अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा शनिबारदेखि त्रिदेशीय अन्तराष्ट्रिय पुरुष तथा महिला कराते प्रतियोगिता सुरु भएको छ ।
बाह्रघरेस्थित नवनिर्मित पानी ट्याङकी परिसरमा प्रतियोगिता आयोजक समितिका संयोजक नारदमणी नेपालको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि प्रदेश नं.१का सदस्य वृख प्रधानले उद्घाटन गरेका थिए ।
नेपालसहित भारत र भूटानका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ ४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी., ६० के.जी. र ६७ के.जी. र महिलातर्फ ४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी., ६१ के.जी. र ६८ के.जी. तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका रेफ्री संयोजक एवम् एकेएफ रेफ्री कुमार उप्रेतीले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट पुरुष फाइटर र महिला फाइटरसँगै एक जना पुरुष कोच र महिला कोचलाई पनि पुरस्कृत गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारले बताए । सोही प्रतियोगिता उद्घाटनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा नेपाल कराते महासंघका नवनियुक्त प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, हालै सम्पन्न १३औं सागमा करोतका रेफ्री संयोजक वीसन मोते, १३औं सागका कास्य पदकधारी खेलाडी एस्तर राई र शारीरीक सुगठनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका पदकधारी खेलाडी तूलबहादुर श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टीकाप्रसाद सँग्रौला, अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य रमेश समदर्शी, नगर सभा सदस्य मनोज तामाङ, झापा जिल्ला टेक्निकल कराते समितिका अध्यक्ष कृष्ण बस्नेत, इलाम कराते संघका अध्यक्ष योगेश चाम्लिङ, पाँचथर कराते संघकी अध्यक्ष बाबा मेन्याङबो, झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख होमप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
प्रदेश नंं.१ सिङ्गगिङ्ग आइडियल बुद्धशान्ति निवासी जस्मिन बरालले गीत तथा स्थानीय सृजना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन कराते प्रशिक्षक एवम् बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले गरेका थिए ।


























