बाँके,
सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन् ।
कुनै पनि सङ्केतबिना नै ठूलो क्षति गराइसक्ने मिर्गाैला रोगको चङ्गुलमा पर्नेहरूको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । झण्डै ९० प्रतिशतसम्म मिर्गाैलाको नोक्सानी हुँदासम्म पनि केही सङ्केत देख्न नसकिने भएकाले यसलाई ‘साइलेन्ट किलर’ भनिन्छ । मिर्गाैला रोगीको उपचारका लागि मात्रै सरकारले हरेक वर्ष करोडौँ रूपैयाँ खर्च गर्ने गरेको छ । मिर्गौला रोगबाट ग्रसित व्यक्तिका लागि नेपालगञ्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा पहिलोपटक विसं २०७४ पुस १२ गतेदेखि निःशुल्क डायलासिस सेवाको थालनी भएको थियो ।
यसअघि करीब एक दशक पहिला ल्याइएका मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौँ फिर्ता पठाइएको थियो । दुई वर्षअघि नयाँ मेसिन र तालीमप्राप्त भएपछि भेरीले उक्त सेवा थालनी गरेको हो । अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर चन्दको सक्रियता र प्रयासले उक्त सेवाको थालनी भएको थियो । सेवा थालनीसँगै भेरीमा पहिलोपटक शुभम गुप्ताको डायलासिस भएको अस्पतालको रेकर्डमा उल्लेख छ ।
तत्कालीन अवस्थामा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा पारस श्रेष्ठले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालीम लिएर आउनुभएको थियो । उहाँसहित अस्पतालमा कार्यरत तीन नर्सहरूलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालीम दिइएको थियो । अस्पतालका अनुसार त्यतिबेला चार मेसिनमध्ये तीन चालू अवस्थामा राखिका थिए ।
एउटा मेसिन आपत्कालीन अवस्थामा प्रयोग गरिने भनिएको थियो । मेसु चन्दको पहलमा शुरु भएको उक्त सेवा त्यतिबेला बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको डायलासिस युनिटमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । मिर्गौलाका बिरामीलाई सातामा दुईदेखि तीन पटकसम्म डायलासिस सेवा दिनुपर्ने हुन्छ । निःशुल्क नहुँदा बिरामी लामो समयदेखि मर्कामा पर्दै आएका थिए । तर, भेरीमा उक्त सेवा शुरू भएपछि अहिले पनि विपन्न र दुर्गम क्षेत्रका बिरामीले लाभ पाइरहेका छन् ।
अस्पतालको सम्पर्कमा आएका मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरी पालो तोकेर उपचारको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । त्यसो त भेरी अस्पतालमा रहेको हेमोडायलासिस युनिटमा चिकित्सकहरूको दर्शन पाउनै मुस्किल हुने गरेको छ । अस्पतालले मिर्गौलाका बिरामीको अवस्था बुझ्न केही चिकित्सकलाई ‘राउण्ड’मा पठाउने व्यवस्था गरेको छ । तर, उक्त युनिटमा राउण्ड जाँचका लागि आउने चिकित्सकहरूले ढोकाबाटै राउण्ड जाँच गर्ने र फर्किने गरेका छन् ।
बिरामी उपचारकक्षमा पीडादायी अवस्थामा छट्पटाइरहेका हुन्छन्, राउण्डमा आउने चिकित्सक ढोकामै उभिएर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सबै ठिक छ नि भन्दै त्यहीँबाट बाहिरिन्छन्”, एक बिरामीले भने, “राउण्डमा आउने चिकित्सकले बिरामीको अवस्था बिरामीसँग पो सोध्ने होला त ?” जानकारहरुका अनुसार राउण्ड जाँच भनेको चिकित्सक बिरामीकै छेउमै पुगेर उसको अवस्थाबारे बुझ्नु र सल्लाह–सुझाव दिनु र आवश्यक परे आकस्मिक सघन उपचार गर्नु हो । तर, भेरीको डायलासिस युनिटमा चिकित्सक बिरामीको छेउमा जानु त परै जाओस् ढोकाबाटै भित्र नपस्ने गरेको बिरामी बताउँछन् । अहिले उक्त युनिट मेडिकल विभागमा राखिएपछि डा राजन पाण्डे, रजनी केसीलगायतले ढोकाबाटै राउण्ड जाँच गर्दै आएको बिरामी बताउँछन् ।
यद्यपि यसअघि डा पारस श्रेष्ठ कहिलेकाहीँ आए पनि बिरामीकै छेउमा पुगेर अवस्था बुझ्ने र उपचार गर्ने गर्दै आउनुभएको थियो । उहाँ हाल देश बाहिर हुनुहुन्छ । यसले मिर्गौला बिरामीले चिकित्सकबाट राउण्डको समयमा पाउनुपर्ने सल्लाह–सुझाव, उपचार र परामर्श पाउन सकेका छैनन् । दैनिक नयाँ बिरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन् ।
बिग्रेका मेसिन मर्मत गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । तर, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूपानन्द अधिकारी आफ्नो जिम्मेवारीबाट पन्छिन थालेको झण्डै सात महिना बितिसकेको अस्पतालका कर्मचारीको गुनासो छ । स्वास्थ्य मन्त्रालयले नयाँ चार मेसिन र चिकित्सकका लागि तालीमको व्यवस्था गरेपछि भेरीमा उक्त सेवा विस्तार गरिएको हो ।
अस्पतालले होमोडायलासिस सेवा थालनी गरेको शनिबार दुई वर्ष पुगेको छ । तत्कालीन मेसु चन्दको पहलमा यहाँ होमोडायलासिस सेवा शुरू भएदेखि हालसम्म एक हजार ६५५ जनाले सेवा लिएका छन् । आकस्मिक सेवाअन्तर्गत ९४ ले सेवा लिएका छन् ।
अहिले पनि नियमितरूपमा हप्तामा १३ बिरामीले डायलासिस गरिरहेका छन् । पाँच जनाले डायलासिसको पालो पर्खिरहेका छन् । यसले पनि यहाँ उपचारका लागि आउने बिरामी र उनका आफन्तले तत्कालीन मेसु चन्दलाई भगवान् मान्दै आएका छन् ।