भ्रमण वर्ष २०२० : चुनौति र अवसर

0
1586

सम्पादकीय

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सातापछि नै यो अभियानको उद्घाटन हुँदैछ । महत्वकांक्षी योजना भनेर कतिपयले विष्लेषण गरिरहेका बेला योजना सफल बनाउन चुनौति पनि उत्तिकै छन् । हाल स्थल र हवाइ मार्ग गरी वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन् । यसमा थप आठ लाख पर्यटक बढाउनु चानचुने काम होइन । कार्यक्रम शुरु हुन धेरै समय नरहेको अवस्थामा पर्याप्त पूर्वाधार विकास र प्रचार प्रसारमा अपेक्षित ढङ्गबाट काम हुन नसकेको बताइन्छ । पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाका रूपमा अथ्र्याइएको भए पनि आवश्यकता अनुसार लगानी र नीतिगत व्यवस्था पारित गर्न समय लगाइएकाले भ्रमण वर्ष सफल हुने वा नहुने विषय पेचिलो बन्दै गएको छ ।

पर्याप्त पूर्वाधार विकास र प्रचारसंगै सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज ल्याउन जरुरी छ । कम्तीमा २०२० मा नेपाल आउने पर्यटकलाई भिषा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधा सेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायतका सहुलियत दिन सकियो भने भ्रमण वर्षलाई सफल बनाउन सकिन्छ । नेपाल विश्वमै प्राकृतिक दृष्टिले सुन्दर मुलुक हो । निर्वाचन पछिको स्थायी सरकार, केही मात्रामा भए पनि यहाँ विकसित पर्यटकीय पूर्वाधार, शान्ति सुरक्षा, पर्यटकप्रति हामीले गर्ने सद्भाव पनि त्यत्तिकै महत्वपूर्ण छ । पर्यटकलाई सुरक्षा, सौन्दर्य र सद्भावले प्रभाव पार्न सक्नु पर्छ । नेपालको आर्थिक वृद्धिमा पछिल्ला वर्ष पर्यटन क्षेत्रको योगदान बढ्दै गएकाले यसलाई अर्थतन्त्रको एक खम्बाका रूपमा अगाडि बढाउनु आवश्यक देखिन्छ, जसरी विश्वका धेरै मुलुकको मुख्य आयस्रोत पर्यटन बनेको छ । चुनौति र संभावनालाई अवसरमा बदल्न सक्नु अहिलेको प्रमुख जिम्मेवारी हो ।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुनै लाग्दा त्यसलाई टेवा पुग्ने खुशीको समाचार पनि आएको छ । फोब्र्स इन्कर्पोरेसनद्वारा प्रकाशित फोब्र्स पाक्षिक पत्रिकाले नेपाललाई विश्वकै उत्कृष्ट भ्रमणयोग्य पहिलो देशका रूपमा सूचीकृत गरेको छ। नेपाल र नेपालीका लागि यस्तो समाचार निकै सुखद् बनेको छ। यस्तो सूचीकरणलाई यसकारण महत्व दिइन्छ कि यसले जारी गर्ने विश्वका धनी व्यक्तिको सूचीले विश्वभर नै चर्चा बनाउँछ । नेपालको जस्तो विविधता र मनोरञ्जनका अवसर अन्य मुलुकमा पनि पाउन सकिएला । तर, मूल्याङ्कनकर्तालाई प्रभावित गर्दै भ्रमणयोग्य मुलुकको पहिलो स्थानमा नेपाल पर्नुले अभियानको सफलतामा टेवा पुग्ने निश्चित छ ।

पत्रिकाले नेपालमा उपलब्ध पर्यटकीय स्वादलाई आफ्नै शब्द र शैलीमा व्याख्या गरेको छ। सगरमाथा, जनावर, प्राकृतिक विविधता, सुन्दर मौसम, आतिथ्य प्रदान गर्ने विशिष्ट नेपाली शैली तथा साहसिक यात्राका उपयुक्त स्थलबारे पत्रिकाले गरेको वर्णनले नेपाल आउन चाहने पर्यटकका लागि थप आकर्षित गर्नेछ। फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने दश देशका सूचीमा नेपाललाई प्रस्तुत गरेकाले आगामी वर्षहरूका लागि पनि यस्तो घोषणा र सूची महत्वपूर्ण हुने देखिन्छ। फोब्र्सले विश्वका छ महादेशका दश देशको सूचीमा नेपाल परेकाले यहाँको पर्यटनमा थप सम्भावना बढाएको छ। नेपालमा पाइलैपिच्छे अनुभव गर्न सकिने भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई पर्यटनका निर्णायक सम्भावनामा राखिएको छ।

अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको यस कम्पनीद्वारा प्रकाशित अर्को प्रकाशन फोब्र्स युमन पत्रिका लगायत प्रविधि, सञ्चार, विश्व अर्थतन्त्र, व्यवसाय र पुँजीवादका विविध पक्षमा यसले गर्ने वकालतले विश्व सञ्चारलाई प्रभाव पार्ने गरेको छ। यसरी हेर्दा विश्वकै उत्कृष्ट भ्रमणयोग्य पहिलो देशको सूचिमा नेपाल पर्नुले पनि विश्वमै चर्चा बटुल्ने र नेपालमा उल्लेख्य मात्रामा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here