संरक्षणमा मगनमस्त उफ्रीपाफ्रीको रंगोलीमा छन्, जहाँ यथार्थ रोएको सामाजिक कानले सुन्दैन !

राजनीतिक समाजमा विभिन्न पदको हैसियत राख्नेहरुको विचौलियागिरीमै आजको नेपाली समयले सम्झौता गरेको छ । त्यो सम्झौताको आधारभूमिमा नैतिक मूल्य–मान्यता, वस्तुस्थितिका प्रति इमान्दारी, सत्यको शाश्वत सत्ताका प्रतिको सम्मान, आदर्शका प्रति वफादारी हुँदैन । स्वार्थको विनिमयमा मात्र लक्षित यस्ता सम्झौताको भावभूमिमाथि लेखिने साहित्य र सत्यको पक्षभेदन गरी सम्प्रेषित सूचना त केवल धन्धा मात्र ठहर्छ— जस्तो राजनीति पनि गैसस अगैसस (ल्न्इ–क्ष्ल्न्इ) जस्तै व्यावसायिकतातिर उनमुख भई फड्को मार्दैछ ! भाषा, जातीय मौलिकताको गौरव, सांस्कृतिक निधिहरुद्वारा स्थापित सहोदर पहिचानको वैभवरुपी सम्पत्ति आदि–इत्यादि सबै नै राजनीतिक अतिक्रमणमा परेर घाइते हुँदै गएका छन् । अतिक्रमणलाई नूर खसाएर स्वीकार्नेहरु राजनीतिको हदकै दोषी हुन् भन्ने बैरागी काइँलाको शालीन उद्भोष मेरा आँखा, कान र मस्तिष्कको बुझाइ हो र त्यो उद्घोषलाई मेरो सहर्ष समर्थन ।

तेह्रौं शताब्दीको पूर्वाद्र्ध (सन् १३३९) मा चौसरलाई एम. ए. को डिग्री दिने यूरोप र त्यसका प्रभावमा रहेका पश्चिमा देशहरुको सिको गर्नु नै ‘आधुनिक’ बन्नु हो भन्ठान्ने लिँडे विचार एकातिर यो बीसौं शताब्दीको उत्तराद्र्ध (सन् १९५९)–मा बल्ल एउटा विश्वविद्यालय (त्रिविवि) स्थापित हुन सकेको देशमा कति पाच्य, ग्राहय र उपयोगयोग्य हुन्छ होला ? वस्तुतः हाम्रो जस्तो निरक्षक र अशिक्षित रैथाने जाति–बाहुल्य मुलुकको साहित्य–कला र सूचना सेवामा सामाजिक परिवशेको यथार्थ बिम्बित हुन सकेन भने ती तिनका उपस्थितिमा नै अर्थविलोम रहनेछन् र राजनीतिक सम्प्रदायहरुका निम्ति त निजी एजेन्सीरुपी खेलौना नै बन्नेछन् । अहिले भइरहेको त्यही त हो ।

आज देशले संघीय प्रणालीको लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ भनिरहे पनि त्यो स्थलगत यथार्थमा अर्लिएको छैन । संघीय कित्तामा देश विभक्त भए पनि र विभक्त निकायहरु शासकीय अभ्यासमा लागिसकेका भए पनि पुरानो केन्द्रीकृत शासकीय व्यहोरा अनुशरण गर्न नछाडिएको हुँदा परिवर्तनको अनुभूति छायाँस्वरुप मै सीमित छ । अझ साहित्य र पत्रकारिता त झन राजधानी र अझ सिंहदरवार–बालुवाटार दरवार, बद्नाम ठेकेदार शारदा प्रसाद अधिकारीको घर–करेंसाबारी हुँदीमा मौलाइरहेको छ । मौलाइरहेको छ माने त्यहाँ–त्यहाँ चिनिएका–चिनाइएकाहरुकै वरिपरि घुमे पुग्ने हुन पुगेको हुँदो हो । झापामा बसेर कल्पना गर्दा शायद साहित्य र पत्रकारिता विकासका लागि र तिनमा नारिएका कर्मीहरुका प्रोत्साहनका लागि राज्यनिसृत ठूलो धनराशी पूर्वतिर आउनबाट थानकोटतिरका डाँडाहरुले छेलिराखेका होलान् भन्ने लाग्दछ ।

अन्य दिशामा पनि डाँडा छन् र उपत्यकामा छ काठमाडौं । र, अन्यत्र पनि डाँडा व्यवधान बनेकै त होलान् नि । राजधानी महानगरीको सुरम्य कमलादीमा पशुपतिको निर्जीव साँढे झैं गजधम्म, ‘देशका हाकिम साहित्यकार साहब’– हरु खर्किने, प्रज्ञा प्रतिष्ठान तथा त्यही राजधानी काठमाडौं कै पोडे टोलस्थित नेपाल पत्रकार महासंघ नामक संस्थाको अत्याधुनिक संभ्रान्त महलमा विराजमान महाशयहरुलाई आजको नेपाल नरभूपाल बाहकालीन नेपाल होइन— आजको नेपाल मेचीको बगरदेखि महाकालीसम्म फैलिएको छ र काठमाडौं खाल्डोको पुरानो नेपाल बाहिर विस्तीर्ण देशमा लाखौं साहित्यकार, पत्रकार, कलाकार इत्यादि अनेक त्यागी–तपस्वी प्रतिभाहरु साधन–सुविधा र मूल्याकंनरुपी प्रेरणाबाट बञ्चित भई मुर्झाउन विवश छन् भन्ने थाहा छ भन्ने प्रतीत हुँदै छैन् । त्यसो भए साहित्य र पत्रकारितालाई राजनीति–निर्देशित गराउने सेण्डिकेट सेटिङ भित्रभित्रै मिलिरहेको पो छ कि ! र, आजलाई बस् यत्ति नै । शेष फेरि—

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here