वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल च्याम्पियन

0
949

भद्रपुर ।

भद्रपुर वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा सम्पन्न तीन दिवसीय ‘बिच’ भलिबल प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा वडा नम्बर ४ लाई पराजित गर्दै वडा नम्बर ३ दोस्रो पटक च्याम्पियन बनेको हो ।

प्रतियोगिताको च्याम्पियन बनेसँगै वडा नम्बर ३ ले नगद ३० हजारसहित ट्रफि उचालेको छ । उपविजेतामा चित्त बुझाएका वडा नम्बर ४ ले नगद २० हजारसहित ट्रफि पाएको छ । वेस्ट अफ फाइभको फाइनल खेलमा ३ नम्बरले तीन सेट जितेका थिए, भने ४ नम्बर एक सेट मात्र जित्न सफल भए । ३ नम्बरले पहिलो र दोस्रो सेटमा २१–१३, २१–१३ अङ्क ल्याए । तेस्रो सेटमा ४ नम्बरले २१–१८ अङ्क ल्याए । चौथो सेटमा ३ नम्बरले २१–१६ अङ्क ल्याउँदै विजयी भए ।

यता वडा नम्बर ६ तेस्रो भएको छ । तेस्रो स्थान जितेका ६ नम्बरले नगद १० हजारसहित ट्रफि पाएका छन् । तेस्रो स्थानको लागि भएको वेस्ट अफ थ्री खेलमा वडा नम्बर ५ माथि दुई सेटमा जित्न निकाल्दै ६ नम्बर तेस्रो भएको थियो । पहिलो सेटमा २१–१८ अङ्क ल्याई ५ नम्बरले जिते । दोस्रो र तेस्रो सेटमा २१–१८, २२–२० अङ्क ६ नम्बरले ल्याउँदै तेस्रो स्थान हासिल गरे ।

त्यसैगरि विद्यालय स्तरीय छात्रातर्फको फाइनल खेलमा सेन्ट कुजुर इङ्लिस स्कुलले उपाधि उचालेको छ । मोडर्न इङ्लिस स्कुललाई सोजो सेटमा पराजित गर्दै सेन्ट कुजुरले उपाधि उचालेको हो ।

उपाधि उचालेको सेन्ट कुजुरले नगद ५ हजारसहित ट्रफि पाएका छन्, भने उपविजेता मोर्डनले नगद ३ हजारसहित ट्रफि पाएका छन् । मोडर्नलाई सेन्ट कुजुरले २१–१४, २१–१८ को सोजो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज वडा नम्बर ३ का धिरज गुरुङ घोषित भए । उनलाई नगदसहित ट्रफि प्रदान गरिएको थियो भने, खेलका प्रत्येक खेलाडीलाई समेत म्यान द म्यान बापत नगदसहित पुरस्कृत गरिएको थियो ।

५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षता तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव हिरण्य न्यौपानेले गरेका थिए । त्यस्तै आयोजक ५ र ४ का जनप्रतिनिधि बीच मैत्रीपूर्ण भलिबल भएको थियो । मैत्रीपूर्ण खेलमा आयोजक ५ विजयी भएको थियो ।

त्यसैगरि सोही कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा भद्रपुरले घरेलु स्वास्थ्य उपचार सम्बन्धित जनचेतना मूलक जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here